सिङ्गो समाज र राज्यसत्तामा पुरुषको मात्र वर्चस्व हुने भएकाले महिलालाई आश्रित, निरीह, अबला र परनिर्भरको रूपमा हेरिन्छ । महिलालाई जहिले पनि बाबु, दाइभाइ, श्रीमान्, छोरा, नाति आदि नातेदार पुरुषका साथमा मात्र सुरक्षित ठानिन्छ । पुरुषबिनाको जीवन बाँच्ने महिलामाथि निराधार र अनावश्यक लाञ्छना लगाइन्छ । नागरिकलाई सेवा दिन खडा गरिएका राज्यका निकायमा बस्ने व्यक्तिले महिला मात्र आएको अवस्थामा आफ्नो दायित्वअन्तर्गतको सेवा दिने काममा समेत आलटाल गरी काम अड्काउन खोज्छ । यो पितृसत्ताको चरित्र हो ।
पितृसत्तामा हरेक कुराको दोष महिलामाथि थोपरिन्छ । घरेलु हिंसा, जबरजस्ती करणी जस्ता अपराधका घटनामा समेत महिलालाई नै दोषी करार गर्ने प्रयत्न गरिन्छ । संविधानले स्विकारेको भए पनि पितृसत्ताले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई त महिलाभन्दा पनि अझ निकृष्ट दृष्टिले हेर्छ । यो समुदायका व्यक्तिलाई सबल मानव होइन, विकृतिका रूपमा प्रस्तुत गर्छ । पितृसत्ताले त्यसो गर्नु पनि लैङ्गिक हिंसा हो भन्ने ठान्दैन ।
पितृसत्ताको शक्ति कहाँ छ ?
पितृसत्ताले पुरुषको यौनाङ्ग (लिङ्ग) मा शक्ति देख्छ भने महिलाको यौनाङ्ग (योनि) लाई कमजोरीको आधार ठान्छ । सन्तान विस्तारको पहिलो आधार महिलामा रहेको प्रजनन शक्ति हो तर पाठेघर, महिनावारी, बच्चा जन्माउने, स्तनपान गराउने जस्ता प्राकृतिक क्षमतालाई नै पितृसत्तामा महिलाको कमजोरीका रूपमा व्याख्या गरिन्छ । अझ खसआर्य समुदायमा महिनावारी र सुत्केरी अवस्थालाई अशुद्ध ठानी छुवाछुत गर्दै महिलाको शक्तिलाई दमन गरिँदै आएको छ । पितृसत्ताले स्थापित गरेका यी र यस्ता रुढिवादी सोचका आधारमा महिलाहरू जन्मँदै कमजोर नागरिकका रूपमा स्थापित गर्ने कोसिस हुन्छ अनि पुरुष हैकम र प्रभुत्वलाई जन्मजात क्षमता र अधिकारयुक्त ठानिन्छ ।
पितृसत्ताले पुरुषको चरित्रमाथि कहिल्यै प्रश्न उठाउँदैन तर महिलाका हरेक गतिविधिलाई उसको चरित्र र नैतिकतासँग गाँसेर हेर्छ ।
पितृसत्ताद्वारा स्थापित संस्कार, संस्कृति, मूल्यमान्यता र व्यवहारले पुरुषलाई प्रभुको स्थानमा राख्छ भने महिलालाई उसको सेवकका रूपमा चित्रित गर्छ । वैवाहिक सम्बन्धपछि श्रीमान्–श्रीमतीलाई रथका दुई पाङ्ग्रा वा अर्धाङ्ग र अर्धाङ्गिनी भनिए पनि व्यवहारमा श्रीमान् मालिक र श्रीमतीलाई दासीको स्थानमा राख्छ । यस किसिमको व्यवहार मात्रात्मक रूपमा जाति, क्षेत्र र वर्गअनुसार फरक भए पनि आधारभूत रूपमा पुरुषको हैसियत उपल्लो दर्जाको मान्छ । पितृसत्ताले पुरुषको चरित्रमाथि कहिल्यै प्रश्न उठाउँदैन तर महिलाका हरेक गतिविधिलाई उसको चरित्र र नैतिकतासँग गाँसेर हेर्छ । पितृसत्ताले शक्तिको केन्द्र नै व्यक्तिको यौनिकतालाई मान्छ । यौनिकतामै पितृसत्ताको शक्ति रहेको छ ।
पितृसत्ता चिन्ने कसरी ?
जुन समाजमा पुरुष यौनाङ्ग (लिङ्ग) का आधारमा मानिसको क्षमता र योग्यता नापिन्छ, मर्यादा र सम्मानको आधार तय हुन्छ एवं कामको भूमिका निर्धारण गरिन्छ, त्यो पितृसत्तात्मक हो । जुन समाजमा हक, अवसर, अधिकार र जिम्मेवारी वा दायित्व निर्धारण गर्दा पुरुषलाई प्राथमिकतामा राखिन्छ, त्यो समाज पितृसत्तात्मक हो । पितृसत्तात्मक समाजमा समानताको कुरा गर्दा जहिले पनि शारीरिक, सामाजिक, आर्थिक, राजनीतिक रूपमा शक्तिमा हुनेले कमजोर पक्षमाथि पुरुष हिंसा गर्छ । साथै, लैङ्गिक हिंसाको चरम रूप जबरजस्ती करणी जस्ता आपराधिक घटनामा बालिका र किशोरीहरू सबैभन्दा बढी जोखिममा पर्छन् ।
यस्ता घटनाका अपराधी पक्ष स्वाभाविक रूपमा पुरुष हुन्छन् तर पुरुषप्रधान समाजले अपराधी पक्षको इज्जत, सम्मान र मर्यादामाथि औँला उठाई बहिष्कार गर्नुको सट्टा पीडितको ‘अस्मिता’ र परिवारको ‘इज्जत’ माथि प्रश्न उठाउन छाड्दैन । अपराधी पक्ष समाजमा ठाडो शिर गरेर हिँड्दै गर्दा पीडित पक्षले सधैँ शिर निहुराउनुपर्ने अवस्था कायम हुन्छ । यो पितृसत्ताको सबैभन्दा घृणित रूप र प्रवृत्ति हो । समाजलाई मानवीय रङ दिनका लागि पनि यस्तो रूप र प्रवृत्तिमा परिवर्तन अपरिहार्य छ ।
पुरुषले जे, जहिले र जसो गरे पनि सामान्य रूपमा लिने र महिलाका हरेक गतिविधिमाथि प्रश्न उब्जाउने मानसिकता र सोच पितृसत्तात्मक हो । समाजमा हुने कुनै पनि लैङ्गिक हिंसाका घटनामा महिलालाई दोषी करार गर्न हरप्रयत्न गर्ने सोच पितृसत्तात्मक हो ।
लवाइ, खुवाइ, हिँडाइ, बसाइ, गराइ, बोलाइ आदि व्यवहारलाई सभ्यताको मापदण्ड बनाइन्छ भने त्यो मानसिकता र सोच पितृसत्तात्मक हो । शिशु जन्मँदा उसको स्वास्थ्यभन्दा पनि यौनाङ्गका आधारमा छोरा कि छोरी भन्दै बढी खुसी र कम खुसी हुने मनोभाव झल्कन्छ भने त्यो पितृसत्ताको सङ्केत हो ।
पुरुषले जे, जहिले र जसो गरे पनि सामान्य रूपमा लिने र महिलाका हरेक गतिविधिमाथि प्रश्न उब्जाउने मानसिकता र सोच पितृसत्तात्मक हो । समाजमा हुने कुनै पनि लैङ्गिक हिंसाका घटनामा महिलालाई दोषी करार गर्न हरप्रयत्न गर्ने सोच पितृसत्तात्मक हो । पुरुषलाई प्रधान वा मुख्य मान्ने सामाजिक मूल्यमान्यता, संस्कार र संस्कृतिका आधारमा हरेक ठाउँमा चरित्र र नैतिकतासँग सम्बन्धित विषयमा महिलामाथि मात्र प्रश्न तेर्स्याउने र पुरुषले अपराध नै गरे पनि ‘छोरोमान्छे’ भनेर उन्मुक्ति दिने/पाउने समाज पितृसत्तात्मक हो ।
लैङ्गिकताका आधारमा कार्यविभाजन र भूमिका निर्धारण गर्ने संस्कार पितृसत्तात्मक हो । छोरो वा पुरुष जतिखेर, जहाँ, जोसँग गए पनि वा आए पनि, जोसँग हिँडे, बोले र जे खाए, लाए पनि प्रश्न नगर्ने वा सामान्य रूपमा लिने तर छोरी वा महिला कहाँ गइन्, कतिखेर आइन्, कोसँग हिँडिन्, कोसँग बोलिन्, के लाइन् जस्ता आधारमा टिप्पणी गर्ने व्यक्ति, परिवार र समाज पितृसत्तात्मक हो ।
पितृसत्ताले हरेक ठाउँमा पुरुषलाई मूल र महिलालाई सहायकको रूपमा लिन्छ । सामाजिक विम्बमार्फत महिलालाई आश्रित देखाउने प्रयत्न हुन्छ । उदाहरण दिँदा पनि पुरुष वृक्ष महिला लहरा, पुरुष सूर्य महिला चन्द्रमा, पुरुष बिज महिला माटो, पुरुष प्रकाश महिला छाया, पुरुष संस्कृति महिला प्रकृति जस्ता विम्ब प्रयोग गर्छ ।
पितृसत्तामा आधारित विभेदकारी सोचको उपज हो, पितृसत्तात्मक मानक । पितृसत्तात्मक मानकले पुरुषप्रधानतामा आधारित व्यवहारमा संस्कृति र शोषणमा आधारित मान्यतामा सभ्यता देख्ने गर्छ । त्यसैले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणको महत्त्वपूर्ण र अनिवार्य आधार भनेको पितृसत्ताको अन्त्य नै हो । पितृसत्तात्मक मानकको विस्थापन नै हो ।
नेपाली समाजमा पितृसत्ताको अवस्था कस्तो छ ?
नेपाली समाजलाई पितृसत्ताले जकडे पनि यो जकडाइ सबै जाति र क्षेत्रमा समान छैन । खसआर्य समुदायको पारिवारिक तहमा पितृसत्ता जति बलियो छ, त्यति जनजातिमा छैन । जनजातिमा पितृसत्ता अलि कमजोर पाइन्छ । जनजाति समुदायको पारिवारिक तहमा महिलाको भूमिका, पहुँच र नियन्त्रण खसआर्य समुदायमा भन्दा बलियो छ ।
महिनावारी र सुत्केरी हुँदा जनजातिहरूमा महिलाप्रति अछुतको भाव र व्यवहार हुँदैन बरू उत्सवको रूपमा लिइन्छ । विवाहपछि पनि जन्मघरमा छोरीको भूमिका र केही हक कायमै रहन्छ । तर, खसआर्य समुदायमा महिनावारी र सुत्केरी अवस्थालाई अछुत र अशुद्धताको भाव र व्यवहार हुन्छ । विवाहपछि पनि छोरीलाई जन्मेको जात र गोत्रबाट समेत च्यूत गरिन्छ । साथै, जन्मघरसँगको सम्पूर्ण हक र अधिकारबाट विच्छेद गरी छोरीलाई त आउँदाजाँदा पनि पाहुनाको हैसियतमा झारिन्छ ।
विभिन्न समुदायका मिश्रित बस्तीमा जनजातिभित्र पनि खसआर्यको पितृसत्तात्मक संस्कार–संस्कृतिको प्रभाव बढ्दो छ । नेपालको राज्यसंयन्त्रमा खसआर्यको प्रभुत्व रहेकाले नीति र कानुन पनि लैङ्गिक विभेदमा आधारित हुँदै आए ।
तामाङ, शेर्पा, राई, लिम्बु, गुरुङ, मगर, थारु, धिमाल, मेचेलगायत धेरै जनजाति परिवारमा विवाहपछि श्रीमतीको माइती परिवारमा ज्वाइँको पनि निश्चित भूमिका र दायित्व हुन्छ । तर, परम्परागत खसआर्य परिवारमा ज्वाइँको भूमिका पनि लगभग पाहुनाको रूपमा सीमित गरिन्छ । त्यसैका आधारमा भनाइ नै छ, ‘ज्वाइँ पाले जस्तो’ ! हुन त यो भनाइले जनजाति समुदायमा खासै अर्थ राख्दैन । तर विभिन्न समुदायका मिश्रित बस्तीमा जनजातिभित्र पनि खसआर्यको पितृसत्तात्मक संस्कार–संस्कृतिको प्रभाव बढ्दो छ । नेपालको राज्यसंयन्त्रमा खसआर्यको प्रभुत्व रहेकाले नीति र कानुन पनि लैङ्गिक विभेदमा आधारित हुँदै आए । पछिल्लो समय बनाइएका समतामूलक कानुनको पनि कार्यान्वयन फितलो बन्दैछ । व्यवहारमा अनेकौँ कोणबाट पितृसत्तात्मक व्यवधान खडा गरिँदै आएका छन् ।
गणतन्त्रमा बदलिँदै छ त पितृसत्ता ?
नेपाली समाजमा महिलाहरू सचेत, सजग र सङ्गठित रूपमा जहानियाँ राणाशासन, निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था र राजतन्त्र अन्त्यको आन्दोलनमा सक्रिय सहभागी हुँदै आए । यसबाट राजनीतिक प्रणाली मात्र परिवर्तन भएन, पितृसत्तात्मक नीति तथा नियमलाई पनि क्रमशः परिवर्तन गर्न कर लाग्यो । अचेल छोरीहरूलाई पनि छोरासरह स्तरीय शिक्षा दिइन्छ । स्वास्थ्य अवस्थामा पनि क्रमशः सुधार हुँदै छ । वकिल, डाक्टर, इन्जिनियर, प्राध्यापक, खेलकुद, उद्योगधन्दा आदि रोजगारीका साथै पेसा, व्यवसायमा महिलाको सहभागिता बढेको छ । छोरीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्दै छन् ।
नयाँ संविधानले राज्यका सबै निकायमा समानुपातिक सहभागिता सुनिश्चित गरेको छ । पैतृक सम्पत्तिमा सबै सन्तानको समान हकको व्यवस्था गरेको छ । लैङ्गिक आधारमा हुने सबैखाले हिंसालाई अपराध मानेको छ । हिंसा गर्नेलाई सजाय र हिंसामा परेकालाई क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ ।
पितृसत्तालाई न्यूनीकरण गर्दै समानतामा आधारित समाज निर्माणमा आमाबुबाले सन्तानप्रति समान व्यवहार गर्नुपर्छ । नयाँ पुस्ताका व्यक्तिले समता उन्मुख परिवर्तनका लागि आफैँले पनि पहल गर्नुपर्छ । राज्यसंयन्त्रबाट सार्वजनिक सेवा प्रवाह गर्ने निकायका जिम्मेवार व्यक्तिहरूलाई निरन्तर सचेत गर्दै जानुपर्छ ।
मुलुकी देवानी संहिता, २०७४ ले सम्पत्तिमाथि आमाबाबु, श्रीमान्श्रीमती र छोराछोरी सबैको बराबरी हक स्थापित गरेको छ । पैतृक सम्पत्तिका कारण पनि विवाहपछि श्रीमान्कै घर जानुपर्छ भन्ने मान्यतामा परिवर्तन आउँदै छ । सन्तानको नागरिकतामा आमा वा बाबु वा दुवैको थर राख्न पाइने व्यवस्था गरेको छ ।
वर्तमान संविधान, एेन, नियम आदिले समाजमा विद्यमान पितृसत्तात्मक मान्यता हटाउने प्रयत्न गरेको छ तर कार्यान्वयनमा अझै समस्या रहेको छ । यसको कारण हो, नीति र कानुन कार्यान्वयनको प्रमुख भूमिकामा रहेका तर पितृसत्तात्मक संस्कारमा बानी परेका परिवारको विद्यमान पुस्तादेखि राजनीतिक नेता, कर्मचारी र समाजका अगुवा व्यक्तिको सोच र व्यवहारमा परिवर्तन नहुनु ।
पितृसत्तालाई न्यूनीकरण गर्दै समानतामा आधारित समाज निर्माणमा आमाबुबाले सन्तानप्रति समान व्यवहार गर्नुपर्छ । नयाँ पुस्ताका व्यक्तिले समता उन्मुख परिवर्तनका लागि आफैँले पनि पहल गर्नुपर्छ । राज्यसंयन्त्रबाट सार्वजनिक सेवा प्रवाह गर्ने निकायका जिम्मेवार व्यक्तिहरूलाई निरन्तर सचेत गर्दै जानुपर्छ ।
विगतमा विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन प्रसारण गरेका महिलाका जीवन कथाहरूलाई हामीले ‘सन्धान सहकार्य’ अन्तर्गत साभार गरी प्रकाशन, प्रसारण गर्दै आएको छौँ । यसै क्रममा आज बिन्दा पाण्डे (पिएचडी) द्वारा लिखित ‘महिलावाद’ नामक पुस्तिकामा प्रकाशित ‘पितृसत्ता के हो ?’ शीर्षकको सामग्री साभार गरेका छौँ । धादिङको थाक्रे गाउँपालिकाले २०७८ सालमा प्रकाशन गरेको पुस्तिकाबाट लिइएको यस सामग्रीलाई सामान्य सम्पादन गरिएको छ । प्रकाशनका लागि अनुमति दिनुभएकोमा लेखकलाई धन्यवाद !