कर्णालीमा बढ्दो आत्महत्या : ७ महिनामा १४५ ले ज्यान गुमाए
गत मंसीर ८ गते बिहान ७ बजेतिर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ की १४ बर्षीया अस्मिता शाहीले आत्महत्या गरिन् । उनले डोल्पाकै मुड्केचुला गाउँपालिका–४ स्थित आफ्नै मामा केशव रोकायाको घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । अस्मिताले आत्महत्या गरेकै साँझ सुर्खेतकी १९ वर्षीय सरस्वती घर्ती मगरले पनि झुण्डिएर आत्महत्याको बाटो रोजिन् । उनी गुर्भाकोट नगरपालिका–१२ लाटीगैरास्थित आफ्नै घरको सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएकी थिइन् ।
त्यसको अर्को बिहान गुर्भाकोट नगरपालिका–७ को नाङ्गीका ६९ वर्षीय वृद्ध दिलबहादुर खत्रीले पनि झुण्डिएर आत्महत्या गरे । यी तीन घटना २५ घण्टाको अवधिभित्र भएका थिए ।मनोचिकित्सकहरुले आत्महत्याका घटनाहरुको मुख्य कारण मध्ये एक गरिबीलाई मानेका छन् । कर्णाली त्यसबाट अछुतो छैन । कर्णालीमा बर्सेनि सयौँ व्यक्तिले चरम गरिबी, घरेलु हिंसा र मानसिक समस्याका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् ।
यी हालैका केही प्रतिनिधि घटना मात्र हुन् । उल्लेखित छ वटा घटनामध्ये डोल्पाकी अस्मिता बाहेकका चार जना महिलाहरु विवाहित हुन् । घटनाको प्रकृति हेर्दा आत्महत्या देखिए पनि प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ । ‘ती सबै घटनामा सुसाईड नोट फेला परेन,’ कर्णाली प्रदेश प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई प्रेम शर्मा भन्छन्,‘स्थलगत मुचुल्का उठाउँदा गरिबी, घरेलुहिंसा लगायत सामाजिक कारणले घटना भएको देखिन्छ ।’
कर्णालीमा दैनिक सरदर २ दिनमा ३ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा चालु आर्थिक बर्ष (साउन महिनायता) को हालसम्मको अवधिसम्म आइपुग्दा १४५ जनाले आत्महत्याको बाटो रोजेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले रातोपाटीलाई उपलब्ध गराएको विवरण अनुसार आत्महत्याको बाटो रोज्नेहरुमध्ये सबैभन्दा धेरै झुण्डिएर ११४ जनाले आत्महत्या गरेका छन् । यस्तै विष खाएर २३, आगो लागेर १, पानीमा हाम फालेर (डुबेर) दुई जनाले आत्महत्याको बाटो रोजेका छन् । आत्महत्या गर्नेमा ७८ जना पुरुष, ४६ जना महिला, १६ जना बालबालिका रहेका छन् ।








