जुम्लामा पहिलो पटक लाइनमा ग्यास वितरण, उपभोक्ताको भिड

जुम्ला :जुम्लामा पहिलोपटक लाइनमा एलपी ग्यास वितरण गरिएको छ। कर्णाली राजमार्ग सञ्चालनमा आएपछि सामान्यतया सहज रूपमा ग्यास आपूर्ति हुँदै आएको जुम्लामा यसपटक भने ग्यास अभाव भएपछि लाइनमा बसेर वितरण गरिएको हो।

जुम्ला बसपार्कस्थित सडकमा उपभोक्ताहरूले लाइनमा बसेर ग्यास लिएका छन्। दिउँसो १२ बजेदेखि वितरण सुरु गरिएको ग्यास बोकेर आएको ट्रकबाटै उपभोक्तालाई उपलब्ध गराइएको हो। पहिलो दिन पाँच सय सिलिन्डर ग्यास वितरण गरिएको लगन स्टोर एन्ड सप्लायर्सका सञ्चालक पृथ्वीबहादुर शाहीले जानकारी दिनुभयो।

जिल्लामा ग्यास अभाव बढ्दै गएपछि सिधै डिलरबाट लाइनमा वितरण गर्दा उपभोक्ता ठगिने सम्भावना कम हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलका अनुसार आइतबार थप तीन सय ग्यास सिलिन्डर वितरण गरिनेछ। यस्तै बुढा जनरल स्टोरले पनि ग्यास बोकेको गाडी पठाइसकेको बताइएको छ।

जुम्ला सदरमुकाम खलंगामा मासिक करिब दुई हजार सिलिन्डर ग्यास आवश्यक पर्ने गरेको छ। हाल डिलरमा प्रति सिलिन्डर दुई हजार दुई सय रुपैयाँमा ग्यास वितरण भइरहेको छ भने आधा भरिएको सिलिन्डरको मूल्य एक हजार दुई सय रुपैयाँ तोकिएको छ।

ग्यास वितरण स्थलमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालय जुम्लामा निमित्त प्रमुख जिल्ला अधिकारी रावलको अध्यक्षतामा बसेको बैठकले एलपी ग्यासको अभाव हुन नदिन अभिलेख राखेर मात्र वितरण गर्नुपर्ने निर्णय गरेको थियो।