खत्याडबासीलाई सरकारी सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य
मुगु :जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकाका बासिन्दाले लामो समयदेखि झेल्दै आएको प्रशासनिक सास्ती अब अन्त्यतिर उन्मुख भएको छ। रारा राष्ट्रिय निकुञ्जका कारण सदरमुकाम गमगढीसँग प्रत्यक्ष सडक सञ्जाल जोडिन नसकेको यस क्षेत्रका नागरिकहरूले अब नागरिकता, राहदानी, मालपोत तथा नापीसम्बन्धी सेवा आफ्नै गाउँपालिकाबाटै पाउने भएका छन्।
बुधबारदेखि खत्याड गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय स्थापना भई औपचारिक रूपमा सेवा प्रवाह सुरु भएको हो। गाउँपालिकाभित्रै सञ्चालनमा आएका यी कार्यालयहरूले अब जिल्लास्तरबाट प्रदान हुने अधिकांश सेवाहरू स्थानीय तहबाटै उपलब्ध गराउनेछन्।
यसअघि खत्याडका नागरिकहरू नागरिकता, राष्ट्रिय परिचयपत्र, जग्गा दर्ता, नापजाँचलगायतका कामका लागि दुई दिनसम्म पैदल यात्रा वा सडक यातायात प्रयोग गरी जुम्ला, बाजुरा वा हुम्ला हुँदै सदरमुकाम गमगढी पुग्न बाध्य थिए। सामान्य प्रशासनिक कामकै लागि ५ हजारदेखि १० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो, जसले आर्थिक मात्र नभई शारीरिक रूपमा पनि ठूलो कष्ट निम्त्याएको स्थानीयहरूले बताएका छन्।
स्थानीय बासिन्दाका अनुसार सडक सञ्जालको अभावले नागरिकता बनाउन वा अन्य सरकारी कामका लागि सदरमुकाम पुग्न निकै कठिन थियो। विशेषगरी वृद्धवृद्धा, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूले झन् बढी समस्या भोग्नुपर्थ्यो। वडा नं. ५ का ७५ वर्षीय नन्दकेशर घोडाशौनीले भने, “घरबाट नागरिकता बनाउन गमगढी पुग्न दुई दिन लाग्थ्यो, फर्किन पनि उस्तै समय लाग्थ्यो। बीचमा कुनै कागजात नमिल्दा झन् दुःख थपिन्थ्यो। अब गाउँमै सेवा पाइने भएपछि ठूलो राहत मिलेको छ।”
बुधबारदेखि सञ्चालनमा आएका यी तीनवटै कार्यालयले नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र दर्ता, जग्गा प्रशासन तथा नापजाँचसम्बन्धी सम्पूर्ण सेवा स्थानीय स्तरमै उपलब्ध गराउनेछन्। यससँगै खत्याडका बासिन्दाले अब सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताएका छन्।
तीनवटै कार्यालय स्थापनाका लागि खत्याड पुगेका गृह मन्त्रालयअन्तर्गत प्रशासन महाशाखाका सहसचिव कालीप्रसाद पराजुलीले दुर्गम क्षेत्रमा सेवा पहुँच विस्तार गर्नु राज्यको प्राथमिकता भएको बताए। उनले भने, “खत्याडमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना हुनु सेवा विकेन्द्रीकरणको महत्वपूर्ण कदम हो। यसले स्थानीय नागरिकलाई समय, लागत र श्रम बचत गर्दै सहज रूपमा सेवा लिन मद्दत पुर्याउनेछ।”
सुशासन तथा नागरिक अधिकारका अभियन्ता अनिल बानियाँले यस कदमलाई सकारात्मक परिवर्तनको सुरुआतका रूपमा व्याख्या गर्दै भने, “राज्यका सेवा नागरिकको ढोकासम्म पुर्याउनु नै वास्तविक समावेशी शासन हो। खत्याडमा सुरु भएको यो अभ्यास अन्य दुर्गम क्षेत्रका लागि पनि उदाहरण बन्न सक्छ।” उनले विगतमा पहल भए पनि पूर्णता नपाएको यो कार्य विभिन्न तहको समन्वय र पहलबाट सफल भएको उल्लेख गरे।
खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले स्थानीय तहबाटै सेवा प्रवाह सुरु हुनु गाउँपालिकाको ठूलो उपलब्धि भएको बताए। “वर्षौंदेखि नागरिकहरूले झेल्दै आएको समस्या समाधान गर्न हामी निरन्तर पहल गरिरहेका थियौं। अब यी कार्यालयमार्फत नागरिकले सहज रूपमा सेवा पाउनेछन्, जसले समग्र विकास प्रक्रियामा टेवा पुग्नेछ,” उनले भने।
दुर्गम भौगोलिक अवस्था र पूर्वाधार अभावका कारण राज्य सेवाबाट टाढा रहेका खत्याडबासीका लागि यो पहल केवल सेवा विस्तार मात्र नभई सम्मानजनक पहुँचको अनुभूति पनि हो। अब उनीहरूको दैनिकीमा सहजता मात्र होइन, राज्यप्रतिको भरोसा पनि थप बलियो बन्ने अपेक्षा गरिएको छ।
विगतका सरकार तथा जनप्रतिनिधिहरूले गर्न नसकेका कामहरू पछिल्लो समय प्राथमिकतामा राख्दै विभिन्न आन्दोलन र पहलहरूको परिणामस्वरूप खत्याडमा यी सेवाहरू स्थापना भएका हुन्। यस कार्यमा योगदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै अब गाउँपालिकाबाटै सहज रूपमा सेवा प्रवाह हुने विश्वास व्यक्त गरिएको छ।









