जनवर्गीय संगठनमा भागबन्डा नमिल्दा फेरि लम्बियो नेकपाको एकता

काठमाडौँ, १८ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सांगठनिक एकीकरण प्रक्रिया फेरि लम्बिएको छ । केही दिनमै सम्पन्न गर्ने भनिएको एकीकरणका बाँकी काम टुङ्ग्याउन नेताहरुलाई हम्मेहम्मे परेको छ । जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको एक वर्ष पुग्दैछ । त्यसअघि एकीकरणका सबै काम टुङ्ग्याउनुपर्ने दबाब नेताहरुलाई छ ।
नेकपाले सांगठनिक एकीकरणमा सबैभन्दा कठिन मानिएको जिल्ला कमिटीका अध्यक्ष र सचिवको नामावली टुंगाएपनि एकीकरणका धेरै काम बाँकी नै छन् । वैशाख ८ गतेको सचिवालय बैठकले जिल्ला अध्यक्ष र सचिवको नामावली टुङ्ग्याएपछि बिना बिलम्ब पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्य्विभाजन र जनवर्गीय संगठनको एकीकरण गर्ने निर्णय गरेको थियो ।
तर, वैशाख ११ गते वरिष्ठ नेता माधव कुमार नेपाल चीन भ्रमणमा गए । चीनबाट आइतबार नेपाल फर्किएका नेता नेपाल सोमबार फेरि अमेरीका प्रस्थान गरेका छन् । उनी वैशाख २१ मा नेपाल फर्किदैँ छन् । पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठका अनुसार त्यसअघि सचिवालयको बैठक बस्ने सम्भावना कम छ ।
त्यसबाहेक सरकारले २० गते नीति तथा कार्यक्रम संसदमा पेश गर्दैछ ।
त्यसको तयारीमा प्रधानमन्त्री व्यस्त हुनु परेकाले एकता प्रक्रिया लम्बिएको दावी नेताहरुको छ । तर, स्रोतका अनुसार एकता प्रक्रिया लम्बिनुको प्रमुख कारण जनवर्गीय संगठनको भागबन्डामा विवाद रहेको बताइएको छ । प्रवक्ता श्रेष्ठ भने विवादको कारण त्यो नभै गृहकार्यमै रहेको हुँदा एकता केही दिन ढिला हुन गएको बताउँछन् ।
‘विवादको कारण होइन । पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको कार्य्विभाजन र जनवर्गीय संगठनको एकीकरणलाई प्राथमिकतामा राखेर गृहकार्य भैरहेको छ । त्यसबाहेक अरु सबै सांगठनिक एकीकरणका काम पनि सँगै गर्ने गरी प्रारम्भिक छलफल अगाडि बढेको छ, प्रवक्ता श्रेष्ठले भने, ‘माधव कमरेड अमेरीकाबाट फर्केपछि सचिवालयको बैठक बस्छ । त्यहाँ यस विषयमा छलफल हुन्छ र लगत्तै स्थायी कमिटीको बैठक बस्नुपर्ने आवश्यकता पनि छ ।’
यसअघि आइतबार एकीकरणका बाँकी काम टुङ्ग्याउने गरी सचिवालयको बैठक बस्ने भनिएको थियो । तर, स्रोतका अनुसार केन्द्रीय सदस्यको कार्य्विभाजन र जनवर्गीय संगठनमा भागबन्डा नमिलेकै कारण आइतबार बस्ने भनिएको सचिवालय बैठक बस्न सकेन ।
सोमबार अनौपचारिक बैठक त बस्यो तर त्यहाँ एकीकरणको विषयले भने प्रवेश पाएन । सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमबारे पार्टीसँग सुझावका लागि मात्रै प्रधानमन्त्रीले बैठक आह्वान गरेका थिए । सरकारले २० गते आगामि नीति तथा कार्यक्रम संसदमा पेश गर्दैछ ।
बैशाख ८ गतेबसेको सचिवालय बैठकमा मुख्यत पोलीटव्यूरो गठन, जनवर्गीय संगठन र केन्द्रीय सदस्यको कार्य्विभाजन लगाएत अन्य संगठन एकीकरणको प्रस्ताव तयार गर्न जिम्मेवारी अध्यक्षद्वयलाई थियो । स्रोतका अनुसार दुई अध्यक्षबीचमै सहमति जुट्न सकेको छैन । स्रोतका अनुसार जेठ ३ अगाडि एकताका सबै काम टुङ्गिने सम्भावना कम छ ।

जनवर्गीय संगठनको भागबन्डामा सहमति हुन सकेन

स्रोतका अनुसार पोलिटव्युरो गठन, जनवर्गीय संगठनबारे आ–आफ्नो ढङ्गले प्रधानमन्त्री ओली र प्रचण्डले प्रस्ताव तयार गरेका छन् । २१ जनवर्गीय संगठनमध्ये मुख्य त विद्यार्थी, यूवा, महिला र मजदुरमा दुवै पक्षका आ–आफ्नै दावी छन् ।
पूर्व माओवादीले विद्यार्थी, मजदुर, महिला र युवामध्ये दुई लिने अडानमा छ । तर, स्रोतका अनुसार प्रधानमन्त्री ओलीले चार वटै संगठनमा आफ्नो दावी छोडेका छैनन् । युवा र विधार्थीमा मध्ये एक साथै मजदुर र महिला संगठनमध्ये एकमा पूर्व माओवादीको पनि दावी कायमै छ । जसले गर्दा दुई अध्यक्षबीचमै सहमति हुन सकेको छैन ।
त्यसबाहेक वरिष्ठ नेता नेपाललाई पनि सहमतिमा ल्याउन दुई अध्यक्षले गृहकार्य गरेका छन् । नेता नेपाल फर्कियलगत्तै त्रीपक्षीय छलफल पछि एकीकरणको प्रस्ताव सचिवालय बैठकमा पेश गर्ने तयारी अध्यक्षद्वयको छ । तर, जनवर्गीय संगठनमै कुरा नमिलिसकेको कारण केन्द्रीय तहमा रहने विभाग गठन लगाएतका अन्य कामबारे नेताहरु छलफलमा प्रवेशनै गरेका छैनन् ।

एकीकरणका धेरै काम बाँकी छन्

त्यसो त तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतो एक बर्ष पुग्नैलाग्दा नेकपाले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गर्यो । त्यसबाहेक अरु महत्त्वपूर्ण मानिएको जनवर्गीय संगठनको एकीकरण र ४४१ केन्द्रीय सदस्यको कार्य्विभाजन टुङ्ग्याउन धेरै सकस परेको छ ।
त्यस्तै विधान, केन्द्रीय आयोगहरुको गठन, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चको गठन, राष्ट्रिय परिषदमा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरुको एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवं मञ्चहरुको एकीकरण र केन्द्रीय तहमा रहने विभागहरुको गठन पनि हुन सकेको छैन । यसबाहेक राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने काम पनि सकिएको छैन ।
यो बीचमा नेकपाले दुई अध्यक्ष तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा पौडेल र श्रेष्ठलाई पार्टी प्रवत्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठन र ७७ जिल्ला अध्यक्ष र सचिव टुंगाएको छ ।

श्राेत राताेपाटी

सम्बन्धित समाचार