सभामुखमाथि सांसदको प्रश्‍न : पीत पत्रकारिता गर्ने को–को हुन्?

काठमाडौं : सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा बैठकमा प्रश्न उठेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुखले केही दिनअगाडि दिएको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन्।

सांसद खतिवडाले सभामुख नै आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहेको र त्यो अभिव्यक्तिले प्रेस स्वतन्त्रतामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा सोच्नुपर्ने बताए।

‘सम्माननीय सभामुख पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ। व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन? त्यतातिर पनि ध्यान जाओस्,’ उनले भने।

अर्का सांसद सुवालले सभामुखले बोलेको विषय सार्वजनिक महत्वको विषय भएकाले छानबिन समिति गठन गर्नुपर्ने बताए। साथै उनले कांग्रेसजत्तिकै चित्रबहादुर केसी, प्रेम सुवाल र प्रभु शाहले प्रतिनिधिसभामा बोल्नलाई भाग खोजेको भनाइप्रति आपत्ति जनाए। सांसद सुवालले दार्चुलामा महाकाली नदी मिचिएको विषयमा बोल्दैनौँ भने यो संसदको काम के? भन्दै प्रश्न गरेका छन्। उनले शनिबार बसेको तीन दलको बैठकबारे पनि आपत्ति जनाए।

‘सभामुख महोदयको एउटा न्युज आएको छ। एमाले कांग्रेसजत्तिकै चित्रबहादुर प्रेम सुवालले र प्रभु साहले बोल्नलाई भाग खोज्यो। सभामुख महोदय तपाईंको भ्वाइस नभएको हुनुपर्छ। सभामुख महोदय यहाँको होइन होला। यस्तो अभिव्यक्ति हुनुहुँदैन। संसदमा बोल्नुपर्छ। संसद् चलाउन कति लाख खर्च हुन्छ? यदि जनताको विषय यहाँ बोल्न नपाउने भए संसद् चलाउनुको अर्थ छैन। दार्चुलामा महाकाली नदी मिचिएको विषयमा बोल्दैनौँ भने यो संसदको काम के? संसद बोल्नका लागि हो। अर्को सभामुख महोदयको अर्को आएको छ । पत्रकारको बारे। यहाँले अध्ययन गरेर बोलेको भए छानबिन समिति बनाउनुपर्यो। सबै पत्रकार त्यस्तो नहोला कुनकुन हो पित पत्रकारिता चलाउने? त्यो सभामुख महोदयबाट छानबिन समिति हुनुपर्यो। सभामुखबाट उठेको विषय सार्वजनिक महत्वको विषय हुन्छ। छानबिन हुनुपर्यो,’ उनले भने।

सांसद सुवालले सभामुखको छोरीको फोन ह्याक गरेर अमेरिकामा बसेकाको पैसा ठगेको विषयमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल कारबाही गर्न आग्रह गरे। उनले कारबाही नगरे संसदबाटै छानबिन समिति गठन गर्नुपर्ने बताए।

‘सभामुखज्यूले बोलेपछि सार्वजनिक महत्वको हुन्छ। यसबारे प्रधानमन्त्रीज्यूले तत्काल छानबिन गरेर कारबाही गर्नुपर्ने हुन्छ। होइन भने तत्काल संसदले छानबिन समिति बनाउनुपर्छ। यस्ता विषय हामीले संसदमा उठाउने हो,’ सुवालले भने।

गत चैत ३ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको भनी गम्भीर आरोप लगाएका थिए।

उनले भनेका थिए, ‘पत्रकारहरूले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन। पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो छ। जे जे कारणले भए पनि तिनीहरू प्रभावित छन्। अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु। संघ (पत्रकार महासंघ) बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले रोकिराख्नु पर्दैन।’

सम्बन्धित समाचार