जुम्लामा १४ वर्षीया बालिकामाथि करणी, गम्भीर अवस्थामा उपचाररत
जुम्ला:सुर्खेतमा ईनिशा बिकमाथि बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कर्णाली प्रदेशको हिमा गाउँपालिकामा अर्को संवेदनशील घटना भएको छ। हिमा गाउँपालिका की १४ वर्षीया बालिका विगत एक हप्तादेखि गम्भीर अवस्थामा कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार रक्त छन्।
उनको निरन्तर यौनाङ्गबाट रक्तस्राव भएपछि उनलाई अस्पताल ल्याइएको हो। उपचारमा संलग्न ओसिएमसीका डाक्टर शम्भु कुमार यादवका अनुसार बालिकाको पेटमा करिब १६ हप्ताको गर्भ रहेको र गर्भ खस्ने अवस्थामा पुगेको थियो । अत्यधिक रक्तअल्पताका कारण उनको स्वास्थ्य अवस्था जटिल बनेको बताइएको छ।
पीडित बालिकाले दिएको जानकारी अनुसार करिब एक महिना देखि रगत बग्ने समस्या देखिएको थियो। अवस्था बिग्रिँदै गएपछि मात्र उपचारका लागि अस्पताल पुर्याइएको हो। बालिकाले भने अनुसार कनकासुन्दरी क्षेत्रका एक युवकले अभिभावक नभएको बेला घरमै जबरजस्ती करणी गरेका थिए।
गर्भपतन गराउने उद्देश्यले कुनै औषधि सेवन गराइएको हुन सक्ने आशंका गरिए पनि बालिकाले यसबारे स्पष्ट रूपमा केही बताएकी छैनन्। उनले आफूलाई दुराचार गर्ने व्यक्तिलाई भने चिन्नेकाे बताएकी छन्।
पीडितका बुवाका अनुसार आरोपित पक्षका आफन्तहरूले घटनालाई मिलापत्रमार्फत टुंग्याउन दबाब दिइरहेका छन।जसले न्याय प्रक्रियालाई प्रभावित पार्ने जोखिम बढेकाे छ। साथै, पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको र उपचार तथा कानुनी प्रक्रियामा कठिनाइ भइरहेको बताइएको छ।
यस घटना प्रति स्थानीय सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित निकायको सक्रियता कमजोर देखिएको छ। जिम्मेवार निकायले बालबालिकामाथि हुने यस्ता जघन्य अपराध रोक्न प्रभावकारी कदम नचालिएको गुनासो छ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालयले स्थलगत अवलोकन गरेको छ। आयोगले पीडितलाई न्याय दिलाउन, दोषीलाई कानुनी दायरामा ल्याउन र यस्ता घटनाको पुनरावृत्ति रोक्न सम्बन्धित निकायलाई प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ।
अस्पतालका अनुसार पिडित बालिकाको निःशुल्क उपचार, सुरक्षा, मनोसामाजिक परामर्श भइरहेकाे छ।





