सुनमायाको सङ्घर्ष र सफलता

                            कर्णालीकी छोरी

मानिसको जीवनकालमा अत्यधिक समस्या, चुनौती र उतारचढाव आइरहन्छन् तर ती समस्या, चुनौती र उतारचढावलाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडि बढ्न सकेमा सफलता हात पार्न सकिन्छ । यस्तै भनाइका लागि उदाहरण बन्न उपयुक्त एक पात्र हुन्, ‘अल्ट्रा रेस च्याम्पियन’ सुनमाया बुढा । उनी जुम्ला जिल्लाको पातारासी गाउँपालिका–५ माथिल्लो लोर्पागाउँकी एक होनहार र सफल छोरी हुन् ।सानैमा परिवारले ‘माया मारेकी’ सुनमायाले ठुलो भएर ‘अल्ट्रा रेस च्याम्पियन’ बन्दै अकल्पनीय सफलता हात पारिरहेकी छन् । बाल्यकालमा मृत्यु जितेकी उनी अहिले संसार जित्ने लक्ष्य लिएर दौडिरहेकी छिन् । उनले २०७८ पुसको दोस्रो साता अल्ट्रातर्फकै ठुलोमध्ये एक ‘थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा रेस’ मा ११० किलोमिटर दुरीको दौड जितिन् । यही जितले उनलाई संसार जित्ने सपना देखाएको छ  ।

एक प्रकारले आमाबुबाले समेत ‘माया मारेकी’ सुनमाया बाँच्छिन् भनेर अरूले त झन् कल्पना पनि गरेका थिएनन् । बल्लतल्ल बाँचेकी तिनै सुनमाया अहिले परिवार र गाउँको मात्रै होइन, देशकै हीरा बनेर संसारमा चम्किरहेकी छन् ।

कर्णाली प्रदेशअन्तर्गत पर्ने जुम्लाको विपन्न परिवारमा जन्मिएर जसोतसो हुर्किएकी सुनमाया भन्छिन्, “मेरो बाल्यकाल निकै दुःखमय थियो ।” २०५५ सालमा जन्मेकी उनी परिवारको एक छोरा र सात छोरीमध्ये चौथो सन्तान हुन् । एक वर्षको फरकमै बहिनी जन्मिइन् । त्यसपछि उनले आमाको दुधसमेत राम्रोसँग खान पाइनन् । ‘दुध कटुवा’ बनेपछि उनी दुब्लाउँदै जान थालिन् । त्यतिबेला गाउँका मान्छेहरूले उनलाई देखेर ‘यसलाई त कुपोषण लाग्यो’ भन्ने गरेको उनी बिर्सन सक्तिनन् ।

जन्मथलो माथिल्लो लोर्पागाउँमा अस्पताल थिएन । चार घण्टा हिँडेर जुम्ला सदरमुकाममा रहेको अस्पताल पुग्नुपर्थ्यो । त्यतिबेला अहिले जस्तो सडक बनेको थिएन । सडक नै नभएपछि सवारीका साधन चल्ने सम्भावना पनि भएन । खेती किसानी गर्ने सामान्य परिवारले दुब्लाउँदै गएकी ‘छोरी’ लाई उपचार गर्न सदरमुकाम लैजाने विचार र आँट दुवै गरेन ।

अस्पताल लैजान नसके पनि आमाले ओछ्यान परेकी छोरी सुनमायाको घरेलु उपचारमा कुनै कसर बाँकी राखिनन् । आठ नौ महिनाको घरेलु उपचारले काम गर्‍यो । सुनमाया तङ्ग्रिन थालिन् । एक प्रकारले आमाबुबाले समेत ‘माया मारेकी’ सुनमाया बाँच्छिन् भनेर अरूले त झन् कल्पना पनि गरेका थिएनन् । बल्लतल्ल बाँचेकी तिनै सुनमाया अहिले परिवार र गाउँको मात्रै होइन, देशकै हीरा बनेर संसारमा चम्किरहेकी छन् ।

थाइल्यान्डको चियाङमाइमा २०७८ पुसको दोस्रो सातामा भएको थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा रेसमा उनी महिलातर्फ पहिलो भइन्  । उनले ११० किलोमिटर दौडतर्फ पुरुष खेलाडीहरूलाई समेत टक्कर दिइन् । युटिएमबी दौडमा पुरुष र महिलातर्फ समग्र नतिजामा उनी तेस्रो भएकी थिइन् । चियाङमाइ क्षेत्रको भिरपाखा र डाँडाको पाँच हजार ४८० मिटर उचाइमा ‘नर्थ फेस एडभेन्चर टिम’ बाट दौडिएकी सुनमाया समग्रमा दोस्रो भएका फ्रान्सका सेड्रिक गोलियाभन्दा चार सेकेन्डले मात्र आफू पछि परेको बताउँछिन् । दुई हजारभन्दा बढी धावक सहभागी भएको सो प्रतियोगितामा उनले निर्धारित दुरी १४ घन्टा ५४ मिनेट १ सेकेन्डमा पार गरेकी थिइन् ।

थाइल्यान्ड बाई युटिएमबी जितेपछि तेइस वर्षमै सुनमाया अन्तर्राष्ट्रिय रूपमा चर्चित हुन पुगिन् । उनले अल्ट्रा धाविका बन्छु भनेर सोचेकी पनि थिइनन् । किन त ? धरातल सम्झँदै भन्छिन्, “मेरा लागि जुम्ला सदरमुकाम र सुर्खेत पुग्नु नै ठुलो थियो ।”

बाल्यकालमा कुपोषणलाई जितेकी सुनमायाले केही ठुलो हुन थालेदेखि कर्णालीको सामाजिक परिवेशसँग लड्नुपर्‍यो । उनका दिदीहरूले कहिल्यै पनि स्कुल जाने अवसर पाएका थिएनन् । ‘मरेर बाँचेकी’ भएर होला, आमाबुबाले सुनमायालाई भने स्कुल पठाए । त्यही स्कुल उनका लागि कर्णालीको सामाजिक परिवेशसँग लड्ने र भविष्यको अकल्पनीय सपना देख्ने पहिलो मैदान बन्यो ।

सुनमायाले २०७३ सालमा सबैलाई उछिन्दै १८ वर्षको उम्मेरमै राष्ट्रपति रनिङ सिल्ड जितिन्  । जिल्ला, क्षेत्र हुँदै देशकै जुनियर च्याम्पियन बनेपछि गाउँभरि उनको चर्चा थप चुलियो ।

खेलयात्राको थालनीमा नै पहिलो

सुनमायाको खेलयात्राको थालनी ७ कक्षामा पढ्दै गर्दा नै भएको थियो । उनी पातारासी गाउँपालिका–४ मा रहेको ऋण मोक्ष माध्यमिक विद्यालयमा पढ्थिन् । त्यहीँबाट पहिलो पटक उनले दौड प्रतियोगितामा भाग लिएकी थिइन् । जुम्लाको सदरमुकाममा भएको त्यो खेल विद्यालयस्तरीय थियो । उनी भन्छिन्, “त्यसमा म प्रथम भएकी थिएँ  ।” पहिलो पटकमै प्रथम भएर पाएको पुरस्कारले उनलाई दौडमा लागिरहनका लागि एक प्रकारको हौसला पनि दियो ।

“मलाई त्यही बेला थाहा भयो, दौडेर पनि पुरस्कार पाइने रहेछ भन्ने,” उनी तत्कालीन प्रधानाध्यापकबाट पाएको उत्प्रेरणालाई पनि सम्झिन्छिन् र भन्छिन्, “त्यसपछि प्रधानाध्यापकले सुनमाया, अब तिमी बजारमा पनि कुद्न जानुपर्छ, त्यहाँ ३० भन्दा बढी विद्यालयका विद्यार्थी आउँछन् भने ।”

सुनमाया २०६८ सालमा भएको जिल्लास्तरीय दौड प्रतियोगितामा पनि प्रथम भइन् । त्यसपछि उनी क्षेत्रीय छनोटका लागि खेल्न नेपालगन्ज जानुपर्ने भयो । पहिलो पटक नेपालगन्ज पुग्दा उनले फरक खालको भूगोल र हावापानी देख्न र अनुभव गर्न पाइन् । यसबाट आफू आत्तिएको पनि उनी बताउँछिन् । दौडमा भने उनी नेपालगन्जमा पनि पहिलो नै भइन् । त्यसपछि उनी २०७३ सालमा एकै पटक राष्ट्रिय स्तरमा छनोट भएको बताउँछिन् ।

सुनमाया भन्छिन्, “जुम्लाको खलङ्गा पठाउन घरपरिवारले सहजै स्विकारेनन् । जिद्दी गरेर पढ्छु भनेर हिँडेँ ।”

पहिलो प्रयासमै जुनियर च्याम्पियन

सुनमायाले २०७३ सालमा सबैलाई उछिन्दै १८ वर्षको उम्मेरमै राष्ट्रपति रनिङ सिल्ड जितिन्  । जिल्ला, क्षेत्र हुँदै देशकै जुनियर च्याम्पियन बनेपछि गाउँभरि उनको चर्चा थप चुलियो । स्कुलले पनि पुरस्कारस्वरूप पाँच हजार रुपैयाँ दिएपछि त झन् सुनमायाको खुसीको सीमा नै रहेन । राष्ट्रपति रनिङ सिल्ड जितेपछि उनले नियमित रूपमा प्रतियोगिताहरूमा भाग लिन थालिन् । उनको जितको यात्रामा ‘ब्रेक’ लागेन । उनले स्पर्धाको ‘गियर’ बढाउँदै लगिन् ।

सुनमायाले पढाइभन्दा दौडको प्रशिक्षण र अभ्यासमा बढी समय दिइन् । सदरमुकाममा पढ्न बसेकी छोरी दौड अभ्यास पनि गर्छिन् भन्ने घरमा थाहा थिएन ।

जुनियर स्तरकै प्रतियोगितामा चर्चा बटुलेकी सुनमायाले २०७१ सालमा एसएलसी पास गरेकी थिइन् । यहीबिच उनले जुम्ला बजारमा ओलम्पियन हरिबहादुर रोकायाले प्रशिक्षण दिन्छन् भन्ने थाहा पाइन्  । उनी रोकायालाई भेट्न गइन् । आफूले प्रशिक्षण लिन चाहेको बताइन् । उनले ‘घरमा बिहेको प्रस्ताव आएकाले आफू घरबाट पढ्छु भनी ढाँटेर तपाईंलाई भेट्न आएको’ भनी हरिबहादुरलाई सुनाइन् । आमाबाबुले उनलाई यत्तिकै खलङ्गा पठाउन चाहेनन् । सुनमाया भन्छिन्, “जुम्लाको खलङ्गा पठाउन घरपरिवारले सहजै स्विकारेनन् । जिद्दी गरेर पढ्छु भनेर हिँडेँ ।” उनका अनुसार, दौडका लागि प्रशिक्षण लिने कुरा त घरमा कसैलाई थाहा नै थिएन । उनी त्यतिबेला घरमा ‘पढेर ठुलो मान्छे बन्छु’ भन्ने सपना देखाएर ओलम्पियन हरिबहादुरलाई भेट्न पुगेकी थिइन् ।

कर्णालीको दुर्गम भेगमा जन्मिएकी किशोरी खेल क्षेत्रमा लाग्छु भनेर जसरीतसरी प्रशिक्षक खोज्दैै आएको कुराले ओलम्पियन हरिबहादुरको मुटु छोयो । सुनमायाको खेलप्रतिको रुचि र लगनशीलताबाट उनी प्रभावित भए । हरिबहादुरले सुनमायालाई आफ्नै घरमा बस्नका लागि कोठा दिए । प्रशिक्षणका लागि कर्णाली स्पोर्टस् क्लबमा भर्ना पनि गरिदिए ।

त्यसपछि त पारिवारिक परिस्थिति पनि बदलिने मोडमा पुग्यो । सुनमायाले ‘पढ्छु’ भनिन् । त्यसपछि उनका बुबा आफैँ आएर छोरीलाई बजारमा कोठा खोजेर भाडामा लिइदिए । आवश्यक सामान किनिदिए । सदरमुकाम आएपछि उनी कनिका निशा उच्चमाध्यमिक विद्यालयमा भर्ना भइन् । प्लस टु पढ्न थालिन् । बिहान पढ्नमा र दिउँसो दौडको अभ्यास गर्नमा लगाउँथिन् । प्रशिक्षक हरिबहादुरले उनलाई कडा अभ्यास गराउँथे । यसैले पढाइभन्दा दौडको प्रशिक्षण र अभ्यासमा बढी समय दिइन् । सदरमुकाममा पढ्न बसेकी छोरी दौड अभ्यास पनि गर्छिन् भन्ने घरमा थाहा थिएन । यहीबिचमा उनी २०७४ सालमा धरानमा भएको १० किलोमिटर दौडमा भाग लिएर तेस्रो भइन् ।

तयारी म्याराथनको, सहभागिता ट्रेल रेसमा

‘एभरेस्ट म्याराथन’ मा तीन–तीन पटक जित हासिल गरेका ओलम्पियन हरिबहादुरलाई सुनमायाको क्षमता पहिचान गर्न समय लागेन । हरिबहादुरले सुनमायालाई १० किलोमिटर हुँदै ४२ किलोमिटर म्याराथनका लागि प्रशिक्षित गरे । राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरे पनि प्रतियोगिता हुन समय लाग्यो । त्यसपछि उनको खेल जीवनको बाटो पनि मोडियो ।

स्टेप रेसबारे सुनमाया भन्छिन्, “ट्रेल रेस र स्टेप रेस भनेको नाम मात्रै फरक हो । दुवै उकालो वा ओरालोमा दौडिने प्रतियोगिता नै हुन् ।”

सुनमाया सन् २०१६ को सुरुआतमा ‘ट्रेल रेस’ मा सहभागी हुन काठमाडौँ पुगिन् । ललितपुर जिल्लाको गोदावरीमा भएको १२ किलोमिटर दुरीको ट्रेल रेस जित्दै उनले खेलप्रेमीहरूको ध्यान आफूतिर तानिन् । त्यतिबेलासम्म सुनमायालाई ट्रेल रेसबारे थाहै थिएन । अहिले उनी भन्छिन्, “उकालो ओरालो ठाउँमा गर्नुपर्ने दौड नै ट्रेल रेस रहेछ ।”

गाउँमा मेलापात, घाँसदाउरा, उकाली ओराली गरेकी उनलाई ‘अफ रोड’ मा हुने रेसमा दौड्न गाह्रो भएन । पहिलो सहभागितामै उनी प्रथम भइन् । यसपछि उनलाई २०७४ सालमा ‘मनास्लु स्टेप रेस’ प्रतियोगितामा भाग लिने मौका मिल्यो । सात दिनमा १७० किलोमिटर दौडिनुपर्ने उक्त रेसमा पनि उनी प्रथम भइन् । स्टेप रेसबारे सुनमाया भन्छिन्, “ट्रेल रेस र स्टेप रेस भनेको नाम मात्रै फरक हो । दुवै उकालो वा ओरालोमा दौडिने प्रतियोगिता नै हुन् ।”

मनास्लु स्टेप रेसको सफलतापछि उनलाई हङकङ जाने मौका मिल्यो । सन् २०१६ डिसेम्बरमा हङकङको एमएसआइजी लान्टाउमा सहभागी हुने पक्का भयो । त्यो थाहा पाएपछि उनमा खुसीको सीमा नै रहेन । पचास किलोमिटर दुरीको एमएसआइजी लान्टाउमा १८ वर्षमुनिकाहरूबिच प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धामा उनी एसियातर्फ च्याम्पियन भइन् । त्यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई पनि उनले स्मरणीय बनाइन् ।

सन् २०२१ मार्चमा विश्वकै चर्चित ब्रान्ड ‘द नर्थ फेस’ ले सुनमायालाई ‘द नर्थ फेस एड्भेन्चर टिम’ मा आबद्ध गर्‍यो । यसले उनको अल्ट्रा दौड करिअरलाई थप उचाइमा पुर्‍याउन सजिलो बनायो ।

सुनमायाले त्यसपछिका वर्षहरूमा पछाडि फर्केर हेर्नुपरेन । उनले २०२२ जुलाईसम्ममा स्वदेश र विदेशमा गरी कुल ५० वटा अल्ट्रा रेसमा प्रतिस्पर्धा गरिसकेकी छन् ।कोभिड–१९ महामारीले सन् २०२० मा अल्ट्रा दौडलाई पनि असर गर्‍यो । यसैले उनले एक वर्ष कुनै पनि दौड प्रतियोगितामा भाग लिन पाइनन् । सन् २०२१ मार्चमा विश्वकै चर्चित ब्रान्ड ‘द नर्थ फेस’ ले सुनमायालाई ‘द नर्थ फेस एड्भेन्चर टिम’ मा आबद्ध गर्‍यो । यसले उनको अल्ट्रा दौड करिअरलाई थप उचाइमा पुर्‍याउन सजिलो बनायो । उनले हरेक रेसमा सहभागी हुनुअघि गरिने अभ्यासका लागि छुट्टै प्रशिक्षक पाउने भइन् । उनले हरेक साता आफ्नो अभ्यासको रिपोर्ट बुझाउनुपर्ने भयो । अहिले त्यही गरिरहेकी छन् । रिपोर्टको विश्लेषण गर्दै नर्थ फेसले उनका लागि रणनीति बनाउँछ ।

‘थाइल्यान्ड बाई युटिएमबी’ प्रतियोगिता हुनुअघि उनलाई अस्ट्रेलियाका प्रशिक्षकले अभ्यास गराएका थिए । उनलाई लाग्छ, प्रशिक्षकले छुट्टै रणनीति बनाएर कुद्न पठाएकाले उनी सफल भएकी हुन्  । “राम्रो प्रशिक्षण पाएकाले सफल भएँ जस्तो लाग्छ । मेरो टिमले गर्दा यहाँ आइपुगेँ,” सुनमाया भन्छिन्  ।

सुनमायाको सफलतामा ओलम्पियन हरिबहादुर रोकाया र कर्णाली स्पोर्टस् क्लबको महत्त्वपूर्ण योगदान छ । क्लबले धेरै महिला खेलाडी जन्माएको छ । सुनमायालगायत सफल खेलाडीहरूमध्ये केही नेपाली सेनामा पनि गइसकेका छन् ।

अबका लक्ष्यहरू पूरा गर्ने धुन

सुनमाया अब फ्रान्समा हुने युटिएबी अल्ट्रा रेसमा भाग लिने तयारीमा छिन्  । १०१ किलोमिटर दुरीको उक्त रेस जितेर देशको नाम उँचो बनाउन चाहेको उनी बताउँछिन् ।

दौडमा जित्नुबाहेक अब सुनमायालाई आफूले भोगेको जस्तो सङ्घर्ष अरूले भोग्न नपरोस् भनेर सबैमा सचेतना फैलाउने मन छ । उनी गाउँघरमा कानुनको आँखा छलेर हुने गरेको बालविवाह रोक्नका लागि जनचेतना फैलाउन चाहन्छिन् । उनी भन्छिन्, “गाउँमा गएर बच्चैमा बिहे गर्नुहुन्न, अवसर पाए छोरीले पनि राम्रो गर्न सक्छे भनेर सिकाउन मन छ ।”

सुनमायालाई अब आमाबुबालाई आफैँ पाल्न सक्छु भन्ने पनि लागेको छ । उनी भन्छिन्, “मेरी आमाले छोरीले पढेर जागिर खाए हामीलाई पाल्छ भन्नुहुन्थ्यो । एउटा मात्रै छोरा जन्मियो भनेर आमा पिर गर्नुहुन्थ्यो ।”

विवाहका बारे उनी स्पष्ट देखिन्छिन् र करियरमा दत्तचित्त भएर समय दिनुपर्ने बेलामा गरिने विवाहलाई उन्नतिको बाधक ठान्छिन् । “परिवारले भनेको मानेर बिहे गरेको भए यहाँ आइपुग्दिनथेँ,” उनी आफ्ना साथीहरूलाई सम्झिँदै भन्छिन्, “मेरा साथीहरूका तीन–चारवटा बच्चा भइसके । मेरो भने त्यसतर्फ ध्यान नै गएन ।” दौडिएर प्रतियोगिता जित्ने लक्ष्यतिर गएको ध्यानले उनलाई खेल क्षेत्रमा लोभलाग्दो सफलता पनि दिलायो । नभए त अवस्था साथीहरूकै जस्तो गुमनाम रहन्थ्यो भन्ने उनलाई राम्ररी थाहा छ । भन्छिन्, “देश विदेश घुमेर नाम कमाउने अवसर नै पाउँदिनथेँ ।”

सुनमायालाई अब आमाबुबालाई आफैँ पाल्न सक्छु भन्ने पनि लागेको छ । उनी भन्छिन्, “मेरी आमाले छोरीले पढेर जागिर खाए हामीलाई पाल्छ भन्नुहुन्थ्यो । एउटा मात्रै छोरा जन्मियो भनेर आमा पिर गर्नुहुन्थ्यो ।” अर्को छोरा जन्माउने भन्दाभन्दै छोरी मात्रै जन्मिएका थिए । यो कुरा सुनमायाको मनमा सकारात्मक तरिकाले गडेर बसेको रहेछ । यसैले पनि आमाबुबालाई पाल्न आफूले अल्ट्रा रेस करिअरमा सङ्घर्ष गरिरहेको उनी बताउँछिन् ।

जुम्लाको तीन हजार मिटर उचाइमा घाँसदाउरा र उकालोओरालो गर्दै हुर्केकी सुनमायालाई अल्ट्रा र ट्रेल रेसको उबडखाबड रुटमा दौडन अप्ठ्यारो लाग्दैन । उनलाई नयाँ ठाउँको खाना र भाषाले भने साह्रै समस्या पार्ने गरेको छ । उनी दौडका क्रममा सँगालेका आफ्ना अनुभवहरूको सार सुनाउँदै भन्छिन्, “कहिलेकाहीँ हावापानीले पनि साथ दिँदैन । घण्टौँ दौडिँदा बिचबिचमा आउने चेक प्वाइन्टमा कति खाने र कस्तो खाने भन्ने नजान्दा पटकपटक समस्यामा परेको छु ।”

नयाँ ठाउँको खाना र भाषाको समस्याले सुनमायाको दौड जीवनलाई गलाएको भने छैन । जुझारु प्रकृतिकी उनी एउटा स्पष्ट सपना पूरा गर्ने ध्याउन्नमा लागिपरेकी छिन् । भन्छिन्, “आफूलाई दुःख गरेर जन्म दिने आमाबुबालाई आफूले देश विदेशमा कुदेको देखाउन मन छ । कहिल्यै जहाज नचढेका उनीहरूलाई जहाज चढाएर खुसी दिने मन छ ।”

सम्बन्धित समाचार