एमालेले अन्य दल र नागरिक समाजसँग संवाद गर्ने

१४ चैत, काठमाडौं । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा जनमत तयार पार्न नेकपा एमालेले अन्य राजनीतिक तथा नागरिक समाजसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको छ ।

ओली पक्राउ परेको केही घण्टापछि शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सबै दल, नागरिक समाज आम जनतासँग सहकार्य गर्ने निर्णय गरेको हो ।कार्की आयोगको प्रतिवेदनको आधारमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि एमालेको आकस्मिक बैठक बसेको हो ।

बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको एमालेले जनाएको छ । साथै, नागरिक समाज र आम नागरिकसँग सहकार्य गर्ने निर्णय पनि भएको छ । पक्राउ परेका ओली स्वास्थ्य जाँचको क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा छन् ।