कर्णाली राजमार्ग कि मृत्युमार्ग


जुम्ला। चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटिले कर्णाली राजमार्गमा अधिकांश सडक दुर्घटनाको मुख्य कारण भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाका प्रहरी साहयक निरीक्षक विमल कुमार रावतले बताए।
सडक दुर्घटनाका कारण जुम्लालगायत कर्णाली राजमार्गमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीको ज्यान जाने गरेको छ। तर, पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महत बताउँछन।
उनका अनुसार सडक दुर्घटना कम गर्न निरन्तर अभियानहरू चलाइरहेको दाबी गर्छन्। तर, ट्राफिक प्रहरीको विवरण हेर्ने हो भने जुम्लामा सडक दुर्घटनाबाट हरेक महिनामा औसतमा सात जनाको ज्यान जाने गर्छ। यस कारण सजिलै अनुमान गर्न सकिन्छ कि हरेक वर्ष सडक दुर्घटनाबाट हुने मानवीय क्षति बढ्दो छ।

तर, यस्ता दुर्घटनाको कारणप्रति कसैले पनि खासै चासो नराखेको उनको तर्क छ। ‘सडक दुर्घटनाको अनुसन्धान पनि हुँदैन कोही ठूलाबडा परिहाले भने अनुसन्धान हुने हो। त्यो पनि विज्ञहरू राखेर हुँदैन। त्यसले के प्रस्ट हुन्छ भने जुम्लामा मात्रै नभई देशमै सडक सुरक्षालाई राज्यले प्राथमिकतामा राखेको देखिँदैन,’ उनले भने।
उनका बुझाइमा सडक दुर्घटनाका लागि यान्त्रिक गडबडीभन्दा मानवीय कमजोरी सबैभन्दा बढी जिम्मेवार देखिने गरेका छन्। उनी भन्छन् ‘सडकमा टोल लगाएर भए पनि राम्रो सडक बनाए कम क्षति हुनसक्छ।’
सडक दुर्घटनाका प्रमुख कारण

सडक सुरक्षासम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा बर्सेनि बढ्दो सडक दुर्घटनाका कारण कर्णालीले सक्रिय रुपको ठूलो जनसंख्या गुमाइरहेको छ। जुम्ला सडक खण्डमा आर्थिक वर्ष २०७१–७२मा ६ वटा सवारी दुघर्टनामा २४ जनाको मुत्यु भएको छ भने ३४ जना गम्भीर घाइते भए ।
त्यस्तै २०७२–७३ सवारी दुर्घटनाबाट ६ जनाको मुत्यु भएको छ भने १७ जना घाइते भएको जिल्ला ट्रफिक कार्यालयको तथ्याङक छ। २०७३र७४मा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

२०७४–७५ मा १३ जनाको मृत्यु भयो भने २०७५–७६ मा २५ वटा सवारी दुर्घटना ६ जनाको मृत्यु र नौ जना घाइते भए। २०७६र७७मा १५ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो भने सात जना घाइते भए।
२०७७–७८ मा सवारी दुर्घटना ३२ वटा भएका छन्। जसबाट चार जनाको मृत्यु र ४० जना घाइते भए । चालु आर्थिक वर्षको हालसम्म सवारी दुघर्टनाबाट नौ जनाको मृत्यु भएको छ भने नौ जना नै घाइते भएका छन्। २०७१ सालदेखि हालसम्म सवारी दुर्घटनाबाट ७८ जनाको मृत्यु भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाले बताएको छ। त्यस्तै १२५ जना घाइते भएका छन।
ट्रफिक कार्यालय कर्णाली प्रदेशका अनुसार २०६६–६७ देखि चालु आर्थिक वर्षको हालसम्म ४३२ वटा सवारी दुर्घटना भएका छन। उक्त दुर्घटनाबाट १५५ पुरुष, ३१ जना महिला, १० जना बालक र एक बालिका गरी १९७ जनाको मृत्यु भएको ट्रफिक कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताए।
यो तथ्याङक कर्णाली राजमार्गको दैलेख , कलिकोट र जुम्लाको मात्र भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाका प्रहरी साहयक निरीक्षक विमलकुमार रावतले बताए।

उनका अनुसार सबैभन्दा दुर्घटना जुम्लाको कच्ची सडकमा हुने गरेको छ। कच्ची सडक त्यसैमा साँघुरो तीव्र गतिमा सवारी गुडाउने, सडकमा खाल्डो छल्न खोज्दा दुर्घटना हुने गरेको पाइन्छ।
सडक सुरक्षाका लागि चालक सबै हिसाबले योग्य र जिम्मेवार हुनुपर्छ भन्ने मान्यतासहित यातायात व्यवस्था विभागले २०६९ सालमा ‘व्यावसायिक सवारी चालक अनुमतिपत्र सम्बन्धी नियमावली’ को मस्यौदा बनाएको थियो। तर, २०७१ सालमा मन्त्रिपरिषद्बाट पारित भएर लागू गर्ने तयारी क्रममै नियमावली थन्क्याइयो।
यो त एउटा उदाहरण मात्र हो, सडक सुरक्षाका लागि नगरी नहुने समयानुकूल नीतिगत व्यवस्थासहित सुरक्षाको प्रणाली बनाउने काम नै नहुँदा दिनानुदिन दुर्घटना बढिरहेका छन्। जसमा नागरिकहरूले अनाहकमा ज्यान गुमाउनुपरेको छ।
डकको स्तर, बिद्धी नहुदा यात्रुलाई सस्ती

चन्दननाथ नगरपालिका ८ तलिमका काली बहादुर धराला ७० वर्षका जेष्ठ नागरिक हुन । उनी दमका रोगी थिए । उनी नेपागञ्जमा उपचार गरायर जिपको टिकट काटेर जुम्ला फर्किदै थिए । कालिकोटको सुनार खोलामा उनी चढेको जिप भन्दा अगाडी गुडेको बसको तेल सकियो । बसको तेल सकिएको कारणले सबै यात्रु सडकमै बस्नु पर्ने अबस्था आयो । साँघुरो सडकका कारण अरु कुनै उपाय थिएन । एक त ७० वर्षका जेष्ठ नागरिक उसै माथी बिरामी उनी उभिने अबस्थामा थिएनन । साँघुरो सडकका कारण जिप क्रस गरेर जान सक्ने अबस्था दिइन । उनी चिसोले थरथर काम्न थाले । उनले भने घरमा नपुगदै बाटोमै चिसोले मर्छु जस्तो भयो । उनी मात्रै होइन उनी जस्तै. कर्णाली राजमार्गमा गाडीको यात्रा गर्ने धेरै नागरिकले सास्ती पाउदै आएका छन।

त्यस्तै सुर्खेत देखी जुम्लाको लागी गाडीको यात्रा गर्दै आएका तुलाराज रावल एक दिन बाटोमै बास बस्नु बाध्य भए । साँघुरो सडकका कारण एक गाडी बिग्रदा एक दिन बाटोमै बास बस्नु परेको उनी बताउँ छन। उनले भने, वर्षौ पिछे सडक मर्मतको नाममा बजेट छुट्याएको हुन्छ । तर कर्णाली राजमार्गमा एक गाडी बिग्रेको खण्डमा सडक जाम हुन्छ । गाडी ओरदोहोर गर्ने सडक समेत बनेको छैन । ्
सवारी दुर्घटना नहुन पनी कसरी

 

सवारी दुर्घटनाको प्रमुख कारण चालकको कमजोरीपछि सवारी साधनको अवस्था, सडकको स्तर, सडक प्रयोगकर्ता, मौसम र दुर्घटनापछिको व्यवस्थापनले भूमिका खेलेको देखाएको छ ।सडक सुरक्षा मुख्य गरी चालक,सवारी साधन र सडकसँग जोडिने विषय हो । तर, यी तीनवटै पाटा चुस्तदुरुस्त छन÷छैनन् भनेर हेर्ने संयन्त्र र यिनलाई सुयोग्य अवस्थामा राख्ने प्रणाली राज्यले बनाएकै छैन ।जसलाई मौसमी रूपमा गरिने सचेतना अभियान र प्रचारात्मक कार्यक्रमले ढाक छोप गरिन्छ । मृत्युमार्गका नाममा परिचित कर्णाली राजमार्गमा अझै पनि दुर्घटनामा कमी आएको पाइँदैन। कर्णालीका नागरिक जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन्।

साँघुरो सडक भएका कारण सवारी ओहोरदोहोर गर्न कठिन हुने गरेको दैलेखका जिपचालक दिपेन्द्र थापामगरले बताए । उनले भने, ’कर्णाली राजमार्ग उसै पनि जोखिम छ । सडक स्तरोन्नति नहुँदा जोखिमपूर्ण अवस्थामा गाडी गुडाउनुपर्ने बाध्यता छ।उनले भने ,गाडी एक आपसमा पास गर्ने ठाउँ साँघुरो छ। म कर्णाली राजमार्गमा गाडी चलाउन थालेको एक दर्शक भइसक्यो । तर सडकको अबस्था फेरीएको छैन ।
सवारी जाँच्ने प्रणाली छैन

 

दुर्घटनाका कारणलाई आँखा चिम्लिदिने यातायात क्षेत्रभित्रको अर्को समस्या हो, दुर्घटनाको कारणबारे हचुवामा गरिने ‘रिपोर्टिङ’ । विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरीसँग कुराकानी गर्दा अनुमान र अन्दाजका भरमा दुर्घटनाको कारण उल्लेख गर्ने गरेको बताएका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, जुम्लाका साहयक प्रहरी निरीक्षक बिमल कुमार रावत भन्छन्,“सही ठाउँमा ब्रेक नलाग्दा दुर्घटना भएको भन्ने त हेरेर पनि थाहा हुन्छ । उनले भने प्रहरीलाई सवारीको अवस्था जाँच्ने उपकरण नभएकाले सामान्य सोधपुछबाट दुर्घटनाको कारण पत्ता लगाउनुपर्ने बाध्यता रहेको छ । तर जुम्लामा मात्रै नभइ नेपाल भरी सडक दुर्घटनाको कारण पत्ता लगाई हरेक सवारी दुर्घटनामा यान्त्रिक गडबडीबारे पत्ता लगाउन उपकरण मार्फत जाँच गर्न आबश्यक छ ।

सम्बन्धित समाचार