कार्यालय स्थायीको माग राखी चार महिनादेखि लगाइएको ताला खुल्यो


जुम्लाःजुम्लामा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा सरकारले खारेज गरेपछि चार महिनादेखि लगाइएको ताला खुलेको छ। सरकारले गत असार महिनामा जुम्लास्थित उक्त कार्यालय खारेजकाे  निर्णय गरेपछि त्यसको विरोधमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवाला निकायले कार्यालयमा तालाबन्दी गरेका थिए।अहिले फिल्ड कार्यालय रहेकाे छ । तत्कालीन समयमा प्रतिनिधिसभामा जुम्लाका सांसदहरूले सरकारको ध्यानाकर्षण समेत गराएका थिए। जिल्लादेखि सदनसम्मको निरन्तर पहलपछि सरकारले जुम्लालाई फिल्ड कार्यालयको रूपमा पुनः जिम्मेवारी दिएको थियो। तर स्थायी कार्यालय आवश्यक रहेको माग सम्बोधन नभएको भन्दै तालाबन्दी यथावत राखिएको थियो। पछिल्लो समय सेवाग्राहीका काम प्रभावित हुन थालेपछि ताला खोलिएको हो।

जिल्ला स्तरीय पहलकर्ता समूहको नेतृत्व गरिरहेका जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार कार्यालयका दैनिक काम काज अवरुद्ध भएपछि जनप्रतिनिधि र राजनीतिक दलसँगको सल्लाहमा ताला खोलिएको हो। फिल्ड कार्यालयका कर्मचारी खगेन्द्र भण्डारीले चार महिनादेखिका गुनासो बढ्दै गएकोले कार्यालय सञ्चालनको मागअनुसार ताला खुल्न सकेकोमा सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

नयाँ भवनमा भने ताला यथावत

जिल्ला समन्वय समितिका प्रमुख आचार्यका अनुसार बृहत् धौलीगाड खानेपानी आयोजनाको काम अवरुद्ध भएकाले उक्त आयोजनाको कार्य सुचारु नहुन्जेल नयाँ भवनमा लगाइएको ताला नखुल्ने छ। अन्य कार्यालय खुलेका भए पनि जुम्लामा स्थायी कार्यालय स्थापनाका लागि आवश्यक पहल निरन्तर जारी रहने उहाँले बताउनुभयो।

सम्बन्धित समाचार