हिमामा सार्वजनिक सुनुवाई नियमसम्मत गर्न सचेत युवाको माग
जुम्ला:हिमा गाउँपालिकाले कार्तिक ३० गतेका लागि तय गरेको सार्वजनिक सुनुवाई कार्यक्रम नियम विपरीत भन्दै सचेत हिमाका युवाले कार्यक्रम एक हप्तासम्म सार्न माग गरेका छन्। उनीहरूले गाउँपालिकाले कार्तिक २३ गतेको मिति राखेर जारी गरेको सूचना वास्तविक रूपमा कार्तिक २८ गते मात्र सार्वजनिक गरिएकाले न्यूनतम एक हप्ताको सूचना दिने प्रावधान उल्लङ्घन भएको आरोप लगाएका छन्।
सचेत युवाको तर्फबाट मनोज शाही र छानविन समिति संयोजक परेक आचार्यको समेत हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा भनिएको छ“कार्तिक ३० गते सार्वजनिक सुनुवाई गर्ने उद्देश्यले २८ गते अपरान्ह मात्रै सूचना जारी गरिएको देखिन्छ, जुन सूचना अवधि न्यूनतम एक हप्ता हुनुपर्ने नियमसँग मेल खाँदैन।
युवाहरूले छानविन प्रक्रियाको संवेदनशीलता हेरी कार्यक्रम एक हप्ता पछाडि सारेर पारदर्शी ढंगले सञ्चालन गर्न आग्रह गरेका छन्।
हिमा गाउँपालिकामा देखापर्दै आएका बेथिति तथा अनियमितताप्रति दबाब र खबरदारीपछि गठन भएको छानविन समितिले कार्तिक २५ गतेदेखि औपचारिक रूपमा काम सुरु गरिसकेको छ। सोही बेला सार्वजनिक सुनुवाईको सूचना ढिलो गरी आएको भन्दै समितिलाई समेत कार्तिक २८ गते साँझ ६:३७ बजे मात्र जानकारी गराइएको उनीहरूको दाबी छ।
सचेत हिमाद्वारा जारी विज्ञप्तिमा गाउँपालिकाको नियमित कार्यक्रमप्रति सम्मान जनाउँदै पनि छानविन प्रक्रियालाई प्राथमिकता दिन आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ– “सार्वजनिक सुनुवाइ कार्यक्रम न्यूनतम एक हप्ता पर सारेर सञ्चालन गरिए दुवै प्रक्रियाले एक-अर्कालाई बाधा नपारी व्यवस्थित र प्रभावकारी ढंगले अघि बढ्न मद्दत पुग्नेछ।”
युवाहरूले गाउँपालिकाबाट छानविन समिति सम्बन्धी कुनै आधिकारिक सूचना सार्वजनिक नभएकोप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। उक्त सूचना कार्यपालिकाको आगामी बैठक बसेको पहिलो घण्टाभित्रै सार्वजनिक गर्न माग गरिएको छ।
यसैबीच हिमा गाउँपालिका र सचेत युवाबीच भएको वार्तामा आगामी दिनमा गल्ती सच्याउने, समन्वय र सहकार्यको आधारमा अघि बढ्ने सहमति भएको जनाइएको छ। गाउँपालिकाले भने आफ्नो तयारीअनुसार कार्तिक ३० गते सार्वजनिक सुनुवाई गर्न योजना बनाइसकेको जनाएको छ।







