हामीले अडान छोड्यौँ भने कांग्रेस सुध्रिँदैन, त्यसैले हामी झुक्दैनौँ, झुक्किँदैनौँ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रूपान्तरणका लागि आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले अडान राख्दै आएको बताएका छन्।
थापाले आफूहरूले अडान छोडे पार्टी कहिल्यै सुधारको बाटोमा नजाने भन्दै यसपटक नझुक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार भिडियो सन्देश जारी गर्दै थापाले पार्टी रुपान्तरणको काममा राखिरहेका अडानबाट पछाडि नफर्किने बताएका हुन् ।
‘विभिन्न तहमा बसेर काम गर्नुभएका साथीहरू एकछिन सोचौँ । हामीले अडान छोडे पार्टीमा केही सुधार हुँदैन । पार्टीलाई जस्ताको तस्तै राखेर चुनावमा गयौँ भने यही नीति, नेतृत्व लिएर तल भोट माग्न जान सकिन्छ ? कतिखेर कांग्रेस आउँछ भनेर कोही बसेको छैन,’ थापाले भनेका छन्, ‘अधिवेशन भनेको सभापति र नेता फेर्ने मात्र होइन । कतिपयले छिटो गर्दा हार्छौं भन्ने डर पाल्नुभएको छ । सत्यमा उभिने, कांग्रेसलाई ठीक ढंगले उभ्याउन खोजेका हौँ । निर्णय ढिलो होला गलत हुने छुट छैन । यो पटक हामी न झुक्छौँ, न झुक्किन्छौँ ।’
महिनौँदेखि पार्टीको बैठक बस्ने तर नटुंगिने शैलीले नागरिक तहसमेत वाक्कदिक्क भएको उनले बताए । ‘हामी असोज २८ गतेदेखि बैठक बसेका छौँ तर कहिले टुंगिने पनि निश्चित छैन । बैठक बस्छ सर्छ । यो कुरा हेर्दा तपाईंलाई कति वाक्कदिक्क लाग्छ ? पार्टीको औपचारिक संरचनाबाहिर रहनुभएको मतदाता, पार्टीसँग सम्बन्ध, अधिवेशन, चुनाव, विशेष प्राविधिक कुरा हो,’ थापाले भनेका छन्, ‘जे भइरहेको छ । दुई विचारको संघर्ष चलिरहेको छ । यतिखेर २३ र २४ गतेको घटना बिर्सौं, २०८४ को चुनावमा जाउँ जितिहालौँ भन्ने अवस्था मात्रै छैन ।’
पार्टी जसरी चलेको छ त्यो ठीक छैन भन्ने सन्देश जेन–जी आन्दोलनले दिएको उनको प्रस्टोक्ति छ । ‘महामन्त्री विश्वप्रकाश र मैले साथीहरूसँग टेलिफोनमा, म्यासेजमा कुराकानी गरिरहेका छौँ । यस क्रममा कांग्रेस जसरी चलेको छ ठीक छैन भन्ने छ । जसरी नेताले काम गरेका छौँ । हामी जसरी चलेका छौँ त्यो पनि ठीक छैन भन्ने छ । तिमीहहरूले बदलेनौँ भने राम्रो हुँदैन हाम्रो छनोटलाई बदल्छौँ भनेका छन्,’ थापाले अपिलमा भनेका छन्, ‘धेरै कुरामा बदलिनुपर्ने छ । थामिने, घोत्लिने गरौँ, नयाँ कुरा सोचौँ । खाली भोटभोट भनेर मात्रै नकुँदौँ । हाम्रो कोर भ्यालु स्थापित गरौँ । यो बेलामा नागरिक हामीसँग रिसाएको बेला हामीले सच्चाउने कुरा भनेको २३ र २४ गतेको आक्रोशप्रतिको सम्बोधन हो ।’
अधिवेशन अगाडि वा पछाडिको मात्रै विषय नभएको उनको भनाइ छ । ‘पार्टी सुधार कसरी हुन्छ भन्ने मुख्य कुरा हो । अधिवेशन अगाडि कि पछाडि भन्ने मात्रै कुरा होइन । पार्टी रिफर्मको कुरा हो । रिफर्मको एजेन्डा हो यी काम गरेका छन् भनेर बुझिदिनुस्’ थापाले भनेका छन् ।
समाजमा अन्तर्क्रिया गर्न र सद्भाव फैलाउने काममा लाग्न पनि उनले अपिल गरेका छन् । ‘पार्टी सुधारेपछि शक्तिबाट भोटको शक्ति आर्जन गरौँ । ठीक ठाउँमा उभिँदा हार्ने भए हारिन्छ । चुनावमा जाने हो । चुनावको अर्को विकल्प छैन,’ थापाले भनेका छन्, ‘पार्टीको काम समाजमा सद्भाव फैलाउने हो । पार्टी बाहिरका युवा नौजवानको कुरा सुन्न पार्टी पंक्तिमा काम गर्नुभएका साथीहरू लाग्नुस् ।’







