किशोरी माथि बलात्कारपछि हत्या भएको घटनामा कडा कारबाहीको माग
जुम्ला: नेपाल दलित मुक्ति मोर्चा जुम्लाले सुर्खेतमा एक किशोरीमाथि बलात्कारपछि हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मोर्चाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै २०८२ फागुन २३ गते सुर्खेत जिल्ला, भेरीगंगा नगरपालिका–१ मा बसोबास गर्ने १६ वर्षीया किशोरी इनिशा विकलाई भेरीगंगा नगरपालिका–४ स्थित शहीद पार्क नजिक जंगलमा लगेर बलात्कारपछि विभत्स हत्या गरिएको घटनाले आफूहरू स्तब्ध भएको छ।
घटनापछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सामूहिक बलात्कार र हत्याको किटानी जाहेरी दिएका थिए। सोही आधारमा आरोपितहरू अनमोल गौली, विपेश ढकाल, आशिष ढकाल र गोविन्द ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
तर आरोपितहरूलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिन खोजिएको आशंका मोर्चाले व्यक्त गरेको छ। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउन नेपाल सरकारसँग मोर्चाले जोडदार माग गरेको छ।
मोर्चाका जुम्ला जिल्ला अध्यक्ष चन्द्र बहादुर नेपालीले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।








