कर्णाली प्राकृतीक सम्पदाको खानी :अध्यक्ष तिमिल्सेना


सुर्खेत : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कर्णालीको प्राकृतीक सम्पदाको उपयोग गर्नसके देशकै मुहार फेर्न सकीने बताउनुभएको छ । कर्णाली प्रदेश सभाको चौथो अधिवेशनको २३ औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सेनाले कर्णाली स्थानीय उत्पादनको प्रयोग गरेर समृद्ध बन्ने सक्ने बताउनुभयो । प्राकृतीक सम्पदाको खानीको रुपमा रहेको कर्णाली प्राकृतीक सम्पदाले भरीपुर्ण प्रदेश भएकोले यसको उत्खनन् र ब्यवसायीकरण गर्नुपर्ने अध्यक्ष तिमील्सेनाको भनाइ छ । कर्णाली प्रदेशमा निर्मित विश्वविद्यालय, अस्पताल, सञ्चार र सडकको कनेक्टिभिटीलाई लोकतन्त्रको उपहारको रुपमा लिनुपर्ने उहांको भनाइ छ । कर्णालीमा पर्याप्त मात्रामा बिजुली उत्पादन गर्न सक्ने अवस्था रहेको समेत उहाले बताउनुभयो । स्थानीय जडीबुटी कौडीको भाउमा निर्यात गर्नुको साटो कर्णालीको विकासका लागि जडीबुटी प्रशोधन उद्योग खोल्न सरकारलाई उहांले सुझाव दिनुभयो । सिँचाइ, खानेपानी, माछापालन र पर्यटनलाई जरुरी परियोजनाको अभिन्न अंगको रुपमा लिएको खण्डमा विकासको प्रतिफल सोझै जनताको हातमा पर्ने उहाको भनाइ छ । सुर्खेत–जुम्ला सडक स्तरोन्नति गर्ने, कोहलपुर–सुर्खेत ४ लेन सडक बनाउने, सुर्खेत–सिमिकोट–हिल्सा सडक योजना बनाएको खण्डमा धेरैले वाह कर्णाली भन्ने दिन चाँडै आउने उहाले बताउनुभयो । उहाले विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागिता जुटाएको खण्डमा कर्णालीको विकास सम्भव रहेको बताउनुभयो । प्रदेशसभा बैठकमा सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री कार्यालयबाट भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पदमुक्त गरी मुख्यमन्त्रीले नै मन्त्रालय सम्हालेको प्राप्त पत्र पढेर प्रदेश सभालाई जानकारी गराएका थिए ।