चन्दननाथ नगरपालिकाको दमकल मर्मतमा ढिलाइ,जनप्रतिनिधिको प्राथमिकता माथि प्रश्न


जुम्ला:जुम्लाको चन्दननाथ नगरपालिकामा गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा तोडफोड भएको दमकल लामो समयसम्म मर्मत नहुनु नगरपालिकाको जिम्मेवारी र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन ।स्थानीयका अनुसार नगर प्रमुख र उपप्रमुख चढ्ने सवारी साधन भने तत्काल मर्मत गरिए पनि दमकल प्राथमिकतामा नपरेको देखिन्छ । रावल वर्कशपका संञ्चालक बिन्दास रावलले नगरपालिकाको दमकल एक हप्ता अघि मात्रै आफ्नो ग्यारेजमा ल्याइएको जानकारी दिए । उनका अनुसार दमकलको अगाडी तिरको सिसा जडान भइसकेको छ भने बाँकी सामग्री मगाइएको छ।केही सामान बाहिरबाट मगाउनुपर्ने भएकाले तीन–चार दिन थप समय लाग्ने उनले बताए ।
त्यस्तै स्थानीय एक नागरिकले नगरपालिकाले नागरिकको सरोकारका विषयभन्दा आफ्ना जनप्रतिनिधिले प्रयोग गर्ने सवारी साधनलाई बढी प्राथमिकता दिने गरेको आरोप लगाए । आगलागी जस्तो संवेदनशील अवस्थामा प्रयोग हुने दमकल भन्दा व्यक्तिगत सुविधा अघि सारिनु दुर्भाग्यपूर्ण हो,उनले भने ।

त्यस्तै पूर्व जिल्ला विकास समितिका सभापति तथा राप्रपा नेपालका सहमहामन्त्री धनबहादुर थापाले जेनजी आन्दोलनमा क्षति पुगेका अन्य सवारी तुरुन्त मर्मत भए पनि दमकल नबनाइनु गैरजिम्मेवारी भएको बताए ।यदि अहिले नगरमा आगलागी भएको भए त्यसको जिम्मेवारी कसले लिने ?भन्दै उनले जनप्रतिनिधि नागरिक सेवा भन्दा आफ्नै लाभतर्फ केन्द्रित भएको आरोप लगाए ।

त्यस्तै, एमाले चन्दननाथ नगर कमिटीका अध्यक्ष रामराजा महतले पनि नगरपालिकाले दमकल मर्मतलाई जरुरी नठानेको टिप्पणी गरे । आफू चढ्ने गाडी एक हप्तामै बने,तर दमकल प्राथमिकतामा परेन उनले भने । उनका अनुसार यो प्रशासनिक र जनप्रतिनिधिको गम्भीर लापरबाही हो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य राजबहादुर खत्रीले दमकल मर्मत आम नागरिकको प्रत्यक्ष सरोकारको विषय भए पनि नगरपालिकाले त्यसलाई बेवास्ता गरेको बताए ।आफुले सेवा लिने गाडी प्राथमिकतामा परे,तर नगरिकको सेवा दिने दमकल परेन,उनले भने। यस विषयमा बुझ्दा चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथाले दमकल मर्मत प्रक्रिया मै रहेको बताए । उनका अनुसार नगरपालिकाका अन्य गाडीका सामान नेपालमै उपलब्ध भएकाले छिटो मर्मत सम्भव भएको हो ।तर दमकलको सिसा भारतको दिल्लीबाट ल्याउनुपर्ने भएकाले ढिलाइ भएको उनले स्पष्ट पारे ।कहिले सकिन्छ भन्ने ठ्याक्कै थाह छैन, तर हामीले प्राथमिकतामै राखेर बनाउदै छौँ,उनले भने ।
तर, ग्यारेज सञ्चालक रावलले भने दमकल मर्मतका लागि नगरपालिकाले एक हप्ता अघि मात्रै ल्याएको दाबी बताउछन । यसले नगरपालिकाको भनाइ र व्यवहारबीच अन्तर देखिएको छ ।

स्थानीय सरकार नागरिकको सुरक्षा र सेवाका लागि स्थापित संस्था हो । दमकल जस्तो अत्यावश्यक साधन मर्मतमा ढिलाइ हुनु केवल प्रशासनिक कमजोरी मात्र होइन, नागरिकको ज्यान र सम्पत्तिप्रति देखाइएको असंवेदनशीलता पनि हो ।

जनप्रतिनिधिले प्रयोग गर्ने सवारी साधन छिटो बन्नु र सार्वजनिक सुरक्षासँग जोडिएको दमकल पछि पर्नु स्थानीय सरकारको प्राथमिकता कहाँ केन्द्रित छ,भन्ने स्पष्ट संकेत हो।जुम्लाको मुटु मनिएको चन्दननाथ नगरपालिकाले यस्ता संवेदनशील विषयमा बहाना होइन, जिम्मेवार र समयमै निर्णय गरेर नागरिकको विश्वास कायम गर्नुपर्ने आबश्यक छ । अहिले दमाकल चन्दननाथ नगरपालिका ६ मा रहेको पुरानो बसपार्क नजिकै रावल वर्कशपमा थन्किएको छ ।

सम्बन्धित समाचार