असहाय किशोरी जबर्जस्ती यौन धन्दामा, होटल सञ्चालक अझै नियन्त्रण बाहिर

जुम्ला : जुम्लामा असहाय र गरिबीका कारण परिवारबाट छुटिएका किशोरीमाथि होटल सञ्चालकले लामो समयदेखि यौन शोषण गर्दै आएको खुलासा भएको छ। चन्दननाथ नगरपालिका–४ खेलकुद समितिकाे कार्यालय नजिकै रहेको लक्ष्मण एण्ड मदन गेष्टहाउस सञ्चालन गर्ने हर्कवीर सार्कीले किशोरीहरूलाई प्रलोभन देखाउँदै जबर्जस्ती यौन धन्दामा लगाउने गरेको तथ्य सार्वजनिक भएको हो।

हिमा गाउँपालिकाकी करिब १७–१८ वर्षीया एक किशोरीलाई सार्कीले मासिक १० हजार दिने भन्दै तीन महिनादेखि शोषण गर्दै आएको खुलेको छ। यहि भदौ २१ गते राति करिब १२ बजे हाेटलमा आएका संग  यौन सम्पर्क गर्न नमानेपछि उनीमाथि बियरको बोतलले आक्रमण गरी कुटपिट गरिएको थियो। उनको आँखा टाउको सहित शरीरका विभिन्न भागमा गम्भीर चोट पुगेको र हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

भदौ २२ गते ‘दिमा आमा घर’ पुगेकी पीडितलाई प्रहरीकाे महिला सेलमा पुगाईएकाे थियाे ।तर  साे दिनकाे एक दुई घण्टा पछि  आश्चर्यजनक बेलुकी पुनः होटल सञ्चालकसँग पठाएको देखिन्छ। साेही हाेटलकाेे संञ्चालकले प्रतिष्ठानकाे ओसिएमसिमा मार्फत उपचार गराई हाेटलमै लिएकाे थियाे । भोलिपल्ट यहि भदाै २३ गते  दिउँसो फेरि महिला सेलमा राखेर बेलुकी दिमा आमा घरमा पठाइएकी किशोरीलाई अवस्था बिग्रिएपछि २४ बिहान गते अस्पताल भर्ना गरिएको थियो।

पीडित किशोरीले आफूसँगै गुठीचौर गाउँपालिकाकी अर्की किशोरीलाई समेत जबर्जस्ती यौन धन्दामा लगाइएको बताएकी छन्। उनले होटल सञ्चालकले धम्की दिँदै “प्रहरी मेरो पक्षमा छ, तेरो परिवारले मलाई केही गर्न सक्दैन” भन्ने गरेको खुलाएकी छन्। खाना मात्रै दिएर अन्य समयमा भाँडा धुने काममा लगाउने गरेको पनि उनको भनाइ छ।

यसअघि पनि सोही होटल सञ्चालकले सडकमा फेला परेका किशोरीलाई जबर्जस्ती होटलमा राखी यौन शोषणमा संलग्न गराएको छ। खुलायाम यस्तै कार्यभईरहदा समेत  सम्बन्धित निकायले कारबाही नगरेको स्थानीयवासीले बताएका छन्। अहिले पनि पीडित अस्पतालमा उपचाररत छिन् तर न प्रहरी प्रशासनले होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ, न त पीडितका आफन्तले आवाज उठाएका छन्।

दिमा आमा घरकी अध्यक्ष दिलमाया शाहीले यसलाई गम्भीर अपराध भन्दै चिन्ता व्यक्त गरेकी छन्। “घरपरिवारबाट छुट्टिएका असहाय किशोरीलाई जबर्जस्ती यौन धन्दामा लगाउनु मानव अधिकारको ठाडो उल्लंघन हो। तर राज्यका निकाय मौन रहनु अत्यन्त चिन्ताजनक छ,” उनले भनिन्।

स्थानीयवासीका अनुसार होटलमा यौन धन्दा चल्दै आएको सबैतिर थाहा भए पनि प्रहरी–प्रशासनको मिलेमतोका कारण अहिलेसम्म कानुनी कारबाही हुन सकेको छैन।