दलित परिवारलाई शतप्रतिशत अनुदानमा बाख्रा वितरण

जुम्ला : कर्णाली  प्रदेश सरकारले विपन्न, गरिब तथा दलित समुदायको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरेको लक्षित कार्यक्रमअन्तर्गत मुगु जिल्लाका दलित परिवारलाई शतप्रतिशत अनुदानमा बाख्रा वितरण गरेको छ।

कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी विकास निर्देशनालयमार्फत सञ्चालित कार्यक्रमअन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुले छायाँनाथ रारा नगरपालिका–७, पिना साहनीबाडामा बसोबास गर्ने ३४ घरधुरीलाई प्रतिघर दुई वटाका दरले ६८ वटा बाख्रा तथा ४ वटा उन्नत जातका बोका वितरण गरेको छ। त्यस्तै, सोरु गाउँपालिका–६, पुरुमुरु गाउँका ४६ घरधुरीलाई प्रतिघर दुई वटाका दरले ९२ वटा बाख्रा र ४ वटा बोका वितरण गरिएको छ।

दुवै क्षेत्रमा गरी जम्मा १६० वटा बाख्रा र ८ वटा बोका वितरण गरिएको हो। उक्त कार्यक्रमका लागि करिब २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। निम्न आय भएका तथा आयआर्जनका स्रोत सीमित भएका परिवारहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढाका अनुसार मुगु जिल्लाको हावापानी र पर्याप्त चरन क्षेत्र स्थानीय रैथाने सिनाल तथा खरी जातका बाख्रापालनका लागि निकै उपयुक्त छ। अनुदानमा प्राप्त बाख्राको उचित व्यवस्थापन र पालनपोषण गर्न सके स्थानीय नागरिकले राम्रो आम्दानी गर्न सक्ने सम्भावना रहेको उनले बताए।

छायाँनाथ रारा नगरपालिका–७ की ईश्वरा साहनीले भनिन्, “हामीजस्ता आयआर्जनका स्रोत नभएका दलित परिवारलाई पशु अस्पताल तथा पशु सेवा कार्यालयले निःशुल्क दुई वटा बाख्रा उपलब्ध गराएको छ। यी बाख्राको राम्रोसँग पालनपोषण गरी घरपरिवारको आम्दानीको स्रोत बनाउने लक्ष्य लिएका छौँ।

त्यस्तै, स्थानीय जगत कुलालले सरकारबाट प्राप्त बाख्रालाई ‘बीउ पुँजी’का रूपमा प्रयोग गर्दै व्यवसायिक बाख्रापालनमार्फत जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

सरकारले शतप्रतिशत अनुदानमा उपलब्ध गराएको बाख्राको प्रभावकारी सदुपयोग गरी व्यवसायिक रूपमा अघि बढ्न स्थानीयवासीलाई प्रोत्साहन गर्न आवश्यक देखिन्छ। साथै, अनुदान वितरण गर्ने निकायले समय–समयमा अनुगमन, प्राविधिक परामर्श, तालिम तथा गोष्ठी सञ्चालन गरी बाख्रापालक किसानको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता समेत औँल्याइएको छ।