थाहा मिडिया ग्रुपको कार्यालमा फेरि तोडफोड, रेडियो नेटवर्क अनिश्चितकालका लागि बन्द

काठमाडौँ : थाहा मिडिया ग्रुपको कार्यालय माइतीघरमा आज पनि तोडफोड भएको छ।ढुंगामुढा गर्दा कार्यालयका धेरै सिसाहरु फुटेका छन्। आगलागी र तोडफोडको भयले पत्रकारहरु थाहा रेडियो नेटवर्क नै बन्द गरेर निसिकन बाध्य भएका छन्।

कार्यालय वरपरका सर्वाेच्च अदालत, सडक विभागलगायत नजिकका अन्य भवनमा आगलागी हुँदा त्यसबाट आगो सल्किन सक्ने तथा राप र धुवाँको मुस्लोले रेडियोमा काम गर्न सक्ने अवस्थासमेत नभएपछि पत्रकारहरु रेडियो नेटवर्क नै बन्द गरेर निस्कन बाध्य भएका छन्।

यसअघि हिजो पनि कार्यालयमा ढुंगा प्रहार हुँदा केही सिसा फुटेको थियो। आज थप तोडफोड गर्दा थप क्षति भएको थाहा मिडिया ग्रुपले जनाएको छ।

कार्यालयमा बस्दा पत्रकारको ज्यान नै जोखिममा परेको महसुस भएपछि रेडियो नेटवर्क बन्द गरेर बाहिरिनु परेको सम्पादक नरेन्द्र सापकोटाले बताए।