सृजनशील कर्ममा आाधारित शिक्षा, समाज र भविष्य

जुम्ला : विद्यालय भित्रको प्राङ्गणमा बिरुवा रोपर नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते प्रारम्भ गरेका छौ । सृजनशील सोच र असल कर्मद्धारा प्रारम्भ गरिएका हरेक दिनहरु सुखद् र अर्थपूर्ण हुनेमा कुनै सन्देह छैन । खोटरहित सोच र कर्मले अनुमानित कुराको भ्रमलाई च्यातेर वास्तवकितालाई उजागर गर्नेमा अँझ बढी दृढ छौं ।

गएको २०८० साल विद्यालय निर्माणमै बित्योे । धेरै साथीहरुले भन्ने गर्थे, विद्यालय बनाईरहेका रहेछौ ? तर मैले केही उत्तर दिईन । यद्यपि उक्त वर्ष निर्माण कार्यमा रमाउँदै खुसीका साथ सबैसँग भेटघाट गर्दै भलाकुसारी मै बित्यो । आफ्नो कर्ममा क्रमभंग नहुने गरी सो क्रममा भएका त्रुटि सच्याएर अगाडि बढ्ने सिकाई र प्रेरणा दुवै मिल्यो ।

विद्यालय निर्माण गर्नु भनेको समग्र समाज निर्माण गर्नु हो भन्ने कुरा सबैले बुझ्न आवश्यक देखिन्छ । सतहीरुपमा हेर्दा सानो लागेपनि कुनैपनि मुलुक निर्माणको जग हो विद्यालय जसलाई मिनि समाजका रुपमा अथ्र्याउन सकिन्छ । जहाँ विभिन्न वर्ग, क्षेत्र, जातजाति र सोचहरुको प्रतिनिधित्वसहित एकत्रित हुन्छ । बालबालिकाले प्राप्त गरेको शिक्षा नै हाम्रो समाज निर्माणको पहिलो आधारशीला हो । जसको निभमा समाजको भविष्य खडा भएको पाईन्छ ।

त्यसैले यिनै विविधतामा एकता ल्याई सृजनशील ज्ञान र शिक्षा प्रदान गर्नु आफैमा चुनौतिपूर्ण कुरा हो । समग्र समाजको हित र प्रगतिका लागि यो एउटा यस्तो उत्पादन केन्द्र हो, जसभित्रबाट प्रतिभाहरु जन्मिने गर्दछन र यो उत्पादन केन्द्र खराब भए यसैबाट अपराधीहरु पनि पैदा हुन सक्छन् । त्यसैले यस्तै उत्पादन केन्द्रमा कर्म गरिरहदा मैले यो संवेदनशीलतालाई राम्रोसँग बुझ्ने अवसर पाएको छु ।

बालबालिकाहरुलाई पढाउनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ तर कसरी पढाउनुपर्छ भन्ने कुरा यत्रतत्र अभाव देखिन्छ । विद्यालय स्थापनाको आठ वर्षको अवधिमा यस्ता चुनौति र प्रश्नहरुले मलाई घेरिरहे तथापि गत वर्ष वर्ष भरि यी यस्ता गम्भीर प्रश्नहरुको उत्तर र समाधान दिन सक्ने क्षमता र ज्ञानसम्ममा पुग्न सफल भयौं । त्यसैले पनि २०८० साल हाम्रा लागि ज्ञानवद्र्धक बन्यो ।

हाम्रो मौलिकपन र स्थानीय स्रोत साधनको उपयोग भन्दा आयातित विदेशी जीवनशैलीले बालबालिकाहरुलाई परनिर्भर बनाईरहेको छ । कक्षामा प्रथम वा उत्तीर्ण हुनुलाई नै शिक्षा प्राप्त गरेको भन्ने भ्रमपूर्ण बुझाईका कारण जीवन उपयोगी कला, सीप र ज्ञानबाट बालबालिकाहरु कटिरहेका छन । उपभोक्तामा आधारित खरिद बिक्रीको सिद्धान्तका कारण शिक्षाको मोलमोलाई भईरहेको देख्दा प्रेरणा, समर्पण र योगदान जस्ता महत्वपूर्ण कुराहरु विद्यार्थीहरुबाट हराउदै गएको छ ।

सबैलाई आ–आफ्ना बालबालिकाका लागि गुणस्तरीय शिक्षा आवश्यक छ भन्ने कुरा थाहा छ तर आफन्त, छिमेकी, नातापाता र राजनीतिक सम्बन्ध जस्ता विविध कारण अभिभावकले असल शैक्षिक संस्थाको छनोट गर्न सहि निर्णय लिन सकिरहेका छैनन् । अभिभावहरुको सहि निर्णय अभावकै कारण आज धेरै बालबालिकाहरु सामाजिक अपराध र लागुऔषध जस्तो घातक समस्याको खाडलमा कहिल्यै ननिस्कने गरी फसिरहेका छन् ।

विद्यालय तथा गुरुहरु असल नहुन पनि सक्छन् भन्ने सोच सबैले राख्न आवश्यक देखिन्छ । अभिभावकले आफ्नो निर्दाेष बालबालिकालाई कस्तो संस्कार र वातावरणमा शिक्षा दीक्षा दिने प्रबन्ध कस्तो हुनुपर्छ भन्ने सवालमा गम्भीर बन्न नसकेको अनुभूति हुन्छ । शिक्षा क्षेत्रमा विकृति फैलिनुमा अभिभावक स्वयम् पनि जिम्मेवारी रहन्छ यद्यपि सम्बन्धित सरोकारवालाहरु यसमा अँझ बढी जिम्मेवार देखिन्छन् । अपितु, शिक्षा क्षेत्र र समाजको मनोविज्ञानमा भएका जटिल समस्याहरुको शल्यक्रिया गर्न आवश्यक देखिन्छ ।

समाजकै उत्कृष्ट जनशक्तिहरु मध्य अब्बल र बौद्धिक क्षमताको परिभाषाभित्र शिक्षक वा गुरुहरु नै पर्दछन् । बिडम्बना ! गुरुहरूको क्षमता किताबी घेराभित्र सीमित र परीक्षा केन्द्रित दृष्टिकोण भन्दा माथि उठेको पाईदैन । दूरदृष्टि र सृजनशील क्षमता राख्न नसक्दा उच्च प्रतिष्ठाको यो उपाधि र सम्मान सामाजिक दृष्टिबाट लोप हुँदै गहिरहेको छ । जुन कुरा धेरै नै दुःखद् र सोचनीय हो । समाजमा यी र यस्ता प्रश्नहरुको उत्तर खोज्न सक्नु नै असल नागरिक र अभिभावकका गुण हुनेछन् ।

हरेक विद्यार्थीले तीन प्रकारको विद्यालयबाट शिक्षा ग्रहण गरिरहेको हुन्छ । जुन पहिलो विद्यालय घर र पहिलो गुरु अभिभावक नै हुन्छ । दोस्रो विद्यालय समाज र त्यहाँको वातावरणीय संस्कार एवं जनजीवन नै दोस्रो गुरु हुन्छ । तेस्रो भनेको स्वयं अध्ययन गरिरहेको विद्यालय तथा त्यहाँ व्यवस्था गरिएका शिक्षक वा गुरुहरु र त्यसभित्रको वातावरण हुन्छ ।

पहिलो पाठशाला घर र अभिभावक

आज समाजले बालबालिकामा गरिएको लगानीको महत्व बुझ्न सकिरहेको छैन । जसका कारण आफुले माया गरेर हुर्काएको मुना जसको तोतेबोलीमा संसारकै सुख महसुस हुने गर्दछ । उसको पहिलो पाईलामा अभिभावकले आफ्नो र समाजको भविष्य देख्दछ । तर ती निश्चल र कलिला मुनाहरु स्वयं अभिभावकको गलत निर्णय, जीवनशैली र संस्कारका कारण घरबाटै सिध्दिरहेका छन् जुन कुरा स्वयम् अभिभावकले बुझिरहेका छैनन् ।

दोस्रो पाठशाला समाज

आधुनिकताको नाममा परनिर्भर, श्रृङ्गारिक र कृत्रिम जीवनशैलीले गिजोलिएको समाजमा बालबालिकाले प्राकृतिक र कर्ममा आाधारित ज्ञान पाउने आशा नै गर्न सकिदैन । समाज बिग्रियो भनेर सबैले भनिरहेको यत्रतत्र सुनिन्छ तर आफैले समाज बनाउनुपर्छ भन्ने मूल विचार प्रयोगमा ल्याउनुपर्दछ भन्ने कुरा कतैबाट पनि सुनिदैन ।

हाम्रो समाज हामी आफैले निर्माण गर्नुपर्दछ भन्ने सोचको विकास नभएसम्म एक निर्दाेष बालक घरबाट बाहिर निस्कँदै गर्दा कुरुप सोचले जकडिएको सामाजिक पञ्जाले उसको उज्ज्वल भविष्यलाई चिथोर्छ । उसको असंख्य प्रतिभालाई दबाउछ र एक कुख्यात अपराधी निर्माण गर्छ । तत्पश्चात् हामी दिल खोलेर भन्छौ, समाज अपराधको अखडा भयो । अनि बचेका केही प्रतिभालाई विदेशी भूमिमा बेचिन बाध्य बनाउँछौं ।

तेस्रो पाठशाला विद्यालय

शिक्षा र ज्ञानमा फरक हुन्छ ? शिक्षाले नेपाली, अंग्रेजी, विज्ञानबारे सिकाउने गर्दछ भने विद्याले जीवन र जगत्को नेतृत्व गर्दछ । त्यसैले ज्ञानको नेतृत्व गर्न सक्ने क्षमता र मर्म भएका शैक्षिक संस्थाहरु अहिलेको यो कर्पाेरेट युगमा पाउन जटिल देख्दछु । जहाँ नाफा खोजिन्छ त्यहाँ स्मार्टपन त भेटिएला तर प्राकृतिकपन भेटिन्छ भन्नेमा म आशावादी छैन । प्रतिस्पर्धा त भेटिएला तर सृजनशीलता भेटिन्छ भन्नेमा मैले विश्वास गर्दिन ।

त्यसैले जुन शैक्षिक संस्थामा असल कर्म, आविष्कार र सृजना जस्ता महत्वपूर्ण ज्ञानको सुगन्ध आउदैन, त्यहाँ शिक्षा त पाईएला तर ज्ञान पाईन्छ भन्ने कुरामा म सहमत छैन । करोडौं लगानी गरिएका शैक्षिक संस्था नै नेपालको ठूलो र राम्रो भन्ने गलत भाष्य छ । राम्रो त्यो हो जसले असल विचार र सोच लगानी गरिरहेको हुन्छ चाहे त्यो भौतिक रुपमा सानै किन होस् ।

राज्य एवं त्यसको नेतृत्व गर्ने कुनैपनि सरकारले भौतिक संरचना निर्माणलाई मात्र विकासको मानक ठान्नु भूल हुन्छ । आदर्श समाज, आत्मनिर्भरतामा आधारित अर्थतन्त्र एवं उत्पादन र नैतिकवान् चरित्र निर्माण गर्न असल सोच र विचार जन्माउन सरकारले लगानीमा विशेष जोड दिनुपर्दछ ।

अन्त्यमाः यी यस्ता अनुभव र भोगाईबाट प्राप्त शिक्षाकै कारण मैले भन्ने गरेको छु, “कक्षा कोठामा प्रथम हुनु नै सर्वथा होईन । जीवनमा प्रथम हुने शिक्षा र विद्याको लागि खोज अनुसन्धान गरौं । विद्यार्थीले भलै नेपाली, अंग्रेजी, विज्ञान बिगारुन् तर हामी सबैमा जीवन नबिगार्ने शिक्षाको खोजी गर्ने हुटहुटी अबको २०८१ सालले प्रकट गर्नेछ । यसैको सुमधुर विद्यामय धुनसँगै हामी निर्वाध अगाडि बढनेछौँ ।

यस बिद्यालयले दिएको सिपमूलक पठन पाठनले देशभित्रै रोजगारी सिर्जना गरी आर्थिक–सामाजिक विकासमा ठुलो फड्को मार्ने छ । शिक्षा भनेको विदेश पलायन हुने लाइसेन्स होइन, स्वदेश बनाउने जिम्मेवारी हो भन्ने बुझ्न र बुझाउन सकिने छ । समयको माग र आवश्यकता यही हो ।

(लेखक मनोज बुढाथोकी मगर एशिया ईन्टरनेश्नल माेडेल ईङ्लिस स्कुल जुम्लाका संस्थापक हुुनु।)

सम्बन्धित समाचार