दुर्गा मावि, लाम्राको परीक्षा केन्द्रमा चरम लापरवाही: केन्द्रमै हरायो उत्तरपुस्तिका, फेरि कसरी भेटियो?
जुम्ला : यही चैत १९ गतेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई को पहिलो दिनमै जुम्लाको दुर्गा मावि, लाम्रा परीक्षा केन्द्रमा गम्भीर विवाद उत्पन्न भएको थियो। अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहँदा एक परीक्षार्थीको उत्तरपुस्तिका हराएको भनिएको घटनाले परीक्षा प्रणालीको निष्पक्षतामाथि प्रश्न उठाएको हो।
प्राप्त विवरण अनुसार सिम्बल नम्बर ०६३००५१५ (m) भएकी एक छात्रा नियमित तर्फतकी परीक्षाथी हुन। उनको परीक्षा कक्षमा गार्डका रूपमा खटिएकी शिक्षिका हरिदेवी रावलको उपस्थितिमा परीक्षा सम्पन्न भएको थियो। तर, परीक्षा सकिएपछि हाजिरी र उत्तरपुस्तिका गणना गर्दा एक कापी कम देखिएको थियो।
शिक्षिका रावलले आफूले कापी बुझाएको दाबी गरिन् भने सम्बन्धित छात्राले पनि उत्तरपुस्तिका बुझाएको बताएकी थिइन्। यद्यपि, कापी तत्काल फेला नपरेपछि परीक्षा केन्द्रले ती छात्रालाई पुनः घरबाट बोलाएको स्रोतले जनाएको छ।
एक स्रोतका अनुसार शिक्षक टेकबहादुर रोकायाको संलग्नतामा केन्द्राध्यक्षकै उपस्थितिमा छात्रालाई बन्द कोठामा राखी पुनः उत्तर लेख्न लगाइएको आरोप छ। सोही विद्यालयका कार्यालय सहयोगी सुर हमालले पनि “उत्तरपुस्तिका नभेटिएपछि विद्यार्थीलाई बोलाएर बन्द कोठामा लेख्न लगाइएको हो, पछि कापी भेटिएको भनियो,” भन्दै घटनालाई पुष्टि गर्ने खालको अभिव्यक्ति दिएका छन्।
त्यही केन्द्रका अर्का एक परीक्षार्थीले नाम नखुलाउने सर्तमा भने, “परीक्षा सकिएपछि ती छात्रालाई फेरि कोठामा लगेर ढोका बन्द गरी लेख्न लगाइएको थियो। पछि पुरानै कापी भेटिएको भनियो। विरोध गर्दा समस्या हुन सक्ने भएकाले हामी चुप लाग्यौं।”
यता, गार्ड शिक्षिका हरिदेवी रावलले भने आरोप अस्वीकार गर्दै भनिन्, “पहिले उत्तरपुस्तिका नभेटिएको हो, पछि अन्य कापीसँगै स्टिच गरिएको अवस्थामा भेटियो। विद्यार्थीलाई पुनः लेख्न लगाइएको होइन।”
यस विषयमा थप जानकारी लिन दुर्गा मावि, लाम्रा परीक्षा केन्द्रका केन्द्राध्यक्ष मुकुन्द शर्मालाई फोन सम्पर्क गर्दा उनले फोन नउठाएका हुन ।
घटनाबारे शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रछाने लोहार (रमेश) ले आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।उनले यस्तो कमजोरी र लापरवाही गरिएको भेटिएको खण्डमा कानुनी प्रक्रिया मार्फत उपचार गर्ने बताएका छन । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पनि घटनाबारे बुझ्ने प्रतिक्रिया दिएका छन्।
परीक्षा केन्द्रमै यस्तो विवाद हुनु गम्भीर विषय भएको भन्दै अभिभावक र विद्यार्थीहरूमा चिन्ता बढेको छ। निष्पक्ष र मर्यादित रूपमा सञ्चालन हुनुपर्ने एसईई परीक्षामा देखिएको यो घटनाले विश्वसनीयतामाथि प्रश्न उठाएको छ। यस्तो किन गरियो ,के कालागी गरियो भन्ने बिषयमा अब सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्य ,तथ्य सार्वजनिक गर्छन वा उनिहरुकै पक्षपोषण गरेर दबाईन्छ ,हेर्न बाँकी छ।








