आन्तरिक कुरा नमिल्दा कारागार भित्रै झपड, ५ जना घाइते

सांकेतिक तस्बिर
दाङ – दाङको घोराही स्थित कारागार भित्र रहेका नाईके र कैदी बन्दी बीच झडप हुँदा ५ जना घाइते भएका छन् ।
घाइते मध्ये ४ जनाको टाउकोमा चोट लागेको छ भने १ जनाको हात भाचिएको कारागार शाखाले जनाएको छ ।
रातको २ बजे एकाएक झगडा शुरु भएकाले सुरक्षा निकाय भित्र पुग्न ढिला भएको बताइएको छ ।
घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरि हाल कारागार मै राखिएको छ ।
कारागारका नाईकेहरु र कैदीबन्दी बीच आन्तरिक व्यवस्थापनका विषयमा कुरा नमिल्दा झडप भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीका प्रहरी निरीक्षक, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सम्मिलित समिति बनाएर छानविन शुरु गरिएको प्रजिअ रिजालले जानकारी दिए ।
७० जनाको क्षमता रहेको कारागारमा ३१७ जना कैदीबन्दी बस्दै आएका छन् ।








