याक्चे र निगुराे बेचेर पढाइ खर्च जुटाउदै बालबालिका

जुम्ला : जुम्लाको पातारासी गाउँपालिका–३ तल्फी गाउँका बालबालिकाले याक्चे (चुकडाक्खा) र निगुराेकाे साग बेचेर पढाइ खर्च जुटाउने गरेका छन्। प्रशस्त मात्रामा पाइने याक्चे र निगुराे बिदाको दिन संकलन गरी बेचेर उनीहरूले शैक्षिक सामग्री जुटाउने गरेका हुन्।गाउँबाट करिब चार घण्टा टाढा रहेको वन क्षेत्रभित्र रहेका याक्चे टिपेर जुम्लाको सदरमुकाम खलंगामा बिक्री गर्दै आएका १२ वर्षीय रमित बोहराले आफूजस्तै धेरै साथीहरूले बेचेर घरखर्चसँगै पढाइ खर्चसमेत जुटाउने गरेको बताए। खलंगास्थित जिएमडी बोर्डिङमा कक्षा–४ मा अध्ययनरत बोहराले घरको आर्थिक अवस्था कमजोर भएका कारण बिदाको समय लेकमा याक्चे संकलन गरेर खर्च जुटाउने गरेको सुनाए।“अहिले याक्चेको सिजन भएकाले एक जनाले सिजनभरिमा पाँचदेखि सात हजार रुपैयाँसम्म कमाउन सक्छ,” उनले भने, “पाटनमा याक्चे र निगुरो प्रशस्त पाइन्छ। बोटबाट टिपेर बजारको सडकछेउमा बसेर बेच्ने गरेका छौँ। यसबाट राम्रै पैसा जम्मा भएको छ।”खलंगामै याक्चे र निगुरो बेच्न आउने १३ वर्षीया विमला बुढा पनि पढाइ खर्च आफैँ जुटाउन श्रम गरिरहेकी छन्।

सदरमुकामस्थित कनिकानिशा बोर्डिङमा कक्षा–४ मा अध्ययनरत विमलाले बजार ओहोरदोहोर गर्ने सवारीसाधन रोकेर याक्चे र निगुरो बिक्री गर्ने गरेको बताइन्।“बिदाको समय खेर फाल्नु भन्दा कापी,कलम खर्च आफैं जुटाउन खोजेका हौं,” उनले भनिन्, “बिदाको दिन सडकमा बस्छु, याक्चे र निगुरो बेचेर दिनमा आठ सय रुपैयाँसम्म कमाउँछु। कहिलेकाहीँ बिहान,साँझ दुवै समय आउँछौँ। साग र धनियाँको सिजनमा पनि बेचेर खर्च जुटाउने गर्छौँ।”उनका अनुसार बुबाआमाको कमाइ घरखर्चमै सकिने भएपछि आफूहरू निगुरो र याक्चे बेचेर व्यक्तिगत खर्चको जोहो गर्दै आएका छन्।खुला क्षेत्रमा आफैँ उत्पादन हुने निगुरो र याक्चे अहिले जुम्लाका विभिन्न स्थानमा पुग्ने गरेको होटल व्यवसायी नमराज श्रेष्ठ बताउँछन्।
आर्थिक अवस्था कमजोर भएका बालबालिकाका लागि यसले सहजता थपेको उनको भनाइ छ।अहिले निगुरो र याक्चे बेचेर बालबालिकाले दिनमा आठ सयदेखि एक हजार रुपैयाँसम्म कमाउने गरेका छन्,” श्रेष्ठले भने।यस्तै कनिकानिशा बोर्डिङकै कक्षा चार मा अध्ययनरत १२ वर्षीय चेतन बुढाले निगुरो र याक्चे बिक्रीबाट आएको आम्दानीले पढाइ खर्चसँगै घरमा समेत सहयोग पुगिरहेको बताए।

लगानी गर्नु पर्दैन, समय र मेहनत मात्र चाहिन्छ,” उनले भने, “निगुरो र याक्चे खोजेर टिप्छु, बिक्री गर्छु र त्यही आम्दानीबाट पढाइ खर्च चलाउँछु। घरमा पनि आर्थिक सहयोग पुगेको छ।”उनका अनुसार दैनिक दुई सयदेखि पाँच सय रुपैयाँसम्म आम्दानी हुने गरेको छ।

बालबालिकाहरूका अनुसार परिवारको आर्थिक भार कम गर्न र पढाइका लागि आवश्यक सामग्री खरिद गर्न याक्चे तथा निगुरो बिक्रीले महत्वपूर्ण सहयोग पुगेको छ। उनीहरूले याक्चे (चुक) प्रतिमुठा २० रुपैयाँ र निगुरो प्रतिमुठा ५० रुपैयाँमा बिक्री गर्दै आएका छन्।
त्यस्तै चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाका व्यवस्थापक ऋषिराम पाण्डेले आइतबार मात्रै बालबालिकाबाट चार सय २० रुपैयाँ बराबरको याक्चे खरिद गरेको बताए। उनका अनुसार बालबालिकाले श्रमप्रति सम्मान देखाउँदै बिदाको समयलाई उत्पादनमूलक काममा लगाउनु सकारात्मक सन्देश हो।उनले भने,जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ यी बालबालिकाले निगुरो र याक्चे बेचेर पढाइ खर्च जोहो गरिरहेका छन।सहरका धेरै बालबालिका प्रविधिमा रमाइरहेका बेला दुर्गम गाउँका यी बालबालिका भने लेकबाट निगुरो र याक्चे बोकेर बजारसम्म पुगिरहेका छन्। उनीहरूको पसिनाले कापी,कलम किन्ने रकम जुटाइरहेको छ भने श्रमको सम्मान गर्ने संस्कार पनि निर्माण गरिरहेको छ।

जिल्ला कृषि कार्यालय जुम्लाका अनुसार पौष्टिक गुणले भरिपूर्ण मानिने निगुरोको बजार राम्रो भएकाले बालबालिका निगुरो र याक्चे संकलनतर्फ उत्साहित भएका छन्।