सुर्खेत : कर्णाली प्रदेशको आर्थिक वर्ष ०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममा उद्योग र वनसम्बन्धी योजनालाई समेटिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा पुराना केही योजनाको निरन्तरता दिँदै नयाँ योजनाहरु समेटिएको हो। महिला आर्यआर्जन विकासका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको छ भने महिलाको स्वामित्वमा रहेका उद्योगलाई प्रोत्साहन कार्यक्रम गरिनेछ। भौगोलिक पहिचानसँग जोडिने उद्योग सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ।
प्रदेशको औद्योगिक ऐन तजुर्मा गरिने भएको छ। साथै, एक जिल्ला एक उत्पादन, सिपसँग सहयोग कार्यक्रमबाट उत्प्रेरित गरिने बताइएको छ। रैथाने उत्पादनको बजारीकरणका लागि कोशेली तथा सौगात घर स्थापना र अनलाईन सौगात डट कम सञ्चालन गरिने भनिएको छ।
विशिष्टीकृत वस्तुको उत्पादन प्रशोधनका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रत्येक जिल्लामा सिप विकास कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ। यसैगरी, वन वातावरण तथा जलाधार व्यवस्थापनका लागि दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने भएको छ।
लेक तथा पाटन संरक्षण विशेष कार्यक्रम, जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय नीति कार्यान्वयन, वृक्षारोपण योजनालाई विस्तार गर्ने, समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रममार्फत औषधीय र जडिबुटीयोग्य प्रशोधन कार्यक्रम सञ्चालन गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए।
यस्ता छन् बजेटमा समेटिएका स्वास्थ्य योजनाः
वार्षिक बजेट तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रस्तुत गरेको बजेटमा सुर्खेतस्थित प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने बताइएको छ।
प्रदेश अस्पताल सुर्खेतको तला थप गर्न ५५ करोड ५६ लाख विनियोजन गरिएको छ भने शिक्षण अस्पताल बनाउन आवश्यक रकम विनियोजन गरिएको छ।
सल्यान, रुकुम पश्चिम, डोल्पा र दैलेकखमा स्वास्थ्यसम्बन्धी निर्माणाधीन बहुवर्षीय पूर्वाधार निर्माणका लागि ३१ करोड विनियोजन गरिएको छ।
कर्णालीका सबै जिल्ला अस्पताललाई ५० शय्या अस्पताल बनाइने। सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।
सुत्केरी पोषण कार्यक्रम, पोषिलो पिठो वितरण कार्यक्रम, विपन्नलाई स्वास्थ्य बिमा कार्यक्रम, विपन्नलाई प्रेषणमा यातायात खर्च उपलब्ध गराउने, नागरिक स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ।
साथै, बजेटमा मिर्गौला डायलासिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सल्यानबाट सेवा विस्तार गर्ने, निःशुल्क र अतिआवश्यक औषधीको सहज आपूर्ति हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको छ।
यसैगरी महामारी नियन्त्रण तथा प्रतिकार्य योजनाका लागि २ करोड विनियोजन गरिएको मन्त्री सिंहले बताए।
टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाईने भएको छ। खोप अभियानलाई तीव्र बनाई आर्थिक वर्ष ०८०/८१ मा प्रदेशलाई पूर्ण खोप घोषणा गरिने बताइएको छ।
महिला स्वास्थ्य स्वयमसेविकालाई वार्षिक १० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिईने भएको छ। सामुदायिक स्वास्थ्य सेवालाई प्रवर्द्धन गर्न २ करोड विनियोजन गरिएको छ। आयुर्वेद उपचारलाई अस्पताल तथा अनुसन्धान केन्द्रको सुदृढीकरण गरिने जनाइएको छ।