काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन्।आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको दोहोर्याउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि आफूले राष्ट्रिय सहमति र सहकार्यमा जोड दिएको पनि स्पष्ट पारे।
लायन्स क्लव अफ इन्टरनेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान समस्याहरुको समाधानका लागि सरकारलाई साथ दिन निजी क्षेत्र, सामाजिक संघ, संस्था र नागरिक अगुवाहरुलाई समेत आग्रह गरे।
मुलुकमा विद्यमान निराशालाई चिर्दै अघि बढ्ने काममा सरकार लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यस काममा लायन्स जस्ता सामाजिक संघ, संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे।
उनले भने, ‘वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यको आधारमा देशमा विद्यमान आर्थिक, राजनीतिक चुनौतिहरु छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्प गर्दछ। मैले संकल्प गरेको छु कि तेस्रो मेरो कार्यकाललाई चुनौतिपूर्ण अवसरको रुपमा लिएको छु। तसर्थ, यस कार्यकालमा बदलिएको राजनीतिक व्यवस्थाअनुरुप जनताको अवस्था बदल्नु, निराशालाई चिर्दै देशमा आशाको रक्त सञ्चार सृजना गर्नु, राष्ट्रिय सहमति र सहकार्यका आधारमा चुनौतिहरुलाई अवसरमा बदल्नु मेरो दृढ संकल्प रहेको छ।’
प्रधानमन्त्री दाहालले दूरदराजमा रहेका विपन्न सबै समुदायसम्म पुगेर त्यहाँका युवाहरुको नेतृत्व विकास गर्नेगरी नीति, कार्यक्रम र कार्ययोजना बनाउन पनि लायन्स क्लबहरुको ध्यानाकर्षण गराए। लायन्स क्लवहरुले सहरमा मात्रै केन्द्रित नभई पछि परेका÷पारिएका युवाहरुलाई पनि अघि बढाउने गरी कार्यहरु अघि बढाउनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री दाहालले भने, ‘आजको विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यताअनुरूप यस्तो क्लवहरुले आफ्नो कार्यक्षेत्र र दायरा अझ फराकिलो बनाउन आवश्यक छ। यसका निम्ति सहर केन्द्रित सहर केन्द्रीत शैक्षिक युवकहरुमा मात्रै होइन। दूरदराजमा रहेका परिवर्तनप्रति अभिरुचि राख्ने सामाजिक रुपान्तरणको आन्दोलनमा योगदान पु¥याउन सक्ने विपन्न, सिमान्तकृत महिला, दलित, जनजाति, मधेशीलगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीहरुको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको पनि आवश्यक्ता छ। आगामी दिनमा यसमा लायन्सले समेत आफ्ना नीति, कार्यक्रम र कार्ययोजनामा उल्लेखित विषय सम्बोधन गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’
प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यताअनुसार सामाजिक संघ, संस्थाहरुले पनि आफ्नो कार्यक्षेत्रको दायरा फराकिलो बनाउन जरुरी रहेको समेत बताए। त्यस अवसरमा उनले विपदमा परेका बेला लायन्स क्लवहरुले खेलेको भूमिका प्रशंशनीय रहेको पनि बताए।