चीनमा फेरि फैलियो कोभिड संक्रमण

बेइजिङ (एजेन्सी),

चीनमा फेरि कोभिड संक्रमणका बिरामी भेटिएका छन् । जुलाईपछि पहिलोपटक नयाँ संक्रमित भेटिएका चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीले बताएका छन् ।

घातक डेल्टा भेरियन्ट देखिएपछि जुनमा चीनले कोभिड नियन्त्रणका प्रयासलाई पुनः तीव्रता दिएको छ । डेढ महिनाअघि नान्जिङ प्रान्तको पूर्वी सहरको एउटा विमानस्थलमा सफाइ गर्ने कर्मचारीमा डेल्टा भेरियन्ट देखिएको थियो । त्यसलगत्तै चीनका अन्य प्रान्त र सहरमा पनि संक्रमण बढेको थियो । डेल्टा भेरियन्ट संक्रमण  नियन्त्रणका लागि थप चुनौती बनेको छ ।

रोग नियन्त्रण गर्न चीनले यसअघि विभिन्न प्रान्तमा कडा लकडाउन गर्नुका साथै बृहत् परीक्षण तथा आवतजावतमा प्रतिबन्ध लगाएको थियो । सरकारले चालेको कठोर कदमका कारण केही समय संक्रमण नियन्त्रणमा आएको थियो । एकमहिनाअगाडि चीनले दैनिक संक्रमण दरलाई एक सयबाट शून्यमा झारेको थियो ।

तर, सोमबार देशमा एक महिनपछि पहिलोपटक २१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य आयोगका अनुसार १६ जनामा भने लक्षण देखिएको छैन । संक्रमित सबै दोस्रो मुलकबाट आएको बताइएको छ ।

कोभिडलाई पूर्ण रुपमा नियन्त्रण गर्ने चार देशहरुमध्ये चीन प्रमुख देश हो । चीनबाहेक सिंगापुर, न्युजिल्याण्ड र अस्ट्रेलियाले पनि आफ्नो देशको सिमाभित्र कोभिडलाई पूर्ण रुपमा निर्मूल गरेका थिए ।

यी देशले अन्य देशसँगको सिमालाई कडाई बनाएका छन् । यी देशले बाहिरबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनको व्यबस्था गर्नुका साथै निश्चित क्षेत्रमा लकडाउन गरेका छन् । त्यस्तै, परीक्षणको दायरा तीब्र पारेको छ । तर, पछिल्ला समयमा देखिएको डेल्टा भेरियन्टले केही देशलाई कोभिड नियन्त्रणका प्रयासलाई पुनः तीव्रता दिन घचघचाएको छ ।

अस्ट्रेलियामा सिड्नी, मेलबर्न र राजधानी क्यानबेरालगायतका मुख्य सहरमा लकडाउन गरिएको छ, यद्यपि ती सहरमा संक्रमितको संख्या झन् बढिरहेको छ । शनिबार अस्ट्रेलियामा ठूलो संख्यामा संक्रमित भेटिएका थिए । महामारी फैलिएपछि अहिलेसम्मकै धेरै संक्रमित भेटिएका हुन् । संक्रमण बढेपछि सरकारले जारी गरेको लकडाउनको विरोधमा शनिबार हजारौं मानिस सडक प्रदर्शनमा उत्रिएका थिए ।

सम्बन्धित समाचार