महाकालीका विद्यार्थी र शिक्षकले पाए वित्तीय साक्षरता शिक्षा
मुगु:मुगु जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिका भित्र रहेको नमुना महाकाली उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक–शिक्षिकाले वित्तीय साक्षरता शिक्षा प्राप्त गरेका छन्।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय मुगुले बिहीबार एक कार्यक्रमको आयोजना गरी महाकाली उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० देखि १२ सम्मका १२५ भन्दा बढी विद्यार्थी, शिक्षक तथा शिक्षिकालाई बैंकिङ सेवासम्बन्धी वित्तीय साक्षरता शिक्षा प्रदान गरेको जनाएको छ।
पछिल्लो समय बैंकिङ प्रणाली प्रविधिमैत्री बन्दै गएको र नेपाल बैंक तथा राष्ट्रिय वाणिज्य बैंकले क्रमशः पेपरलेस सेवा विस्तार गरिरहेको सन्दर्भमा सेवाग्राहीलाई अझ बढी प्रविधिमैत्री बनाउन एटीएम, मोबाइल बैंकिङ, क्यूआर स्क्यान, ब्यालेन्स लोड, ब्यालेन्स चेक, अनलाइन कारोबार, रेमिट्यान्स लगायतका सेवाबारे जानकारी गराइएको थियो। साथै सुरक्षित कारोबार, आधिकारिक एपको प्रयोग, अपरिचित लिङ्कबाट बच्ने उपाय, गोपनीयता, पब्लिक वाइफाइ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा समेत प्रशिक्षण दिइएको थियो।
विद्यार्थीहरूले सिकेका कुराहरू घरपरिवार र आफन्तहरूलाई पनि सहज रूपमा जानकारी गराउन सकून् भन्ने उद्देश्यले पहिलो पटक महाकाली उच्च माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका प्रबन्धक मुन बहादुर बुढाले जानकारी दिए।
कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकका कर्जा इन्चार्ज आनन्द बहादुर शाहीले बैंक कर्जा (ऋण) लिने प्रक्रिया, ब्याजदर, कर्जाका प्रकार, कर्जा भुक्तानी गर्ने तरिका, समयमै कर्जा नतिर्दा लाग्ने जरिवाना, कालोसूची लगायतका विषयमा प्रशिक्षण दिएका थिए।
मोबाइलबाट रकम ट्रान्सफर गर्ने कुरा सुनेको भए पनि पूरा तरिका नबुझेको बताउँदै महाकाली उच्च माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा थापादेवी बढुवालले बैंकले दिएको वित्तीय साक्षरता शिक्षाबाट कर्जा, कालोसूची तथा अन्य बैंकिङ सेवाबारे उपयोगी जानकारी प्राप्त भएको बताइन्।
प्रविधिमैत्री समय बढ्दै गइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक शाखा मुगुले विद्यालयमै आएर विद्यार्थी तथा शिक्षकहरूलाई बैंकिङ सेवासम्बन्धी साक्षरता शिक्षा प्रदान गरेकोमा विद्यालय परिवारको तर्फबाट प्रधानाध्यापक खड्क बहादुर रोकायाले बैंक तथा बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे। साथै आगामी दिनहरूमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्न आग्रह गर्दै विद्यार्थीहरूले सिकेका कुराहरू घरपरिवार र आफन्तहरूलाई पनि जानकारी गराउन निर्देशन दिएका छन्।







