जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी
जुम्ला :जुम्ला जिल्ला कारागारबाट ३६ जना कैदी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार, हिजो राति (भदौ २४ गते) जेलबाट कैदीहरू फरार भएका हुन्। डिएसपी रेग्मीले बताएअनुसार केही कैदीहरूलाई भाग्नुअघि नै नियन्त्रणमा लिइएको भए पनि ३६ जना भने हालसम्म सम्पर्कमा आएका छैनन्।
प्रहरीका अनुसार, ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार, कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशंका गरिएको छ। घटनापछि स्थानीय सुरक्षाकर्मीहरूले खोजी अभियान तीव्र पारेका छन्।
काठमाडौँका केही कारागारमा जेनजी आन्दोलनको प्रभाव देखिए पनि जुम्लामा सोमबार भएको आन्दोलनले कारागारमा त्यस्तो कुनै प्रभाव रहेको थिएन । सोमबार राती कैदीहरूले प्रहरी माथि आक्रमण गरेर आफैँ बलपूर्वक फरार भएको प्रारम्भिक बुझाइ छ। हाल फरार भएका कैदीहरू कुन मुद्दामा कारागारमा थुनिएका थिए भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। घटनासँग सम्बन्धित थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।








