जुम्लामा लैङ्गिक हिंसा विरुद्धको१६ दिने अभियानका कार्यक्रम तय

जुम्ला :लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन जुम्लामा सरोकारवालाबीच बैठक बसेर विभिन्न कार्यक्रम तय गरिएको छ।

राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्य अनुसार नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानमा सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज र सञ्चारमाध्यमको समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिनेछ।

त्यस्तै  चन्दनाथ नगरपालिका  महिला तथा बालबालिका शाखा, समाजिक विकास कार्यालय,जनस्वाथ्य सेवा कार्यालय , र जिल्ला  स्थित  सरकारी तथा गैर सरकारी कार्यालयको  सहयोग तथा सहभागिता रहने छ । कार्यक्रमअनुसार नोभेम्बर २५ मा र्‍यालीसहित अभियानको उद्घाटन गरिनेछ। नोभेम्बर ३० मा मानव अधिकारमैत्री कार्यस्थलबारे छलफल, डिसेम्बर ४ मा चन्दननाथ नगरपालिका–१ कुलालवाडामा शोसेक नेपालको सहयोगमा सचेतनामूलक कार्यक्रम तथा डिसेम्बर ७ मा तातोपानी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिनेछ।

त्यस्तै, अभियानका क्रममा विभिन्न दिवस तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिने र सञ्चारमाध्यममार्फत प्रचारप्रसारलाई प्राथमिकता दिइनेछ। डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा र्‍याली तथा औपचारिक कार्यक्रम गरी अभियान समापन गरिनेछ।

अभियानमार्फत लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, महिला तथा बालबालिकाको अधिकार संरक्षण गर्ने र समाजमा समानता, सम्मान तथा सुरक्षित वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समाजमा हुने सबै प्रकारका लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले सञ्चालन गरिन्छ। यो अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइन्छ।

सम्बन्धित समाचार