बुद्धको अर्को जहाज पनि हुँदैछ बिदाइ
८ जेठ, चितवन । निजी वायुसेवा कम्पनी बुद्ध एयरको अर्को एउटा जहाज पनि बिदाइ हुने भएको छ ।
बुद्धले आगामी सेप्टेम्बरमा ४७ सिट क्षमतायुक्त ‘एटीआर४२’ सिरिजको एक थान जहाज सेवाबाट विस्थापन गर्न लागेको हो । यो जहाजको दर्ता नम्बर ‘९एन–एआईएम’ हो ।
एउटा जहाजको बिदाइ र अर्को फिर्ता भएपछि काठमाडौं–भरतपुर रुटमा ७२ सिट क्षमताका ‘एटीआर७२–५००’ जहाजमात्र चल्नेछन् । भरतपुर विमानस्थल धावनमार्ग छोटो (जम्मा १ हजार २ सय मिटर) हुँदा एटीआर७२ जहाज आउन सके पनि धेरै यात्रु उडाउन सक्दैन ।त्यसैले बुद्धले भरतपुरमा ४२ सिटे जहाजमात्रै उडाउँदै आएको छ । ‘आगामी सेप्टेम्बरदेखि ४२ सिटे एकमात्र जहाज बाँकी रहन्छ, नयाँ ४२ सिटे जहाज छैन, नयाँ आउने सम्भावना पनि छैन,’ भरतपुर स्टेसन इन्चार्ज बस्नेतले भने, ‘त्यसपछि ७२ सिटेबाहेक अर्को जहाजको विकल्प छैन ।’
एटीआर जहाजको आयु ७० हजार चक्र मान्ने गरिन्छ । जहाज एक पटक उडेर अर्को विमानस्थल अवतरण गर्नेसम्मको अवधिलाई एक चक्र भन्ने गरिन्छ । एक पटक इन्जिन चलेर बन्द हुँदा पनि एक चक्र अवधि पूरा हुन्छ ।
तीन थान ४२ सिटे जहाज रहेको बुद्धले गत वर्ष एक जहाजको उडान आयु सकिएपछि बिदाइ गरेको थियो । बुद्धको दर्ता नम्बर ‘९एन–एआईएन’ रहेको एटिआर४२ जहाजको उडान चक्र २५ भदौ २०८१ मा पूरा भएपछि बिदाइ गरिएको थियो ।









