जुम्लामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
जुम्ला: जुम्लाको सदरमुकाम खलंगामा बिहीबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
चन्दननाथ नगरपालिका–६, यातायात कार्यालय नजिक रोकिराखिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार राति करिब ९:३५ बजे भे ७ प २२२२ नम्बरको मोटरसाइकल रोकिराखिएको भे २ त १८६८ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक पातारासी गाउँपालिका–३, हुरी गाउँका ४५ वर्षीय जनबहादुर बुढाको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उपचारकै क्रममा बुढाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार झलक गिरीले जानकारी दिए।
सोही मोटरसाइकलमा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन् र हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचाररत छन्। प्रहरीका अनुसार उनको अवस्था पनि चिन्ताजनक रहेको छ।
दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
स्थानीयवासीका अनुसार दुर्घटना भएको यातायात कार्यालय वरिपरि सधैं सवारीसाधनको चाप रहँदै आएको र अव्यवस्थित पार्किङका कारण त्यहाँ सडक दुर्घटनाको जोखिम बढ्ने गरेको छ। उनीहरूले सो क्षेत्रमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा सुधार गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।







