सेनाद्वारा आयोजित मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा सेनाकै वर्चस्व
मुगु:मुगुको रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको हनुमान ध्वज गुल्मद्वारा आयोजित मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा नेपाली सेनाकै वर्चस्व देखिएको छ।
चैत २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको थियो। तीन दिनसम्म चलेको प्रतिस्पर्धामा नेपाली सेनाको देवीदत्त गण (ख) गुल्म, सुसेमुको ‘बी’ टिम प्रथम, सोही गुल्मको ‘ए’ टिम द्वितीय तथा हनुमान ध्वज गुल्म, हुटु तृतीय स्थान हासिल गर्न सफल भए।
२७ गते सम्पन्न फाइनल खेलमा देवीदत्त गण (ख) गुल्मका ‘ए’ र ‘बी’ टिमबीच कडा प्रतिस्पर्धा भएको थियो। खेलमा ‘ए’ टिमले पहिलो सेट २५–२१ र तेस्रो सेट २५–१८ ले जितेको थियो भने ‘बी’ टिमले दोस्रो सेट २५–१६ र चौथो सेट २५–२२ ले जित हात पारेको थियो। अन्तिम तथा निर्णायक पाँचौं सेटमा ‘बी’ टिमले १५–१२ को अन्तरले जित निकाल्दै उपाधि जित्न सफल भयो।
तेस्रो स्थानका लागि भएको खेलमा हनुमान ध्वज गुल्मले सिडिएस फार्कलाई पराजित गरेको थियो।
प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले खेलाडीहरूलाई प्रमाणपत्र वितरण गर्दै विजेताहरूलाई बधाई तथा धन्यवाद दिएका थिए। उनले खेल निकै रोचक भएको उल्लेख गर्दै “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारालाई आत्मसात् गर्दै नियमित रूपमा खेलकुदमा सक्रिय रहन खेलाडीहरूलाई आग्रह गरे। साथै, आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरू आयोजना गरी नेपाली सेना र नागरिकबीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रतियोगितामा प्रथम हुने ‘बी’ टिमलाई नगद १० हजार रुपैयाँसहित ट्रफी, द्वितीय हुने ‘ए’ टिमलाई नगद ७ हजार रुपैयाँ तथा तृतीय हुने टोलीलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी उत्कृष्ट स्पाइकर उमर चन्द र उत्कृष्ट लिबेरो जमदार नन्द गाहामगरलाई पनि नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
पुरस्कार वितरण कार्यक्रम छायाँनाथ रारा नगरपालिकाकी उपमेयर ऐश्वर्य मल्ल शाहीले गरेकी थिइन्।
सेना र समुदायबीचको सम्बन्धलाई खेलकुदमार्फत थप सुदृढ बनाउने उद्देश्यले पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गरिएको सेनानी खड्गबहादुर श्रेष्ठले जानकारी दिए। आगामी दिनमा पनि समुदायस्तरका युवाहरूको सहभागिता बढाउने गरी विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिने उनले बताए








