यि कारणले कुटिन पुगेका थिए, प्रतिष्ठानका डाक्टर

जुम्ला : यति वेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टर कुटिएको घटनाले चर्चा पाएको छ।

प्रतिष्ठानले डाक्टर कुटिएको घटनाको अनुसन्धान हुन नपाउँदै केही फुटेज सार्वजनिक समेत गर्‍यो। त्यसपछि चिकित्सक समेत आन्दोलित भए। एक दिन सबै सेवा बन्द समेत गरे। त्यसको भोलिपल्ट पनि एक घण्टा डाक्टर कुटिएको विषय लिएर सेवा बन्द गरिएको थियो। अहिले घटना केन्द्रीय स्तरमा समेत पुगेको छ।

अस्पताल प्रशासनमा कार्यरत कर्मचारी धनबहादुर शाहीले डाक्टर करण शाहलाई कुटेको विषयमा जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता भई अगाडि बढेको छ। तर डाक्टरले ६ वर्षको बच्चालाई उपचार नगर्दा बालअधिकार हनन भएको विषय भने गुपचुप छ। त्यो दुखित घटना के हो? राज्यले अनुसन्धान त गरिरहेको छ। धनबहादुर शाही हिरासतमा छन्।

प्रतिष्ठानले उनलाई ४५ दिन निलम्बन गरिसकेको छ। अहिले घटना शुरुवात कसरी भएको थियो भन्ने विषय आमचासो बनेको छ। डाक्टर कुटिए तर किन र कसरी कुटिए भन्ने कुराको बहस हुन थालेको छ। शाहीकी श्रीमती आशा हमाल (शाही) भन्छिन्‚ ‘मेरा श्रीमान् प्रतिष्ठानका कर्मचारी भए पनि त्यो समयमा बिरामी छोरा लिएर उपचारका लागि गएका सेवाग्राही थिए।’

आफ्नै सहकर्मीको छोरा उपचारका लागि हारगुहार गर्नुपर्ने आवस्था आउने प्रतिष्ठानमा सर्वसाधारणलाई दिइने प्रतिष्ठानको सेवा कस्तो होला भन्ने विषयमा स्थानीयले प्रश्न गर्न थालेका छन्। उनी भन्छिन्, ‘अन्याय पोल्छ, न्याय बोल्छ’ भन्ने प्लाकार्डसहित उनीहरू आइतबार सडकमा उत्रिए। एक डाक्टरले बच्चालाई उपचार नगर्नु पनि अन्याय होला त। आशा भन्छिन्, ‘मेरो छोरा रातभरी पेट दुख्ने, टाउको दुख्ने भएको थियो। रातभर रोएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याइएको हो।’

सिसी टिभीको फुटेज अध्ययन गर्दा के छ त?

घटनाको क्रममा धनबहादुर शाहीले कुटेको दृश्यको भिडियो अहिले छताछुल्ल छ। उक्त घटनाको अग्रभाग र पछिको अवस्थाको करिब साढे नौ मिनेटको भिडियोमा हेर्दा चिकित्सक कुटिएका छन्। चिकित्सकमाथि हातपात हुनु राम्रो हैन। यसअघि बाहिरिएको फुटेज काटेर धनबहादुरले कुटेको मात्रै दृश्यमा सामाजिक सञ्जाल सहित काठमाडौंका केही मिडियामा देखाइएको छ। तर शुरुवाततिर कर्मचारी धनबहादुर र डाक्टर करणको अवस्थाको विषयमा हामीले प्रतिष्ठानको सिसी टिभीको पूरा भिडियोले अर्को दृश्य पनि देखाउँछ।

२०७९ साल भदौ २ गते बिहान धनबहादुर ६ वर्षीय छोरा तिर्थकविक्रम शाहीलाई लिएर प्रतिष्ठानको इमरजेन्सी कक्षमा छिर्छन्। धनबहादुरका छोरा तिर्थकले एशिया इन्टरनेशनल नामक बोर्डिङ स्कुलको पोशाक लगाएको देखिन्छ।

त्योभन्दा अगाडि डाक्टर करण मोबाइलको फोनमा व्यस्त देखिन्छन्। उनी हाँसीखुसी फोन गर्दै इमरजेन्सीका अन्य कर्मचारीसँग बोलिरहेको र कुनै उपचारमा व्यस्त नभएको र इमरजेन्सी वाड पनि खाली भएको भिडियो स्पष्ट देखिन्छ। इमरजेन्सी कक्षमा विरामी देखिँदैनन्।

प्रतिष्ठानबाट उपलब्ध भएको सिसी क्यामेराको भिडियोमा बिहान ९ बजेर १३ मिनेट ३० सेकेण्डमा धनबहादुर शाही छोरालाई लिएर इमरजेन्सीमा गएको देखिन्छ।  त्यो सिसी टिभीको अडियो नसुनिने भए पनि संकेतले उपचार गर्न अनुरोध गरिएको स्पष्ट छ। भिडियोमा डाक्टर करणले उपचार गर्न इन्कार गरेको संकेत पनि हेर्न सकिन्छ।

बच्चाको उपचारको विषयमा इन्कार भएपछि कर्मचारी धनबहादुर इमरजेन्सी कक्षको डेस्कबाट बाहिरिएका छन्। धनबहादुर बाहिरिएपछि सेतो एप्रोन लगाएकी एक नर्सले उपचार गर्न अनुरोध गरेको र डाक्टर करणले नर्सलाई कैंची निकालेर तपाईं काट्नुहोस भन्दै जिस्काएको दृश्य पनि देखिन्छ। त्यो कैंची मेडिकल कैंची पनि होइन।

तत्काल कालो ज्याकेट र सेतो मास्क लगाएका अर्का एक व्यक्तिसँग धनबहादुर ६ वर्षीय छोरासहित फेरि इमरजेन्सीमा आएको देखिन्छ। मास्क लगाएका व्यक्तिले पनि उपचार गर्न अनुरोध गरेको देखिन्छ। धनबहादुरले पनि अनुरोध गरेका छन्। सो कुरा भइरहँदा बच्चा भने टुलुटुलु हेरिरहेको देखिन्छ। यसपछि दुई पक्षबीच आक्रोश बढेपछि धनबहादुर शाहीले डाक्टर करणलाई हातपात गरेको देखिन्छ।

यस विषयमा बुझ्न खोज्दा प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावललाई पटक पटक फोन सम्पर्क गर्दा फोन समेत उठाएनन्। तर प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महत भन्छन्‚ ‘कुटिएको विषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले धनबहादुर शाहीलाई निलम्बन गरेको छ। छानबिन समिति समेत गठन गरिएको छ।’

उनले यस घटनाको विषयमा अनुसन्धान भइरहेकाले अरू कुनै प्रतिक्रिया दिन नमिल्ने बताए। प्रतिष्ठान स्रोतका अनुसार प्रतिष्ठानका डाक्टरले उपचार गराउन  आउने व्यक्तिसँग गरिएको व्यवहारको बारेमा पटक पटक प्रश्न उठ्ने गरेको छ।त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र चन्दले डाक्टर कुटिएको घटनाको बिषयमा अनुसन्धान भइरहेको बताए

सम्बन्धित समाचार