मन्दिर संरक्षणमा जुटे गौरीका युवा, श्रमदानबाटै थाले जीर्ण सम्पदाको मर्मत

जुम्ला:जुम्लाको कनकासुन्दरी गाउँपालिका ३, गौरीका युवाहरू गाउँघर तथा टोलबस्तीमा रहेका जीर्ण मठमन्दिरको संरक्षण र मर्मतसम्भारमा जुटेका छन्। स्थानीय सरकारको पर्याप्त ध्यान पुग्न नसकेपछि एक दर्जन युवाले आफ्नै श्रमदानमार्फत धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण अभियान सुरु गरेका हुन्।

अभियानअन्तर्गत गौरी गाउँस्थित नैधारामा रहेको करिब दुई दशक पुरानो भुवानी देवताको मन्दिरबाट मर्मतसम्भार तथा रङ्गरोगनको काम सुरु गरिएको छ। पछिल्लो समय विभिन्न प्रभावका कारण परम्परागत धर्म, संस्कृति, देवीदेवताप्रतिको आस्था र पुराना रीतिरिवाज हराउँदै जान थालेपछि युवाहरू संरक्षण अभियानमा सक्रिय भएका हुन्।

पूर्खाहरूले मान्दै आएका रीतिरिवाज, मठमन्दिर, देवल तथा परम्परागत कलाको आफ्नै ऐतिहासिक महत्त्व रहेको स्थानीय शिक्षक कलबहादुर बुढाले बताउनुभयो। यस्ता सम्पदाको संरक्षणसँगै तिनको इतिहासको खोजी गर्न सके आगामी दिनमा धार्मिक पर्यटन प्रवर्द्धनको राम्रो सम्भावना रहेको उहाँको भनाइ छ।

नेपाली भाषाको उद्गमस्थल मानिने कनकासुन्दरीको हाटसिँजासँग जोडिएको गौरीको नैधारास्थित भुवानी देवताको मन्दिरलाई शक्तिशाली धार्मिक पीठका रूपमा लिने गरिन्छ। समाजसेवी खड्कबहादुर बुढाका अनुसार यहाँ रहेका नौवटा धाराको पानीमा विशेषगरी साउन महिना, जनैपूर्णिमा र भाद्र पूर्णिमाका अवसरमा स्नान गर्दा आत्मशान्ति मिल्ने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।

उक्त अवसरमा छिमेकी गाउँ लार्ज, लुड्कु, सिँजा, पछाईवाडा, गोरुचौर, रोकाबाडा, पाण्डवगुफालगायत दर्जनौँ बस्तीबाट श्रद्धालुहरू पूजाआजाका लागि आउने गर्छन्। रातभर जाग्राम बसेर पूजाआजा गर्दा घरपरिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने, रोग तथा सङ्कटबाट मुक्ति मिल्ने र असत्यमाथि सत्यको विजय हुने धार्मिक विश्वासका साथ भक्तजनले फलफूल तथा दानदक्षिणा चढाउने गरेका छन्।

स्थानीय तहबाट जीर्ण मठमन्दिरको संरक्षण तथा मर्मतसम्भारमा अपेक्षित चासो नदेखिएपछि युवाहरूले स्वस्फूर्त रूपमा अभियान अघि बढाएका हुन्। अभियानलाई आगामी दिनमा थप विस्तार गर्दै गौरी, ओखरपाटा, लुम, जोडेलवाडा, बुढु र गोठेलवाडा गाउँलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको स्थानीय युवा माग्य बुढाले जानकारी दिनुभयो।

स्थानीय धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा युवाहरूले देखाएको सक्रियताले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै धार्मिक पर्यटनको सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार