अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश समिति अध्यक्षमा ललिता रेग्मी निर्वाचित हुनुभएको छ ।अ.ने.म.संघ कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट रेग्मी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँको नेतृत्वमा ९९ सदस्यीय कर्णाली प्रदेश समिति निर्वाचित भएको छ । संघको उपाध्यक्षहरुमा निर्मला विष्ट (रुकुमपश्चिम), गंगादेवी उपाध्याय (जुम्ला), देविका लामिछाने (जाजरकोट) र कृष्णकला शाही (कालीकोट) निर्वाचित हुनुभएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

त्यसैगरी, सम्मेलनबाट सचिव गीता तिमिल्सिना (सुर्खेत) र सहसचिवमा निर्मला बिसी (डोल्पा) चयन गरिएको छ । कोषाध्यक्ष समितिको पहिलो बैठकको निर्णयबाट चयन गरिने बताइएको छ । अध्यक्ष रेग्मीका अनुसार हालाई ८९ सदस्य चयन गरिएको र बाँकी १० सदस्य प्रदेश समितिको पहिलो बैठकबाट मनोनित गरिनेछ ।

नवगठित समितिले प्रदेशभरिका संगठनात्मक कामसहित आगामी कार्ययोजना बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन १४–१६ गतेसम्म सञ्चालन भएको अ.ने.म.संघको प्रथम प्रदेश सम्मेलनमा प्रदेशका दश जिल्ला गरी आठ सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको जनाइएको छ ।