नजिकियो एसईई, राष्ट्रिय परीक्षा बाेर्ड अध्यक्षविहीन
एसईई चैतको पहिलो हप्ता सञ्चालन हुने बोर्डको वार्षिक कार्यतालिका थियो तर जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन तोकेका कारण परीक्षाको समय सारिएको हो।
यस्तै कक्षा १२ को परीक्षा पनि वैशाख १४ गतेदेखि सञ्चालन हुँदै छ।
यसरी धमाधम परीक्षा नजिकिँदै गर्दा राष्ट्रिय परीक्षा बोर्ड भने अध्यक्षविहीन छ। बोर्डका तत्कालीन अध्यक्ष महाश्रम शर्माको कार्यकाल सकिएपछि राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले पुस १० गते दरखास्त आह्वान गरेको थियो।
पुस २४ गतेभित्र समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आवेदन दिने समय तोकिएको थियो। तोकिएको अवधिभित्र दर्ता हुन आएका दरखास्त उपर छानविन गरी राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पद नियुक्तिको लागि १३ जना उम्मेदवारको आवेदन पुस मसान्तमै स्वीकृत भइसकेको छ।
डा. जगतकृष्ण पोखरेल, डा.राजेन्द्रकुमार पोखरेल, प्राडा बाबुराम खनाल, डा.रामचन्द्र पाण्डे, दुर्गाप्रसाद अर्यालको दरखास्त आवेदन स्वीकृत भएको थियो। त्यस्तै डा. तुलसीराम भण्डारी,पुष्पराज जोशी, डा. घनश्याम ठाकुर, डा. कृष्णप्रसाद आचार्य, प्राडा अच्युत ज्ञवाली, लक्ष्मीराम पौडेल, डा. भोजराज शर्मा काफ्ले र डा. राजेन्द्रप्रसाद चापागाईँको दरखास्त स्वीकृत भएको थियो।
त्यसपछि छनोटमा परेका ७ जनाको अन्तर्वार्ता लिएर ३ जनाको नाम सिफारिस गरिएको छ। तर हालसम्म नियुक्त भने भएको छैन। सरकारले २०७८ पुस ९ गते राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा शर्मालाई नियुक्त गरेको थियो। उनको कार्यकाल सकिएर बोर्डबाट बिदा भइसकेका छन्।
के-के चाहिन्छ योग्यता ?
शिक्षा ऐन, २०२८ को दफा ४.क को उपदफा (१) मा माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरेको र सोही ऐनको उपदफा २ को (क) बमोजिम बोर्डमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि गरेको व्यक्ति राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ।
त्यस्तै, शिक्षा तथा परीक्षासम्बन्धी क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव प्राप्त व्यक्तिहरूमध्येबाट सोही ऐनको दफा ४ ‘क’ को उपदफा (३) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्त गर्ने व्यवस्था गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८२ बमोजिम दरखास्त पेश गर्ने उम्मेदवारहरूबीच योग्यताक्रम निर्धारण गरी उच्च अङ्क प्राप्त गर्ने उम्मेदवारलाई अध्यक्ष पदमा नियुक्तिका लागि नेपाल सरकारमा सिफारिस गरिने व्यवस्था छ।
समितिले दरखास्त साथ प्राप्त कागजात तथा अवधारणा पत्र र व्यावसायिक कार्ययोजनाको मूल्यांकन, अवधारणा पत्र र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता छनोट विधि अपनाउने छ।
‘राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया कहाँ पुग्यो र कहिलेसम्ममा नियुक्त हुन्छन्’ भन्ने प्रश्नमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले भने, ‘तीन जनाको नाम सिफारिस भएको छ। अब शिक्षा मन्त्रालय समेत सम्हाल्नु भएको प्रधानमन्त्रीज्यूले हेरेर थप निर्णय लिनुहुन्छ र क्याबिनेट बैठकले निर्णय गरेपछि नियुक्ति हुन्छ।’ कहिलेसम्ममा नियुक्ति होला भनेर यकिन भने गर्न नसकिने उनले बताए।
बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का उपनियन्त्रक तारानाथ निरौलाका अनुसार यो वर्षको एसइईमा करिब पाँच लाख २० हजार विद्यार्थीहरूले परीक्षा दिने छन्। नियमिततर्फ चार लाख ५२ हजार ४५ जना विद्यार्थी छन्। गत वर्ष एनजी ल्याएका अर्थात फेल भएका ६२ हजार विद्यार्थी छन्। करिब ७ हजार पुराना विद्यार्थी छन्।
परीक्षा तालिकाअनुसार चैत १९ गते अर्थात् पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ। चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधिको परीक्षा हुनेछ। त्यसैगरी २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितिय खण्डका सबै विषय लगायतको परीक्षा सञ्चालन हुनेछ।








