मुगुकी सरस्वतीको उद्धारमा जुम्लाका सरोकारवालाको संयुक्त पहल ,दिमा आमा घरले दियो,सुरक्षित आश्रय
जुम्ला :मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ निवासी सरस्वती परियार र उनका तीन नाबालक सन्तानको दयनीय अवस्थाबारे प्रकाशित समाचारपछि सरोकारवाला निकायहरू सक्रिय भएका छन्।
महिला जागरण अनलाइनले,‘गरिबी, अशिक्षा र बाध्यताको पीडा ,तीन सन्तानसहित सडकको संघारमा मुगुकी सरस्वती’ भन्ने शीर्षकको समाचार प्रकाशित गरेको थियो। समाचारमा सरस्वती परियार जुम्ला बजारमा एक व्यक्तिको घरको सानो कोठा भाडामा लिएर बस्दै आएको, तर कोठाभित्र ओढ्ने–ओछ्याउने पर्याप्त कपडा, खाद्यान्न तथा खाना पकाउने भाँडाकुँडा समेत नभएको उल्लेख गरिएको थियो। उनी आफ्ना साना बालबालिकासहित अत्यन्त कष्टकर अवस्थामा जीवनयापन गर्न बाध्य थिइन्।
बालबालिकाको सुरक्षा, संरक्षण तथा आधारभूत आवश्यकताको सुनिश्चितताका लागि सरोकारवालाहरूको अनुरोधमा सरस्वती र उनका दुई बालवालिलाई जुम्ला स्थित दिमा आमा घरमा अस्थायी रूपमा राखिएको दिमा आमा घर जुम्लाकी अध्यक्ष दिलमाया शाहीले जानकारी दिइन्। उनले त्यहाको स्थानिय सरकारले अर्काे ब्यवस्थापन नगरे सम्मका लागि उनिहरुलाई सुरक्षीत आवासको सुविधा दिने बताईन।
यस विषयमा २०८३ जेठ २१ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बैठक बसेको थियो। बैठकमा जिल्ला प्रशासन कार्यालय जुम्ला निमित्त प्रजिअ मिम बहादुर रावल,नेपाल रेडक्रस जुम्ला,दिमा आमा घर जुम्ला ,पत्रकार नेत्र शाही ,सर्वोदय नेपाल ,चन्दननाथ सहकारी संस्था ,सहित सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले सरस्वती परियार र उनका नाबालक छोराहरूको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न निर्णयहरू गरेको छ।
निर्णयअनुसार, सरस्वती परियार र उनका बालबालिकालाई केही समयका लागि सुरक्षित बसोबासको व्यवस्था दिमा आमा घरमार्फत गरिने भएको छ। खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको व्यवस्था सर्वोदय नेपालले गर्ने र सरस्वतीलाई रोजगारीको अवसर उपलब्ध गराउन चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थासँग समन्वय गरिने निर्णय गरिएको छ।
त्यसैगरी, सरस्वतीका श्रीमान् जसकर परियार हाल जुम्ला कारागारमा रहेको र उनी थुनामुक्त नभएसम्म परिवारको पालनपोषणमा कठिनाइ हुने भएकाले मुगु जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा सम्बन्धित स्थानीय तह छायाँनाथ रारा नगरपालिकासँग समन्वय गरी दीर्घकालीन व्यवस्थापनको पहल गर्ने निर्णय भएको छ।
त्यस्तै बैठकपछि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले मुगु जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्कीसँग टेलिफोनमार्फत समन्वय गरेका थिए। उक्त समन्वयपछि कार्कीले व्यक्तिगत रूपमा दुई हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए।भने स्थानीय महिला सरस्वती सिंहले पाँच सय रुपैयाँ नगद सहयोग पगरेकी थिइन्।
यसैबीच छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले सरस्वती परियारको जीविकोपार्जन सहज बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता फोन मार्फत व्यक्त गरेका छन्।
सरोकारवाला निकायहरूको संयुक्त पहलले सरस्वती परियार र उनका बालबालिकाको जीवनमा केही राहत पुगेको भए पनि दीर्घकालीन व्यवस्थापन, रोजगारी र सामाजिक पुनःस्थापनाका लागि थप सहयोग आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।








