कर प्रणालीबारे सचेतना जगाउन मुगुका व्यापारीलाई करदाता शिक्षा

मुगु । जिल्लाका व्यापारी तथा व्यवसायीलाई कर प्रणाली, कानुनी प्रक्रिया र कर छुटका प्रावधानबारे जानकारी गराउने उद्देश्यले मुगुको गमगढी बजारमा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ।

दुर्गम जिल्ला भएकाले कर तिर्ने प्रक्रिया तथा नीति–नियमबारे व्यवसायीमा रहेको अन्योल हटाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय जुम्लाको आयोजना र उद्योग वाणिज्य संघ मुगुको समन्वयमा एकदिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।कार्यक्रममा सहभागी व्यापारी तथा व्यवसायीलाई व्यवसाय दर्ता तथा नवीकरण, स्थायी लेखा नम्बर (प्यान), मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता, कर चुक्ता प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया तथा आय विवरण पेस गर्ने तरिकाबारे जानकारी गराइएको थियो।

त्यसैगरी सामान बिक्री गर्दा अनिवार्य रूपमा बिलबिजक जारी गर्नुपर्ने व्यवस्था, खरिद तथा बिक्रीको सही अभिलेख राख्ने विधि र मासिक, चौमासिक तथा वार्षिक रूपमा अनलाइन प्रणाली र बैंकमार्फत कर विवरण तथा रकम बुझाउने प्रक्रियाबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा करपाटी राख्नुपर्ने कारण, नराख्दा लाग्ने जरिवाना, कारोबारमा देखिने मिसम्याच, अन्तःशुल्क, मदिरा तथा सुर्तीजन्य वस्तुको कारोबारसम्बन्धी कानुनी व्यवस्थाबारे समेत जानकारी गराइएको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख ऋषिराम अर्यालले बताए।

साप्ताहिक कर दिवसको अवसर पारेर सञ्चालन गरिएको कार्यक्रममा सरकारले आर्थिक ऐनमार्फत साना तथा मझौला व्यवसायीलाई उपलब्ध गराएका कर छुट, जरिवाना मिनाहा तथा विभिन्न सहुलियतका व्यवस्थाबारे पनि स्पष्ट पारिएको थियो। उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले लागू गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रम र डिजिटल भुक्तानी (क्यूआर) प्रणालीका फाइदाबारे समेत जानकारी दिइएको थियो।

करदाता शिक्षा कार्यक्रमले मुगुका व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। कर तिर्नुपर्ने समयसीमा र कानुनी प्रक्रियाबारे स्पष्ट जानकारी भएपछि अज्ञानता वा ढिलासुस्तीका कारण लाग्ने अनावश्यक जरिवाना तथा ब्याजबाट बच्न सहज हुने अपेक्षा गरिएको छ।

सामान्य करसम्बन्धी कामका लागि स्थायी लेखा नम्बर लिनसमेत जुम्ला पुग्नुपर्ने बाध्यता रहेको व्यवसायीको गुनासो छ। एक जना व्यापारीले प्यान नम्बर लिन जुम्ला पुग्दा करिब १० देखि १५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको मुगु उद्योग वाणिज्य संघका उपाध्यक्ष जंगबहादुर शाहीले बताए।

उनका अनुसार अनलाइन करदाता पोर्टलको प्रयोग गर्न सिकेपछि सामान्य कर विवरण बुझाउन तथा कर चुक्ता प्रमाणपत्र लिनकै लागि जुम्ला धाउनुपर्ने बाध्यता कम हुनेछ। साथै, व्यवस्थित रूपमा लेखा राख्दा व्यवसाय पारदर्शी हुनुका साथै वार्षिक आम्दानी तथा खर्चको हिसाब राख्न पनि सहज हुनेछ।

जुम्लाबाट आएर मुगुका व्यवसायीलाई करदाता शिक्षा प्रदान गर्नु सकारात्मक कार्य भएको उल्लेख गर्दै नेपाल पत्रकार महासंघ शाखा मुगुका कार्यवाहक अध्यक्ष जीवन सेजुवालले जिल्लामा अझै पनि धेरै व्यापारी करको दायराबाहिर रहेर व्यवसाय सञ्चालन गरिरहेको बताए।

उनले करको दायराबाहिर रहेका व्यवसायीको पहिचान गरी करको दायरामा ल्याउनुपर्ने, समय–समयमा व्यवसायको अनुगमन गर्नुपर्ने र वर्षमा तीनदेखि चार पटकसम्म करसम्बन्धी शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

करसम्बन्धी थप सूचना तथा सहयोगका लागि आन्तरिक राजस्व विभागको वेबसाइट हेर्न वा गमगढीस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय र उद्योग वाणिज्य संघ मुगुमा सम्पर्क गर्न सकिने आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ। साथै, कार्यालयले उद्योगी, व्यापारी तथा सम्पूर्ण करदातालाई करसम्बन्धी अन्योल भएमा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार