जुम्लामा यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धि जोखिम न्यूनीकरण गर्न सरोकारवाला बीच छलफल

जुम्ला । यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धि जोखिम न्यूनीकरण गर्न जुम्लामा सरोकारवाला बीच छलफल गरिएको छ । मंगलबार जुम्ला सदरमुकाम खलंगामा भएको छलफलमा यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धि जोखिम देखिएकोले सरोकारवाला निकायको सहयोग तथा समन्वयमा पहिलो चरणमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको सामाजिक विकास कार्यालय जुम्लाका कार्यलय प्रमुख टोपबहादुर बुढाले बताए ।

सामाजिक विकास कार्यालयको आयोजना तथा दिमा आमाघरको समन्वयमा भएको छलफलमा जिल्ला स्तरमा प्रजनन स्वास्थ्यसम्बन्धि रक्त परीक्षण क्याम्प सञ्चालन गर्ने गराउने र जिल्ला स्तरमा सामाजिक सुरक्षा जोखिम कोष खडा गरी जुम्ला जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख सहितको बैठक आयोजना गर्ने निर्णय भएको उनले बताए ।

छलफलमा जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य, सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक निलकमल आचार्य, नेपाल प्रहरीका प्रहरी उपरीक्षक रविनबाबु रेग्मी, राष्ट्रिय अनुसन्धानका प्रमुख लक्ष्मण चौधरी, दिमाआमाघरका अध्यक्ष दिलमाया शाही, जनस्वास्थ्य अधिकृत क्षेत्रबहादुर महतसहित पत्रकार, मानवअधिकारसहित सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

दिमाआमाघरले स्थापना भएको ७ महिनाको अवधिमा घरेलु हिंसाअन्तर्गत १० जना, जवरजस्तीकरणी ३, मानव बेचविखन तथा ओसारपसार १, बहुविवाह ३ सम्बन्ध विच्छेद ३, गर्भपतन १ र बालिका गर्भवती १ जना गरी २२ जनाको उद्दार तथा पुनस्र्थापनाका लागि कानुनी प्रक्रियासहित पुनर्मिलनमा सहजीकरण गरेको अध्यक्ष दिलमाया शाहीले बताइन् ।