शिक्षक संघ जुम्लाको निर्वाचन प्रक्रियामा पार्टी नेताले हस्तक्षेप गरेको संगठनका नेताहरुको आरोप

जुम्ला । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति जुम्लाको नवौं अधिबेशनमा नेपाली काँग्रेस जुम्लाले ठाडो हस्तक्षेप गरेकोछ। फागुन २३ गते उद्घाटन गरिएको अधिबेशन फागुन २४ गतेनै निर्बाचन गराउने कार्यतालिका रहेपनि पाटीका जिल्ला स्तरिय केही नेताले हस्तक्षेप गर्दा निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन।

निर्वाचन समितिले फागुन २४ गते बिहान ९ बजे देखि निर्वाचन गर्ने कार्यतालिका राखेको थियो तर केही जिल्ला स्तरिय नेताहरुले निर्वाचन नगराउन दबाब दिएपछि हाल सम्म निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन।

जिल्ला अध्यक्ष पदमा ५ जना खगेश्वर आचार्य ,हमेन्द्र जंग शाही, जगत बहादुर शाही, नरेन्द्र महत र कुल बहादुर मल्लले उम्मेदवारी दिएकाछन । अध्यक्ष बाहेकका पदमा मनोनयन गरिएको लिष्ट यश अघि नै निकालिए पनि अध्यक्षको नाम लिष्टमा तोकिएकोछैन ।

निर्वाचन प्रक्रिया अघि बढाए पार्टीका केही नेताहरुले चाहेको ब्यक्ति अध्यक्ष नहुने निश्चित भएपछि जबर्जस्ती तोकेरै अध्यक्ष बनाउने रणनीतिमा पार्टीका नेताहरु रहेको नेपाली काँग्रेस जुम्लाका जिल्ला कार्य समिति सदस्य घनश्याम थापाले बताए।

स्वच्छ प्रतिस्पर्धा गरेरै अध्यक्ष बनाईनुपर्ने भन्दै अध्यक्षका उम्मेदवार हमेन्द्र जंग शाहीले प्रेस बिज्ञप्ति निकालेकाछन। विधान बिपरित बनाईएको निर्वाचन समिति र पार्टीका गुटमा रहेका नेताहरुले निरंकुश शैलिमा गरेको निर्णय आफुलाई मान्य नहुने विज्ञप्तीमा उल्लेख गरिएकोछ। पार्टीका केही नेताहरुले फरक ब्यक्तिलाई शिक्षक संघको जिम्मेवारी सुम्पिन चाहेकाले ठाडै हस्तक्षेप गर्न खोजिएको संघमा आबद्ध शिक्षकहरु बताउछन।

स्वच्छ प्रतिस्पर्धा नगरि आफू मुताबिकको मान्छेलाई टीका लगायर भातृ संगठनको नेतृत्व सुम्पने गलत अभ्यासका कारण नै संगठन कमजोर बन्दै गइरहेको अध्यक्षका उम्मेदवार हमेन्द्र जंग शाहीले बताएकाछन।