एकीकृत कार्ययोजनासहित अघि बढ्ने जुम्लाका प्रजिअ प्रसाई
जुम्ला: भखरै कार्यभार समालेका जुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तेजप्रकाश प्रसाईले पत्रकारहरूसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्राप्त सुझावलाई आत्मसात् गर्दै जिल्लाको समग्र विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि एकीकृत कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले प्रशासनले कानुनको प्रभावकारी कार्यान्वयन, शान्ति–सुरक्षाको सुदृढीकरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। चट्याङका कारण हुने जनधनको क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी र सचेतना कार्यक्रम सञ्चालन गरिने तथा विपद्मा मृत्यु भएका परिवारले संघीय सरकार र स्थानीय तहबाट प्राप्त गर्ने राहत समयमै उपलब्ध गराउन पहल गरिने उनले बताए।
प्रजिअ प्रसाईले लागूऔषध नियन्त्रण, बजार अनुगमन, सरसफाइ अभियान तथा सार्वजनिक सेवामा सुधारलाई वार्षिक कार्ययोजनामा समेटिने जानकारी दिए। तीनै तहका सुरक्षा निकायबीच समन्वय र प्रभावकारिता बढाइने तथा “आफ्नो घर–आँगन आफैं सफा गरौँ” अभियानअन्तर्गत १५ दिने सरसफाइ कार्यक्रम सञ्चालन गरिने उनले बताए।
उनले जनताले बढी सेवा लिने कार्यालयहरूको कार्यसम्पादन सुधारका लागि सम्बन्धित निकायबाट कार्ययोजना माग गरी सेवा प्रवाहलाई सहज, सरल र प्रभावकारी बनाइने बताए। साथै, सबै सरोकारवाला निकाय र संस्थालाई एकीकृत रूपमा समेटेर जिल्लाको विकास र सुशासनका कार्यक्रम अघि बढाइने उनको भनाइ थियो।
विकास निर्माणका योजना समयमै सम्पन्न नभए सम्बन्धित निकायलाई आवश्यक निर्देशन र ताकेता गरिने उनले स्पष्ट पारे। झापामा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहँदाको अनुभव सुनाउँदै क्रसर उद्योगको प्रभावकारी नियमनका लागि स्पष्ट कार्यविधि तयार गरी कार्यान्वयन गरिने बताए। हिमा, तिला लगायतका स्थानीय तहलाई समेत आवश्यक कार्यविधि निर्माण गर्न निर्देशन दिइएको उनले जानकारी दिए।
कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लामा विकास आयोजना पारदर्शी र गुणस्तरीय बनाउनुपर्ने, मानसिक स्वास्थ्यका समस्या, बालविवाह, घुम्टो प्रथा, लागूऔषध, यौन व्यवसाय, गिट्टी–बालुवाको अवैध उत्खनन, जुवा–तास, गाउँ केन्द्रित अपराध, वडाबाट सिफारिस प्राप्त गर्न हुने कठिनाइ, अवैध गर्भपतन, मदिरा दुरुपयोग, अनलाइन ठगी तथा दिनदहाडै बढ्दो चोरीका घटनाप्रति प्रशासनको विशेष ध्यान जानुपर्ने सुझाव दिएका थिए।
पत्रकार दिलमाया शाहीले विशेषगरी मानसिक स्वास्थ्यका समस्या भएका व्यक्तिको व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, सामाजिक विकृति नियन्त्रण र विकास योजनाको पारदर्शितामा प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएकी थिइन्।
कार्यक्रममा उठेका सुझावहरूलाई प्रशासनले आगामी कार्ययोजनामा समेटेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता प्रजिअ प्रसाईले व्यक्त गरे।








