छायाँनाथ धामको तीर्थयात्रा सुरु 

मुगु:मुगुको प्रसिद्ध धार्मिकस्थल छायाँनाथ धामको वार्षिक तीर्थयात्रा सुरु भएको छ। बिहीबार छायाँनाथ रारा नगरपालिका–२, चैतन गाउँमा रहेको छायाँनाथ मन्दिरबाट शिवजीको मूर्ति पुजारी, बाजागाजा र सुरक्षाकर्मीसहित मुगुम कार्मारोङ गाउँपालिकामा रहेको पवित्र छायाँनाथ धामतर्फ प्रस्थान गराइएसँगै यस वर्षको तीर्थयात्रा सुरु भएको हो।

हरेक वर्ष श्रावण शुक्ल पक्ष अष्टमीका दिन छायाँनाथ ठाकुरज्यूको मूर्ति पवित्र छायाँनाथ धाममा स्नान गराउन लैजाने परम्परा छ। बिहीबार लगिएको शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायाँनाथ धाममै रहने छ।

छायाँनाथ धाममा दर्शन तथा पूजाआजाका लागि मुगुसहित जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायत जिल्लाबाट धामीझाँक्री तथा तीर्थालुहरू पुग्ने गर्छन्। जनैपूर्णिमाका अवसरमा धाममा पाँच दिनसम्म पूजापाठ, होम तथा व्रत हुने गर्दछ। यस अवधिमा वरदान माग्न कर्णाली तथा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट ठूलो संख्यामा तीर्थालु आउने गरेको छायाँनाथ मन्दिरका पुजारी सन्तकुमार हमालले बताए।

धार्मिक किंवदन्तीअनुसार विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सतीदेवीको शरीरका अंगहरू पृथ्वीका विभिन्न स्थानमा पतन गराएको र अन्तिम अंग छायाँनाथमा पतन भएको विश्वास गरिन्छ। त्यसैकारण छायाँनाथलाई पवित्र तीर्थस्थलका रूपमा पूजा गर्ने परम्परा रहेको पुजारी हमालले बताए।

छायाँनाथमा पुग्ने तीर्थालुले श्राद्ध, होम, व्रतबन्ध तथा पूजापाठ गर्ने र आफूले चिताएको वरदान माग्ने गर्दछन्। सन्तान नहुनेले सन्तान, अन्नको अभाव भएकाले अन्न तथा पशुधन नहुनेले पशुवस्तुको वर माग्ने धार्मिक विश्वास रहेको कनकासुन्दरी–३, जुम्लाका राजाराम बुढाले बताए। कतिपय भक्तजन झाँक्री बनेर तथा देवताका घण्टीमाला पवित्र बनाउन पनि छायाँनाथ पुग्ने गर्छन्।

समुद्री सतहदेखि करिब ५ हजार मिटरको उचाइमा रहेको छायाँनाथ धामलाई विश्वकै उच्च स्थानमा रहेको पवित्र धार्मिकस्थलका रूपमा समेत चिनिन्छ। यहाँ पुगेर दर्शन तथा पूजा गरेमा पाप नष्ट हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको कनकासुन्दरी–३, जुम्लाका भक्तबहादुर बुढाले बताए।

छायाँनाथ रारा तालसँग पनि धार्मिक तथा सांस्कृतिक सम्बन्ध जोडिएको स्थानीय जनविश्वास छ। किंवदन्तीअनुसार महादेवले सतीदेवीको मृत शरीर रारा तालको बाटो हुँदै लैजाँदा उनको अन्तिम अंग यस स्थानमा पतन भएको विश्वास गरिन्छ। छायाँनाथबाट रारा तालको मनोरम दृश्य देखिन्छ भने रारा तालबाट पनि छायाँनाथको अवलोकन गर्न सकिन्छ।

स्थानीय जनविश्वासअनुसार रारा ताल ढल्किन खोज्दा ठाकुरज्यूले ढुंगामा लात्ती प्रहार गरी ताललाई ढल्किनबाट जोगाएको र मानव बस्ती सुरक्षित बनाएको कथा समेत प्रचलित छ।

छायाँनाथ हिन्दू धर्मावलम्बीका लागि मात्र नभई बौद्ध धर्मावलम्बीका लागि पनि महत्वपूर्ण धार्मिकस्थल हो। बौद्ध धर्मावलम्बीहरूले छायाँनाथलाई अवलोकितेश्वर महादेवका रूपमा पूजा गर्ने गर्दछन्। हरेक वर्ष सुदूरपश्चिम, मध्यपश्चिमलगायत देशका विभिन्न स्थानबाट हिन्दू तथा बौद्ध धर्मावलम्बीहरू छायाँनाथ पुग्ने गर्छन्। धामसम्म जाने बाटोमा पर्ने अधिकांश बस्ती बौद्ध धर्मावलम्बीका रहेका छन्।

यस वर्ष बिहीबार प्रस्थान गरेको सुरक्षासहितको टोली जनैपूर्णिमाको भोलिपल्ट फर्कनेछ। यसैबीच, नवमीका दिन छायाँनाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर जिल्लाकै धार्मिकस्थल ऋणमोक्ष मन्दिरमा समेत तीर्थालु जाने भएका छन्। त्यहाँ पनि मुगु तथा अन्य जिल्लाबाट आएका भक्तजनले दर्शन गर्ने गरेका छन्।

सम्बन्धित समाचार