तोड्नै पर्ने श्रीमानको ज्यादती र माइतीको मौनता


जुम्ला : दानसरा रावत २०८० वैशाख १९ गते घरबाट हराउनुभयो । त्यसको ११ दिनपछि तिला नदीमा उहाँको शव भेटियो । जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ पछाइबाडाकी २३ वर्षीया उहाँको मृत्यु रहस्यमय भएको भन्दै छानबिनका लागि आफन्तको तर्फबाट किटानी जाहेरी दिन खोजियो ।स्थानीय सरकारको सुरक्षा अङ्गका रूपमा रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरीले भने जाहेरी लिनै मानेन । ‘पहिले शव पोस्टमार्टम गरी बुझेर लिएपछि मात्रै किटनी जाहेरी लिने’ जवाफ प्रहरीले ती आफन्तलाई दियो ।

मृतकका आफन्त हरिबहादुर रावत भन्नुहुन्छ, “त्यो जाहेरीमा आशङ्का लागेका दुई जनाको नाम थियो । त्यहाँ प्रहरीले जाहेरी लिन मानेकै थिएन । किटानी जाहेरी दिए तपाईंको आफन्तको शव कसले बुझ्छ अनि काजकिरिया कसले गर्छ ? भन्ने प्रहरीको दबाब थियो ।”उहाँका अनुसार, जाहेरीमा राखिएको नाम हटाए मात्रै जाहेरी दर्ता गर्ने कुरा प्रहरीले पटक–पटक दोहो¥याई रह्यो । कानुनतः पीडितले आशङ्का गरेका व्यक्तिको नाममा किटानी गरी जाहेरी दिन पाइन्छ । दानसराको मृत्युको छानबिनका हकमा यो कुरा सहजै लागु भएन ।

दानसराको माइतीघर तिला गाउँपालिका वडा नम्बर २ लर्मी हो । दानसरालाई पतिका घरपरिवारका अरू सदस्य मिलेर हत्या गरेका हुन् भन्ने दाबी माइती पक्षको छ । “सबैको दबाबले जाहेरी दर्ता त भयो तर प्रहरीका मुद्दा फाँटकाले त्यो नाम केरेर हटाउन लगाए,” हरिबहादुर भन्नुहुन्छ ।

जानकारहरूका अनुसार, प्रहरीलाई पीडित पक्षसँग यसरी खेल्न पाउने मौका जुम्लाको संस्कारले दिएको छ । जुम्लामा बिहे भएकी छोरीको मृत्यु भएमा माइती पक्षले दाहसंस्कार गर्न नमिल्ने भनी पन्छिने चलन छ । “जुम्लाको प्रहरीले माइती पक्षले शव बुझ्न नमिल्ने भन्ने संस्कार थाहा नपाएको होइन तर उसले त्यसैमा खेल्न खोज्यो र तत्काल किटानी जाहेरी लिन मानेन” हरिबहादुरको बुझाइ छ । घटनालाई मानव अधिकारका कोणबाट हेर्नेहरूको विश्लेषणमा त झन् घरबाट हराएर ज्यान गइसकेकी एक महिलाको मृत्युको कारणबारे छानबिन गराउन पाउने अधिकारको विरुद्धमा उभिएर प्रहरीले सम्भाव्य पीडकको पक्षपोषण गर्न खोजेको देखियो ।

हरिबहादुर भन्नुहुन्छ,“हामीलाई कि छोरीको शव आफैँ जलाउनु होस् कि पीडकविरुद्ध जाहेरी नदिनुहोस् भनियो ।”त्यसपछि आफूहरूले दानसराको मृत्यु रहस्यमय भएको भन्दै प्रहरीले किटानी जाहेरी नलिएसम्म शवको पोस्टमार्टम नै गर्न नदिने अडान लिएको उहाँ बताउनुहुन्छ । माइती पक्षको यस्तो अडानकै कारण दानसराको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा तीन दिनसम्म यसै रहिरह्यो । जाहेरी दर्ता विवादका कारण शव भेटिएको तीन दिनसम्म पनि पोस्टमार्टम हुन नसकेको माइती पक्षको भनाइ छ ।

जुम्लामा विवाहित महिलाको रहस्यमय मृत्युपछि छानबिन होस् भनेर सबै माइती पक्ष यति सशक्त ढङ्गले उभिएको पाइँदैन । हरिबहादुरका अनुसार, जाहेरी दर्ता भएको भोलिपल्ट मात्रै दानसराको दाहसंस्कार पोइली पक्षका परिवारले गरेका हुन् ।

जुम्लाकै तिला गाउँपालिका वडा नम्बर ४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले कुटपिट गरी २१ वर्षीया श्रीमती ममता नेपालीको हत्या गरेको घटना २०७९ फागुन २७ गते थाहा भयो । एक हप्ता पहिले नै हत्या गरी शवलाई घरमै राखेको कुरा आइतेले प्रहरीसँगको प्रारम्भिक बयानमा बताएको जनाइएको छ । प्रहरीका अनुसार, ममताको शव कुहिएको अवस्थामा रहेको थियो । जुम्लामा दानसरा र ममता मात्रै होइन, खोजिपस्ने हो भने श्रीमान  घरपरिवारको ज्यादतीका कारणबाट अरू पनि धेरै युवतीहरूको रहस्यमय ढङ्गले मृत्यु भएको भेटिन्छ । अचेल काम विशेषले गाउँ गाउँमा पुगेका पत्रकार र महिला अधिकारकर्मीलाई भेटे र विश्वास गर्न सकिने पनि छन् भनेर चिने भने स्थानीय महिलाहरूले सम्बन्धित घरलाई नै देखाएर घरेलु हिंसाका कारण युवतीको अकाल मृत्यु भएको घटना सुनाउन थालेका छन् ।

यसै क्रममा एउटै श्रीमानबाट तीन–तीन जना महिलाहरू प्रताडित भएर दुई जना मारिएका र एक जना जलाइएर पनि बाँच्न सफल भएका घटनाहरू खुल्न आएका छन् । घटना चन्दननाथ नगरपालिकाको हो । घटना विवरण अनुसार, चन्दननाथ नगरपालिका दशगैरागाउँका क्षेत्रबहादुर खत्रीसँग ओखलढुंगाको बलखु गाबिस हाल सुनकोसी गाउपालिका दुइकी सन्जिता तामाङको विवाह भएको थियो । त्यो क्षेत्रबहादुरको तेस्रो विवाह थियो । क्षेत्रबहादुर र सन्जिताका एक छोरी र एक छोरा भए । छोरी करिब चार वर्ष र छोरा साढे दुई वर्षका हुँदा सन्जिताले आफ्नो ज्यान नै गुमाउनुप¥यो ।

स्थानीयहरूका अनुसार, मृत्युअघि सन्जिताले चन्दननाथ नगरपालिका वडा नम्बर ५ जुगाडखोला नजिकै काठको टहरामा श्रीमान्सँगै खाजा पसल सञ्चालन गर्दै आइरहनुभएको थियो ।उहाँलाई श्रीमान्ले रक्सी खाएर दिनहुँजसो कुटपिट गर्ने गरेको हल्ला बजारभरि फैलिने गरेको थियो । २०७९ असोज ११ गतेको राति श्रीमान्ले बियरको बोतलले सन्जितालाई हिर्काएपछि उहाँ बेहोस भएर ढल्नुभएछ । श्रीमान्ले उहाँलाई उपचारका लागि जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपछि प्रतिष्ठानको एकद्वार सङ्कट प्रणाली (ओसिएमसी)मार्फत आइसियुमा राखेर सन्जिताको उपचार गरियो ।

प्रतिष्ठान सूत्रले जनाए अनुसार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ दिनसम्म राखेर उपचार गर्दा पनि सन्जिताको स्वास्थ्यमा सुधार नभएपछि नेपालगन्जस्थित भेरी अस्पतालको ओसिएमसीमा रिफर गरिएको थियो । त्यहाँ २०७९ कात्तिक ११ गते ३२ वर्षीया सन्जिताको मृत्यु भएको जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशी बताउनुहुन्छ ।

“सन्जिताको माइतीघर ओखलढुङ्गाको साबिक बलखु गाविस, हाल सुनकोसी गाउँपालिका वडा नम्बर २ मा रहेछ,” प्रहरी निरीक्षक धर्मराज भन्नुहुन्छ, “यसैले सन्जिताका श्रीमान्विरुद्ध माइती पक्षलाई इमेलमार्फत जाहेरी दिन लगाएर पक्राउ गरेका थियौँ।”

मृत्युको कारण र माइती पक्षको उजुरीबारे थप तथ्यहरू खुलाउँदै धर्मराज भन्नुहुन्छ, “पक्राउ परेपछि श्रीमान्ले सुरुमा त लडेर गम्भीर चोट लागेको बताएका थिए तर उनी बस्ने काठको एकतले टहरा थियो । त्यहाँ चोट लाग्ने गरी लड्न सक्ने अवस्था थिएन ।” उहाँका अनुसार, उपचारकै क्रममा एक महिनापछि भेरी अस्पतालमा सन्जिताको मृत्यु भएको थियो तर पनि त्यतिबेला मृतक सन्जिताका माइती पक्ष टाढा भएकाले तत्काल उहाँका श्रीमान् क्षेत्रबहादुर खत्रीविरुद्ध उजुरी परेको थिएन ।

स्थानीयका अनुसार, क्षेत्रबहादुरको ज्यादतीका कारण उहाँकी जेठी श्रीमती कल्पना मल्लले पनि ज्यान गुमाउनुपरेको थियो । कल्पनाबाट क्षेत्रबहादुरका दुई छोरी छन् । उहाँको माइतीघर बाँकेको नेपालगन्ज हो । कल्पनामा मुटुको समस्या देखिएपछि क्षेत्रबहादुरले दोस्रो बिहे गरेको, समयमै कल्पनाले बहुविवाहको उजुरी दिए पनि कारवाही हुन नसकेको र सौतेलो व्यवहारको पीडाले कमजोर मुटु भएकी कल्पनाको मृत्यु भएको स्थानीयको आरोपसहितको विश्लेषण छ ।

घटना विवरण अनुसार, क्षेत्रबहादुरको दोस्रो बिहे चन्दननाथ नगरपालिका वडा नम्बर ४ सिंगाचौरकी हिरू सार्कीसँग भएको थियो । हिरूकी आमा माया सार्की भन्नुहुन्छ, “क्षेत्रबहादुरले २०७० सालमा सहकारीमा जागीर खाँदै गरेकी हिरूलाई भगाएका थिए ।” हिरूले पनि आफूमाथि हत्या प्रयास भएपछि सोही वर्ष क्षेत्रबहादुरको साथ छाडिसकेको उहाँ बताउनुहुन्छ ।

जेठी श्रीमती कल्पनाले क्षेत्रबहादुर र हिरूविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिए पनि उनीहरू सँगै रहेको जनाउँदै माया भन्नुुहुन्छ, “तर, पछि खत्रीले हिरूमाथि कुटपिटसमेत गर्न थालेपछि नेपालगन्ज पठाएँ । नेपालगन्जबाट उनीहरू भारत गएछन् ।

भारतमा खत्रीले हिरूमाथि मट्टितेल छर्केर आगो लगाएछ ।” उहाँका अनुसार, आगजनीको घटना २०७० भदौ ६ गतेको हो ।

हिरूलाई भारत लगेर क्षेत्रबहादुरले मट्टितेल छर्केर जलाउन खोजे पनि भागेर भारतमै उपचार गर्नका लागि माइतीको साथ सहयोग पाएकाले मात्र उहाँ बाँच्न सफल भएको देखिन्छ । हिरू बिरामी भएको थाहा पाएपछि आफूले साढे तीन लाख रुपैयाँ लिएर भारत गएको माया बताउनुहुन्छ । “जलेर घाइते भएकी छोरीलाई भारतको गोर्कणेश्वर हस्पिटलमा उपचार गरेको थियो र सात दिनपछि मात्रै होस आएको थियो,” उहाँ भन्नुहुन्छ । मायाका अनुसार, करिब तीन महिनाको उपचारपछि २१ कात्तिकमा हवाइजहाजमा राखेर हिरूलाई जुम्ला ल्याइएको थियो । स्थानीयका अनुसार, हिरूको शरीर र मुखमा जलेको गहिरो चोट अझै छ ।

विवाहित छोरी मरेपछि …

बिहे गरेर पठाइसकेकी छोरीको माइती पक्षले दाहसंस्कार गर्न नमिल्ने र उनको शव जलाएको धुवाँ देखे अनिष्ट हुन्छ भन्ने सांस्कृतिक मान्यता जुम्लामा छ । यही कारण पनि अहिलेको भौतिकवादी परिवेशमा जुम्लामा श्रीमान्को ज्यादतीबाटै महिलाको ज्यान जाने क्रम बढ्दो छ । यसको विरुद्धमा महिलावादी दृष्टिकोणबाट जनमत तयार हुँदै गर्दा जुम्लामा ‘माइतीलाई छोरीको ज्यानभन्दा प्यारो उनीहरूको गलत संस्कार लाग्छ’ भन्ने व्यङ्ग्यात्मक भाष्य पनि चल्न थालेको छ ।

जुम्लामा दिन प्रतिदिन श्रीमान्बाट पाउने शारीरिक, मानसिक यातनाले कतिपय महिलाहरू आफैँ मृत्युको बाटो रोज्न बाध्य छन् । अकाल मृत्युको कारण खोजेर त्यसको निराकरण गर्नभन्दा ढाकछोप गर्ने र घरपरिवारले शव बुझेर जलाइहाल्ने प्रवृत्तिले प्रश्रय पाएको छ ।

केहीलाई आत्महत्या गरेको भनेर पोस्टमार्टमको लागि ल्याउने गरेको पनि सम्बन्धित क्षेत्रबाट थाहा हुन्छ । कतै आत्महत्याको दुरुत्साहन पो भएको थियो कि भनेर ऐनमौकामा प्रश्न उठाउनुपर्ने ‘माइती पक्षले शव जलाएको हेर्न नहुने’ मान्यताको खोल ओडेर आँखा चिम्लने र पानीमाथिको ओभानो हुन खोज्ने गरेको देखिन्छ ।

परिवारमा किचलो भइरहने र श्रीमान्ले ज्यादती गरिरहने पृष्ठभूमिलाई हेर्दा महिलाको अकाल मृत्युका पछाडि आशङ्का गर्न सकिने ठाउँहरू स्पष्ट देखिन्छन् । पछाडि फर्किएर ज्यादतीपूर्ण घटनाका शृङ्खलाहरूलाई जोड्दै जाने हो भने प्रमाणहरू पनि भेटिन्छन् ।तर जानकारहरू भन्छन्, केहीलाई मारेर नदीको किनारमा फाल्ने र आफैँ डुबेर मरेको भन्ने गरिए पनि अधिकांश घटनामा माइती पक्ष मौन रहने गरेको र पोइली पक्षले आफ्नो सनातन ज्यादतीलाई लुकाउने गरेको अवस्था छ । कतिपय घटनामा माइती पक्षले दाहसंस्कार गर्न नमिल्ने संस्कारको आडमा अन्तिममा प्रहरी कार्यालयमा भवितव्यसम्बन्धी उजुरी दिने गरेका पनि पाइन्छ । कतिपय मृतक महिलालाई माइती पक्षले वास्ता नगर्दा घरतिरका नातेदारले ‘बेवारिसे शव’ भनेर जनाउने गरेको पनि बताइन्छ । यसैले जुम्लामा श्रीमानकाे ज्यादतीबाट मारिएका धेरै महिलालाई मृत्युपछि माइतीले दिलाउनसक्ने न्यायका लागि पनि पहल नगरेको भनी चर्चा हुन थालेको छ ।

स्थानीयहरूका अनुसार, कुनै महिलाको ज्यान गइसकेपछि श्रीमान्ले श्रीमती मा¥यो रे भनेर बजारमा हल्ला आउँछ तर माइती पक्षले न्यायको लागि लडेको खबर आउँदैन । यसको बदलामा शव पोइली पक्षले बुझे, मिलापत्र भयो भन्ने खबर सुन्नुपर्छ । सुन्नेहरू मृतकमाथि अन्याय भएको ठान्छन् । माइती पक्षलाई छोरीको ज्यानभन्दा पनि विभेदकारी संस्कार पो प्यारो हुँदो रहेछ भन्ने बुझ्छन् । कतिपय छोरीमान्छहरूले त आफूले आफूलाई नै धिक्कार्नसमेत पुग्छन् । यसले अहिलेको लैङ्गिक समतावादी युगमा पनि जुम्लाका छोरीहरूमाथि जन्मदिने अभिभावकहरूबाटै असीमित भेदभाव हुने गरेको पुष्टि गर्दछ ।

जुुम्लामा जन्मँदाको लिङ्ग अनुपात असन्तुलन पनि देखिन थालेको छ । यो विभेदपूर्ण लिङ्ग छनोटको सङ्केत मात्र होइन, लैङ्गिक असमानताको पराकाष्ठा पनि हो । गर्भ परीक्षण गराएर अनिच्छित गर्भका रूपमा तुहाएर छोरीलाई जन्मनै नदिनेहरूका कुरा छाडौँ । जसोतसो जन्मिन पाएका छोरीहरूमाथि पनि जन्मिएकै क्षणदेखि सुरु हुन्छ, लैङ्गिक भेदभाव । बर्थिङ सेन्टरमा सुत्केरी हुन गएको दिनदेखि नै सुरु हुन्छ, जन्मदिने आमा र जन्मिएकी छोरीमाथिको लैङ्गिक विभेद ।

चन्दनाथ नगरपालिका महिला शाखाका साहयक महिला बिकास निरीक्षक पुष्पा थापा भन्नुहुन्छ ।  “छोरा वा छोरी दुवै बराबरी भन्न थालिएको धेरै भयो तर, यो भनाइ समाजमा अझै लागु हुन सकेको छैन ।”

यस्तो पनि देखिन्छ, एकातिर श्रीमतीले शिशु जन्माएर प्रसूतिपछिको पीडाबाट गुज्रिइरहेका बेला अर्कोतिर बाबुको नाम लिएर ‘फलानाको छोरा भयो’ भन्दै अबिर जात्रा गर्न अस्पतालमै पुग्छन् एकथरी मानिसहरू । त्यस्तो बेला सुत्केरी र शिशुको स्वास्थ्य अवस्था बुझ्नु त कहाँ हो कहाँ साँझ परेपछि बाबु निकट पुरुषहरूबिच ‘छोरा जन्मेको’ भनेर पार्टी सुरु हुन्छ । महिलाको दृष्टिकोणबाट यो प्रजनन स्वास्थ्यको विशेष अवस्थाप्रति पुरुषहरूबाट गरिएको अत्यन्तै असंवेदनशील र भेदभावपूर्ण व्यवहार मात्र होइन, भद्दा मजाक पनि हो ।

सामान्यतः जुम्लामा छोरा जन्मिएको नौ दिनमा न्वारन गरिन्छ र खसी काटेर आफन्तलाई भोज दिने प्रचलन पनि छ । “अचम्मको प्रचलन छ यहाँ, छोरा जन्मिए हर्षबढाइँ गर्ने चलन छ भने त्यही आमाको कोखबाट जन्मिएकी छोरीको १० दिनमा नुवारण गरिन्छ,” चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखाका महिला बिकास निरीक्षक पुष्पा थापा भन्नुहुन्छ । छोरीमाथिको नकारात्मक विभेद यत्तिमै सीमित छैन । यो त सुरुआती चरण मात्र हो । उहाँका अनुसार, छोरी ठुली हँुदै जाँदा उसको पढाइलेखाइलगायतका सबै कुरामा विभेद गरिन्छ । बिहेपछि घरघरमा महिलालाई छोरा नै जन्माउन पर्दछ भनेर परिवार र समाजबाट उच्च दबाब दिने गरिन्छ । यसले महिलाहरूको स्वास्थ्य र सन्तान छनौटको अधिकारलाई असर गरेको र महिलामाथि हिंसासमेत निम्त्याउने गरेको उहाँको अवलोकनपूर्ण विश्लेषण छ ।

समाज र संस्कृतिका जानकारहरूका अनुसार, महिला तथा किशोरीलाई अवमूल्यन गर्ने यसखालको व्यवहारको जरा सम्बन्धित समाजको परम्परागत सोचसँग सम्बन्धित छ । यसले संस्कृति र अर्थतन्त्रलाई नै गहिरो रूपमा पकडिएर मानिसको व्यवहारलाई परिचालित गरिरहेको छ ।

जुम्लाका स्वास्थ्य चौकीहरूमा सुत्केरी गराउँदै आएका अनमीहरूको अवलोकनमा छोरी जन्मिए अभिभावकहरूले निन्याउरो मुख लगाउने गर्दछन् । “हरेक दम्पतीलाई छोरा अनिवार्य चाहिन्छ । छोराकै लागि भ्रूण जाँच गर्न चाहने धेरै छन् । छोरी जन्मिएमा सुत्केरीलाई वास्ता गरिँदैन । तर, छोरा जन्मिएमा अरूसँग सरसापट गरी मिठो मसिनो खुवाउने चलन छ ।” नाम नबताउने सर्तमा एक जना अनमी भन्नुहुन्छ ।

विभेदकारी मान्यता र चालचलनले थिचेपछि पाको उमेरमा पनि महिलाहरू निरीह हुन पुग्छन् । उनीहरूलाई थाहा छ, छोरालाई जन्म दिने जुन आमाबुबा हुन् छोरीलाई जन्म दिने पनि उनै आमाबुबा हुन् । यो पनि उनीहरूलाई थाहा छ, गर्भमा रहने समय अवधि छोरी र छोरा दुबैको बराबर हुन्छ । तर, लैङ्गिक समानताको लागि हस्तक्षेपकारी भूमिका छैन । जन्मिएपछि वा नजन्मँदै पनि लिङ्ग पहिचान भएपछि छोरीमाथि अमानवीय तरिकाले समेत विभेद किन र केका लागि गरिन्छ ? यसको जवाफ खोज्न सकिरहेका भेटिँदैनन् यहाँको गाउँमा जन्मेहुर्केर पाको उमेर भइसकेका महिलाहरू पनि  छोरीभन्दा छोरालाई बढी मान्यता र प्राथमिकता दिने पुरातनदेखिको सोच र कुसंस्कारका कारण विभेद भइरहेको छ । विभेदकै कारण युवतीहरू श्रीमान्को ज्यादती खेप्न बाध्य छन् । अकाल मृत्युको कारणसमेत भइरहेको यस्तो विभेदपूर्ण मान्यता र चालचलनलाई जरैदेखि तोड्नुपर्छ भन्ने सन्देश दिन राज्यका तर्फबाट पनि ढिला भइसकेको छ ।

‘बेवारिसे’ नबनाऔँ छोरीलाई

छोरीलाई माइती पक्षले कन्यादान गरेर विवाह गरी पठाउँदा एक छाक खाना र नुन छोड्ने नेपाली परम्परा र मान्यता कुनै नौलो होइन । जुन दिन छोरीलाई पराइको घर पठाउन माइतीघरका बाबु भए बाबु र नभएको खण्डमा दाजुले ‘कन्यादान’ दिन्छन् अनि कपाल फालेर एक छाक खाना छोड्छन्, त्यो दिनदेखि त्यो छोरी बेवारिस बन्ने रहिछ भन्ने अनुभव कतिपय महिलाले गर्न थालेका छन् ।

विवाहित महिलाहरूका अनुसार, त्यस दिनबाट माइतीसँगको नाता टुङ्गिए सरह हुने रहेछ । बिहे भएकी छोरीलाई कुनै अधिकारको लागि माइत आउने सांस्कृतिक बाटो राखिएको छैन । भनिन्छ, दसैँ तिहार जस्ता चाडपर्वमा मात्रै माइत आउने हो । त्यो पनि पाउनाको रूपमा ! जुम्लामा यस्ता महिलाको तर्फबाट बहस पैरवी गर्दै आएकी सरकारी वकिल रेनुका राई भन्नुहुन्छ, “यहाँका अधिकांश महिला विवाहपछि बेवारिसे हुने रहिछन् ।”

यस्तो हुनाको पछाडि उहाँ लैङ्गिक विभेदकारी सांस्कृतिक मान्यता, संस्कार र चालचलनलाई नै मुख्य समस्या ठान्नुहुन्छ । समस्याले थिचिएका र घरेलु हिंसाले पिल्सिएका महिलाको मरेतुल्य अवस्था र अकाल मृत्युपछि तिनलाई न्याय दिलाउन पनि मुस्किल परेको अवस्थाप्रति चिन्तित हुँदै उहाँ प्रश्न गर्नुहुन्छ, “बिहे गरेर गएपछि माइतीमा छोरीको कुनै अधिकार नहुने यो कस्तो विडम्बना हो ?” साथै, श्रीमान्ले श्रीमती मार्दा पनि माइती पक्षले कुनै मतलब नगर्ने हुँदा जुम्लामा घरेलु हिंसा धेरै बढेको उहाँको ठम्याइ छ । घरेलु हिंसाकै कारण महिलाहरूले युवावस्थामै आत्महत्यासम्म गर्ने गरेका उदाहरण बढिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७६ देखि हालसम्म १० देखि २० वर्ष उमेर समूहका १३ जना, २१ देखि ३० सम्मका ११ जना, ३१ देखि ४० सम्मका दुई जना र ४१ देखि माथिको उमेरका एक जना महिलाले आत्महत्या गरेका छन् ।

जानकारहरूका अनुसार, घरेलु हिंसाबाट भएको महिलाको मृत्युलाई पनि आत्महत्या भन्ने र आत्महत्यालाई पनि दुरुत्साहन हो कि होइन भनेर छानबिन नै नगरी जाहेरीमार्फत भवितव्य बताएर शवको पोस्टमार्टम गराई दाहसंस्कार गराउने दुष्प्रवृत्ति पनि देखिएको छ । भवितव्य जाहेरीबारे जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशी भन्नुहुन्छ, “झुन्डिएका, नदीमा हाम्फालेका, उपचारको क्रममा मृत्यु भएका, बेवारिसे अवस्थामा शव फेला परेकाहरूको भवितव्य जाहेरी आउने हो ।” जिल्ला प्रहरी कार्यालय जुम्लाको मुद्दा शाखामा आर्थिक वर्ष २०७६।७७ मा परेका जाहेरीहरू १४ महिला र दुई बालिकासँग सम्बन्धित छन् । आर्थिक वर्ष २०७७।७८ मा १० वटा भवितव्यका जाहेरी परेकामा १० जना महिला रहेका छन् । आर्थिक वर्ष २०७८।७९मा ११ वटा जाहेरी परेकामा ११ जना महिला रहेका छन् । त्यस्तै, २०७९।८० मा छ वटा जाहेरी परेकामा पाँच जना महिला रहेका छन् । प्रहरीका अनुसार, त्यहाँ परेका भवितव्यका कुल जाहेरीमा ४० जना महिला र दुई जना बालिका रहेका छन् ।

जुम्लालगायत कर्णाली प्रदेश र नेपालकै केही भागमा अझै पनि जात, कथित बोक्साबोक्सीको आरोप, लैङ्गिक हिंसा आदिबाट ज्यान गुमाइरहेका महिलालाई गुमनाम र बेवारिसे बनाइने गरेको छ । यस्ता घटनाबाट पीडित महिलाहरू कर्णालीमा बढी रहेका कुरा महिला अधिकारकर्मीहरू बताउँछन् । यहाँका अधिकांश महिलालाई घरेलु हिंसाको सिकार बनाइने क्रम अझै पनि रोकिन सकेको छैन । महिलाहरूमाथि समाज र लोकलाजको डर थोपरिएको हुन्छ । यसैले उनीहरू घर र परिवारभित्रको ज्यादती र हिंसालाई बाहिर नल्याइकनै संसार छाड्न बाध्य भइरहेका छन् । श्रीमान् र परिवारको ज्यादतीबाटै कोही मारिन्छन् भने कोहीले अवसादमा पुगेर आत्महत्या गर्न पुग्छन् ।

कोहीलाई जानाजान घरभित्रै मारेर बाहिर कतै फालिन्छ र हराएको बताइन्छ । संयोगवश शव भेटियो भने आत्महत्याको लेबल लगाउन पोइली पक्षका परिवारले नै प्रहरी प्रशासनमा सकेको जोरजुलुम गर्छन् । यस्तो अवस्थामा माइती पक्ष मौन बसिदिए भने महिलाको अकाल मृत्युलाई प्रोत्साहन र प्रश्रय हुन सक्छ । यसैले कम्तीमा माइती पक्षले छोरा र छोरीमा भेदभाव नगरी विवाहित छोरीको घरमा श्रीमान् र परिवारबाट हुनेगरेको दुव्र्यवहार, ज्यादती र हिंसाको विरुद्धमा बेलैमा खबरदारी गर्ने गरोस् ।


समाजमा हुने सबै प्रकारका हिंसा, कुरीति, कुसंस्कार नियन्त्रणका लागि स्थानीय सरकार गम्भीरताका साथ लागेको देखिँदैन । सबै निकाय त्यस्ता गतिविधिलाई पूर्ण रूपमा निरुत्साहित गर्नका लागि कानुनमा व्यवस्था भएबमोजिम कारवाही गर्न प्रतिबद्ध रहेको खण्डमा मात्र यस्ता घटनामा कमी आउने देखिन्छ । यसका लागि सबैभन्दा पहिले त छोरीले समतापूर्वक र सम्मानजनक तरिकाले बाँच्न पाउने अधिकारको रक्षा बाबुआमा र माइती पक्षले नै गर्न सक्नुपर्छ । राज्यका निकायहरूलाई पीडकमुखी होइन, पीडितमैत्री बनाउनका लागि पनि यो जरुरी छ ।

महिलाले बाँच्न पाउने अधिकारलाई कुनै पनि ठाउँको कसैले कुनै पनि मान्यता, चालचलन र संस्कारका नाममा नजरअन्दाज गर्न र कानुन हातमा लिन नपाओस् । यसका लागि विवाहित छोरीप्रतिको माइतीको मौनता र घरघर हुने गरेको श्रीमान्को ज्यादतीलाई एकसाथ तोड्नुपर्ने देखिन्छ । मानिसको जीवन र महिलाले सहजतापूर्वक बाँच्न पाउने अधिकारभन्दा ठुलो कुनै संस्कार हुँदैन ।

सम्बन्धित समाचार