जुम्लाको ओदीमा खुला पुरुष भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार दुई लाखभन्दा बढी

जुम्ला: जुम्लाको हिमा गाउँपालिका २ ओदीमा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। लामा विष्णु युवा क्लबको सहजीकरणमा तथा हिमा गाउँपालिका र वडा नम्बर २ कार्यालय ओदीको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो।

विजयादशमी, शुभ दीपावली तथा लामा विष्णु देवताको पैठ (जात्रा) को अवसरमा आयोजना हुन लागेको प्रतियोगिता २०८३ साल कात्तिक ८ गते बिहान ८ बजेदेखि सञ्चालन हुनेछ। प्रतियोगिताका लागि टिम दर्ता कात्तिक ५ गतेदेखि ७ गते बेलुका ७ बजेसम्म गर्न सकिने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले रु. २ लाख २ हजार २२२, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टिमले रु. १ लाख १ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट लिफ्टरलाई समेत पुरस्कृत गर्ने व्यवस्था गरिएको छ। साथै, लाइभ आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क रु. ५ हजार ५५५ निर्धारण गरिएको छ। प्रतियोगिता हिमा गाउँपालिका–२, ओदीमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार खेलकुदको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत आपसी सद्भाव र एकता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिताका अध्यक्ष धिरेन्द्र बहादुर रोकाया, सचिव धिरबहादुर रोकाया र सल्लाहकार रंगबहादुर रोकाया रहेका छन्।

आयोजकले प्रतियोगितामा सहभागी भई खेलकुदको उत्सवलाई सफल बनाउन खेलाडी तथा खेलप्रेमीहरूलाई आग्रह गरेको छ। प्रतियोगिता कार्यक्रम स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र हामी सबैका लागि खेलकुद भन्ने मुख्य नारा रहेको छ ।सो प्रतियोगितामा देउडा खेलहरु पनि हुनेछ ।

सम्बन्धित समाचार