सीपले आत्मविश्वास बढायो, ‘अब व्यवसाय गरेर आत्मनिर्भर बन्न चाहन्छौँ’
मुगु जिल्लामा विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, आयआर्जन, रोजगारी, विपद् व्यवस्थापन तथा खानेपानी लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको इन्टरनेशनल नेपाल फेलोशिप (आई.एन.एफ.) ले सीप विकासमार्फत आत्मनिर्भरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ।
यसै क्रममा संस्थाले सीप सिकेर आत्मनिर्भर बन्न चाहने ५ जना बेरोजगार महिलाहरूलाई तीन महिनाको निःशुल्क सिलाई–कटाई तालिम प्रदान गर्नुका साथै सिलाई मेसिन, कपडा तथा आवश्यक उपकरणसमेत उपलब्ध गराइरहेको छ।
तीन महिनासम्म नियमित रूपमा तालिम लिएकी छायानाथ रारा नगरपालिका–१४, बाम गाउँकी माया बढुवालले पहिले सिलाई–कटाईलाई जातीय आधारमा हेर्ने चलन भए पनि अहिले यसको महत्व बढ्दै गएको बताइन्। “पहिले मलाई सामान्य कागज र कपडा काट्न पनि आउँदैनथ्यो, तर अहिले कपडा काट्नेदेखि सिलाउनसम्म सबै सीप सिकेकी छु,” उनले भनिन्।
उनका अनुसार तालिमबाट चोला, भोटा, कुर्ता–सुरुवाल, फ्रक, म्याक्सी, पेटीकोट, ब्लाउज लगायतका एक दर्जनभन्दा बढी पोशाक सिलाउन सिकिएको छ। अब घर फर्किएपछि सिलाई–कटाई व्यवसाय सञ्चालन गरेर घरखर्च चलाउने र बालबालिकालाई विद्यालय पठाउने लक्ष्य रहेको उनले बताइन्। साथै, तालिमसँगै मेसिन र सामग्री उपलब्ध गराएकोमा आई.एन.एफ. प्रति आभार व्यक्त गर्दै आत्मनिर्भर बन्ने प्रतिबद्धता जनाइन्।
यस्तै, तालिममा सहभागी रस्मदेवी लावडले पनि तीन महिनामा विभिन्न कपडाका डिजाइन काट्न र सिलाउन सिकेको बताइन्। “पहिलेदेखि नै सिलाई–कटाई सिक्ने इच्छा थियो, तर आर्थिक अवस्था कमजोर भएकाले सम्भव भएको थिएन। अहिले निःशुल्क तालिम र मेसिन पाएपछि निकै उत्साहित छु,” उनले भनिन्। उनले सिकेको सीपलाई निरन्तर प्रयोग गर्दै आत्मनिर्भर बन्ने योजना रहेको बताइन्।
तालिमका प्रशिक्षक रामबहादुर परिवारका अनुसार सुरुवातमा सहभागी महिलाहरूलाई सामान्य कपडा काट्न पनि कठिनाइ हुने गरेको थियो। तर उनीहरूको लगनशीलता र मेहनतका कारण छोटो समयमै विभिन्न प्रकारका पोशाक तयार पार्न सक्षम भएका छन्। “आगामी दिनमा पनि समयअनुसार नयाँ डिजाइन र सीप सिकाउँदै जानेछौँ,” उनले बताए।
छायानाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्य मल्लले आर्थिक अभावका कारण धेरै महिलाहरूले सीप सिक्न नपाएको उल्लेख गर्दै यस्तो तालिमले आत्मनिर्भर बन्न सहयोग पुगेको बताइन्। उनले स्थानीय सरकारका तर्फबाट आगामी दिनमा थप तालिम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइन्।
जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जनबहादुर कार्कीले पनि सहभागी महिलाहरूले छोटो समयमै राम्रो सीप हासिल गरेको बताउँदै अब उक्त सीपलाई व्यवहारमा उतारेर उद्यमशील बन्न आग्रह गरे।
यस सिलाई–कटाई तालिमका लागि मेसिन, कपडा तथा अन्य सामग्री गरी प्रति व्यक्ति करिब १ लाख रुपैयाँका दरले कुल करिब ५ लाख रुपैयाँ खर्च भएको छ।
आई.एन.एफ. मुगुका प्रमुख जुवारीलाल कार्कीका अनुसार संस्थाले नगद सहयोगभन्दा पनि सीप विकासमार्फत आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। “हामीले हरेक वर्ष सिलाई कटाई, आरन, मिस्त्री, प्लम्बर, ड्राइभर, मोबाइल मर्मतजस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएका छौँ,” उनले भने।
उनले थपे, “तालिम लिएर सहभागीहरूले व्यवहारमा सीप प्रयोग गरी व्यवसायिक रूपमा आत्मनिर्भर बनेको देख्न पाएमा मात्र हाम्रो लक्ष्य पूरा भएको मानिनेछ।








