कर्णालीमा हवाई उद्धार : पहुँचवालाले सुविधा पाउँछन्, निमुखाले ज्यान गुमाउँछन्


सुर्खेत : आवश्यक स्वास्थ्य सेवा नपाउँदा दुर्गम कर्णालीका गर्भवती तथा सुत्केरीले अकालमै ज्यान गुमाउनुपरेपछि सरकारले ०७१/७२ देखि हवाई उद्धार (एयर लिफ्ट) कार्यक्रम सञ्चालन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जटिल समस्या भएकालाई तत्काल हेलिकोप्टरमा उद्धार गरी अस्पताल पुर्‍याउन यो कार्यक्रम चलाएको हो । देश संघीयतामा गएसँगै कर्णाली प्रदेश सरकारले पनि छुट्टै यो कार्यक्रम चलाइरहेको छ ।

केन्द्र र प्रदेश सरकारबाट दोहोरो सुविधाको व्यवस्था हुँदा पनि कर्णालीका निमुखा महिला अधिकारबाट वञ्चित छन् । राजनीतिक पहुँच भएका महिलाले सेवा लिइरहेका छन्, निमुखा अकालमै ज्यान गुमाइरहेका छन् । गत आर्थिक वर्षमा प्रदेश सरकारले पाँच जिल्लाका ११ गर्भवती/सुत्केरीलाई हवाई उद्धार गरेको तथ्यांक राखेको छ । तीमध्ये सातजना प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको हुम्लास्थित निर्वाचन क्षेत्रका मात्रै छन् । यसबाहेक मुगु, डोल्पा, जाजरकोट र सुर्खेतका एक–एकजना गर्भवतीको पनि उद्धार भएको छ ।

कर्णालीमा एक वर्षमा ११ गर्भवतीको उद्धार, तीमध्ये सातजना प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको हुम्लास्थित निर्वाचन क्षेत्रका

अधिकांश जिल्लाका ग्रामीण भेगमा सरकारले हवाई उद्धारको सेवा दिइरहेको जानकारी नै छैन । जिल्ला अस्पताल पुगेका, तर त्यहाँ उपचार सम्भव नभएका तथा उच्च जोखिममा रहेका गर्भवती/सुत्केरीलाई हवाई उद्धार गर्नुपर्ने ठहर गर्दै सम्बन्धित अस्पतालले नै प्रदेश स्वास्थ्य निर्देशनालयलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । निर्देशनालयले तत्काल प्रदेश सरकार वा संघीय गृह मन्त्रालयलाई जानकारी गराउँछ । त्यसपछि हेलिकोप्टरको व्यवस्था गरेर पीडितको तत्काल उद्धार गरिन्छ । तर, अधिकांश जिल्ला अस्पतालले न पीडितलाई सेवा जानकारी गराउँछन्, न आफै उपल्लो निकायलाई जानकारी गराउँछन् । पहुँच हुने पीडितका आफन्तले भने आफै पहल पनि गर्छन् ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल भन्छन्–

मेरो पहुँचले हुम्लाका पीडितले हवाई सुविधा लिएका होइनन् । स्वास्थ्यमा हुम्ला सबैभन्दा पछाडि छ । अहिलेसम्म गाडी पुगेको छैन । जिल्लाभरि एउटा अस्पताल छ । अस्पताल पुग्न हिँडेर चार दिन लाग्ने माथि लिमी छ, तल रिमी छ । यता चंखेली छ । दुई महिलाले त अस्पताल पुग्नै नपाएर ज्यान गुमाउनुपर्‍यो । यस्तो पछाडि परेको ठाउँबाट धेरैले सेवा नपाएर कहाँकाले पाउँछन् त ? सिंगो कर्णाली नै विकट हो, तर हुम्लाको तुलनामा अरू जिल्लामा थोरै सुविधा छ । सबैतिर बाटो पुगेको छ । जिल्लामा स्वास्थ्य संस्थाहरूले पनि सेवा दिइरहेका छन् । सबै जिल्लाका महिलाले यो सेवा पाउनुपर्छ भन्नेमा प्रदेश सरकार सचेत छ । त्यसैले पहुँचको आधारमा भनसुन गरेर उद्धार गरियो भन्ने आरोप निराधार हो ।

गर्भवती/सुत्केरीको हवाई उद्धार कार्यक्रममा प्रदेश सरकारको डेढ करोड बजेट : २५ लाख खर्च, ७० लाख रकमान्तर गरियो, ५० लाख फ्रिज

गत आवमा कर्णाली सरकारले गर्भवती÷सुत्केरीको उद्धारका लागि करिब डेढ करोड विनियोजन गरेको थियो । तर, उद्धारमा २५ लाख मात्रै खर्च गरियो । दुई–दुई लाखका दरले १० जिल्ला स्वास्थ्य कार्यालयलाई २० लाख दिनुका साथै ५० लाख भने जिल्ला अस्पतालका बिरामीलाई खाना खर्च शीर्षकमा रकमान्तर गरियो । बाँकी ५० लाख बजेट फ्रिज भयो ।

हवाई सुविधाबारे गाउँलेलाई थाहै छैन, अकालमै ज्यान गुमाउन बाध्य छन् गर्भवती

कालिकोट : गत ९ साउनमा कालिकोटको नरहरिनाथ गाउँपालिका–४ रप्साकी ३० वर्षीया देवी सहकारी सुत्केरी बेथाले च्यापेपछि जिल्ला अस्पताल पुगिन् । त्यहाँ उपचार सम्भव नभएको भन्दै चिकित्सकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रेफर गरे । गम्भीर अवस्थाकी उनलाई अस्पतालले एयर लिफ्ट व्यवस्थापनमा सहयोग गरेन, उनको निमुखा परिवारलाई पनि यो सेवाबारे जानकारी भएन । गाडीमै राखेर जुम्ला लैजाँदै गर्दा देवीको बाटैमा मृत्यु भयो ।

नरहरिनाथ–७ की २० वर्षीया मीना शाहीले गत चैतमा घरमै मृत शिशु जन्माइन् । तर, साल झरेन । उनी बेहोस थिइन् । सुत्केरी भएको ६ दिनपछि परिवारले मीनालाई कालिकोट जिल्ला अस्पताल पुर्‍यायो । जिल्लाले तत्काल सुर्खेत रेफर गर्‍यो । मीनाको जीवनमा पनि सरकारको हवाई उद्धार सेवा बरदान साबित हुन पाएन । गाडीबाट सुर्खेत लैजाँदै गर्दा बाटैमा उनले ज्यान गुमाइन् ।

हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका–४ सायाँकी अनरूपा टमाटालाई गत १६ साउनमा सुत्केरी बेथा लागेपछि परिवारले सायाँ स्वास्थ्यचौकी पुर्‍याए । उनको उमेर पनि कलिलै थियो, साढे १५ वर्ष । पेटभित्रै बच्चाको ज्यान गयो, अनरूपा पनि रहिनन् । समयमै उपचार पाएको भए सायद बच्चा र आमा बाँच्थे ।

रुकुम (पश्चिम) : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ की २३ वर्षीया लीला विकलाई सुत्केरी हुने समय दिएको समयअघि साउन तेस्रो साता परिवारले जिल्ला अस्पताल पुर्‍याए । उनको अवस्था जटिल भएको भन्दै अस्पतालले तत्काल नेपालगञ्ज लैजान सुझाव दियो । तर, अस्पतालले हवाई उद्धारको सुविधाबारे पहल गर्नु त परको कुरा, यो सेवाबारे जानकारीसम्म दिएन । न्यून आर्थिक अवस्था भएको परिवारले नेपालगञ्ज लैजान आँट गर्न सकेन । लिलालाई घरमै फर्काइयो । केही दिनपछि उनलाई ब्याथा लाग्यो । घरमै जोखिमपूर्ण सुत्केरी गराउँदा बच्च जन्माएको डेढ घण्टामै अत्यधिक रक्तश्रावका कारण उनको ज्यान गयो ।

जाजरकोट : जाजरकोटको कुशे गाउँपालिका–१ धाउनेकी २५ वर्षीय संगीता सिंह (शाही)लाई पाँच दिनदेखि व्यथाले च्यापेको थियो । बच्चा पाउने समयभन्दा सात दिन कटिसकेको थियो । तर, व्यथाले च्यापेपछि उनी झन्डैझन्डै बेहोसकै अवस्थामा पुगिन् । अन्तिम समयमा उद्धारका लागि हेलिकोप्टर त आयो तर हेलिकोप्टरमा चढाउनुबित्तिकै उनले शिशु जन्माइन् । बच्चाको एकै छिनमा मृत्यु भयो, आमा गम्भीर छिन् ।

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ की १७ वर्षीया मोती परियारलाई गत असारमा घरमै बेथा लाग्यो । तर, परिवारमा स्वास्थ्य चेतनाका कमीका कारण अस्पताल लगेनन् । उनी २४ घन्टासम्म घरमै बेहोस भइन् । त्यसपछि मात्रै एम्बुलेन्समा जिल्ला अस्पताल पुर्‍याइएकी उनको अवस्था नाजुक भइसकेको थियो । चिकित्सकले पेटभित्रै शिशुको मृत्यु भइसकेको घोषणा गरे । अत्यधिक रक्तश्राव भएर गम्भीर अवस्थामा रहेकी परियारलाई तत्काल सेनाको हेलिकोप्टर मगाएर प्रदेश अस्पताल सुर्खेत पुर्‍याइयो । सोही क्षेत्रबाट निर्वाचन जितेका प्रदेश अर्थमन्त्री प्रकाश ज्वालाको अग्रसरतामा हेलिकोप्टर व्यवस्थापन भएको थियो । उनको ज्यान जोगियो । हेलिकोप्टर खर्च प्रदेश सरकारले नै व्यहोरेको मन्त्री ज्वालाले बताए ।

साभार: नंयापत्रीका

सम्बन्धित समाचार