मुगुमा विभिन्न दल परित्याग गरी २८ जना रास्वपामा प्रवेश
मुगु :मुगुको छायानाथ रारा नगरपालिका–१३ बाट नेपाली कांग्रेस, नेकपा एमाले लगायतका विभिन्न राजनीतिक दल परित्याग गरी २८ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
मंसिर ३ गते आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलमा आबद्ध तथा स्वतन्त्र रहेका व्यक्तिहरू रास्वपामा प्रवेश गरेको रास्वपा मुगुका उपसभापति राजेन्द्र शाहीले जानकारी दिए।
रास्वपामा प्रवेश गर्नेहरूमा डिलबहादुर थापा, लौतोला कामी, हरिकन्या दमाई, धनराज लावड, लोकेश लावड, राजिन्द्र नेपाली, रिदम रावत, प्रेमबहादुर कामी, टोपबहादुर लावड, सुरेन्द्र नेपाली, सर्पसिंह लावड, देबिदास नेपाली, लौला/कमल लावड, राजेश लावड, महेन्द्र लावड, प्रबिन्द्र लावड, हिम्मत लावड, जयलक्ष्मी लावड, जनक लावड, सुनदेवी नेपाली, दिपेन्द्र लावड, हिरामत नेपाली, मनुराज लावड, ममिता लावड, किसनमाया कामी, पुष्पराज रावत, उपेन्द्र लावड र जुनबहादुर लावड रहेका छन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवप्रवेशी हरिकन्या दमाईले पुराना राजनीतिक दलहरूले दलित तथा जनजाति समुदायलाई निर्वाचनका बेला मतदाताका रूपमा मात्रै प्रयोग गर्ने गरेको आरोप लगाइन्। समुदायको मतबाट निर्वाचित भएका नेताहरूले व्यक्तिगत आर्थिक तथा भौतिक प्रगति गरे पनि गरिब, दलित र पछाडि पारिएका समुदायको हितमा अपेक्षित काम गर्न नसकेको उनको भनाइ थियो।
आफूहरूको मतबाट विभिन्न व्यक्तिहरू सदरमुकाम गमगढी, सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा घरमहल बनाउन सफल भए पनि स्थानीय गरिब तथा दलित समुदायको अवस्था सुधार हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। यही असन्तुष्टिका कारण पुराना राजनीतिक दल परित्याग गरी रास्वपामा आबद्ध भएको उनले बताइन्।
नवप्रवेशीहरूलाई रास्वपा मुगु जिल्ला कार्यसमितिका सभापति बिखबहादुर मल्लले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा सभापति मल्लले नवप्रवेशी सदस्यहरूलाई पार्टीको विधान, नियम र निर्देशनअनुसार संगठन निर्माणमा सक्रिय हुन आग्रह गरे। उनले भ्रष्टाचारविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्नेमा समेत जोड दिए।
२८ जनाको पार्टी प्रवेशसँगै छायानाथ रारा नगरपालिका–१३ मा रास्वपाले आफ्नो संगठन विस्तारलाई थप मजबुत बनाएको जनाएको छ।








