कानुनमन्त्री सोविता गौतमको सम्पति : १५ तोला सुन, एक तोला हिरा, काठमाडौँ रं चितवनमा जग्गा

काठमाडौं । कानुनमन्त्री सोविता गौतमले जग्गा, नगद र सेयरसहितको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा प्रकाशित सम्पत्ति विवरणअनुसार सोविताले काठमाडौं, चितवनमा श्रीमान र सासुसहितको जग्गा भएको विवरण उल्लेख गरेकी छिन् ।

विवाहमा १० तोला र पैत्रिक ५ तोला सुन देखाएकी छन् । पैत्रिक ९ तोला चाँदी देखाएकी छन् । विवाहमा एक तोला हिरा प्राप्त भएको उनको विवरणमा उल्लेख छ ।

बैंकतर्फ एनआइसी एसियामा तीन लाख ६८ हजार ८६७ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८७४ रुपैयाँ, नबिल बैंकमा ४ लाख ८१ हजार, ७६७ रुपैयाँ, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार ५५३ रुपैयाँ देखाइएको छ । ग्लोबल बैंकमा ८ हजार २७४ रुपैयाँ रहेको देखाइएको छ ।

व्यवसायबाट, लगानी र तलब भनेर नगद विवरण देखाइएको छ । ग्लोब ट्रट हिमालय टूर्स एण्ड ट्रेक्समा ५० प्रतिशत सेयर, सोपा मल्टिपल कम्पनीमा प्रतिकित्ता एक सय दरको ६ हजार ५ सय कित्ता प्रमोटर सेयर भएको उल्लेख गरिएको छ ।

गाडी खरिदको लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख र एभरेष्ट बैंकबाट २५ लाख ऋण लिएको उल्लेख छ । श्रीमान गृहेन्द्र घिमिरेले ९५ लाखको गाडी खरिद गरेको उल्लेख छ ।

राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर गाडी खरिद गरेको जनाइएको छ । २ लाख ७५ हजारको स्कुटर खरिद गरिएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।